नेकपाले भन्यो – उच्च पदस्थको सम्पत्ति छानबिनमा सरकारलाई सघाउँछौँ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले सम्पत्ति छानबिनका लागि आफूहरू तयार रहेको बताएका छन् । सरकारले आफ्नो प्राथमिकताअनुरुप २०६२/६३ पछिका उच्चपदस्थ व्यक्तिहरूमाथि सम्पत्ति छानबिनको प्रक्रिया अघि बढाएसँगै नेकपाका नेताहरूले आफ्नो सम्पत्ति छानबिनका लागि तयार भएको प्रतिक्रिया दिएका हुन् । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्पत्ति छानबिनलगायत आफूमाथि हुने सबै प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन् ।

शनिबार सञ्चारकर्मीसँग उनले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने निर्णय आफू सरकारमा हुँदा नै गरेको दाबी गर्दै नेकपाले सो अभियानलाई सघाउने बताएका हुन् । ‘सम्पत्ति छानबिनको कुरा मेरै पालामा निर्णय गरेको हो । सम्पूर्ण छानबिनका लागि म तयार छु,’ उनले भने, ‘मेरो कार्यकालमा भएका निर्णयहरू पारदर्शी थिए । डराउनुपर्ने अवस्था छैन ।’ त्यस्तै, नेकपाका नेता राजेन्द्र पाण्डेले पनि आफूहरूमाथि छानबिन भए त्यसका लागि तयार रहेको बताए । उनले २०४७ सालपछिका सांसद, मन्त्रीलगायत व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न आफूहरूले बारम्बार भनिरहेको पनि बताए । व्यक्तिकेन्द्रित छानबिनभन्दा पनि निश्चित विधि, प्रक्रिया र निकाय बनाएर सबैको सम्पत्ति छानबिन गर्नुपर्नेमा उनले जोड दिए ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहने गरी अधिकारसम्पन्न समिति बनाएर पूर्वउच्च पदस्थहरूको सम्पत्ति छानबिनको तयारी गरेको छ । पहिलो चरणमा २०६२/६३ सालपछिको र त्यसपछि क्रमशः त्यसअघिका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने सरकारको तयारी छ । समिति नबनिसकेको भए पनि हाल विद्यमान संयन्त्रमार्फत् नै छानबिन अघि बढाइसकेको छ । सम्पत्ति छानबिनकै सन्दर्भमा सम्पत्ति शुद्धीकरण विभागले गत मंगलबार कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणालाई पक्राउ गर्न अदालतबाट अनुमति लिइसकेको छ । पूर्वऊर्जामन्त्री दीपक खड्का सम्पत्ति छानबिनकै अनुसन्धानका क्रममा हाल प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया