
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संघीय संसद्स चिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।
संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी व्यवस्था छ । त्यो धारामा ‘राष्ट्रपतिबाट सम्बोधन’ शीर्षकमा लेखिएको छ,’ ‘राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्ने छ ।’
आजै रातिदेखि संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्ने तयारी छ । उपसभामुख चयन गरेपछि संसद्का दुवै सदनको अधिवेशन अन्त्य हुने संसद् सचिवालयले जनाएको छ ।
सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारी गरेको छ । आजै बस्ने प्रतिनिधिसभाको बैठकबाट उपसभामुख पनि निर्वाचित गर्ने छ । उक्त बैठक दिनको ४ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया