
काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदै छ । संसद्को अंकगणितअनुसार श्रम संस्कृति पार्टीकी २५ वर्षीया सांसद रुबीकुमारी ठाकुर निर्वाचित हुने निश्चित भएको छ । उनलाई सत्तारुढ रास्वपा र नेकपाले समर्थन गरेसँगै उनको जित निश्चित भएको हो । २५ वर्षीया रुबीकुमारी नेपालकै कम उमेरकी उपसभामुख बन्नेछिन् । उनी वर्तमान संसद्कै सबैभन्दा कान्छी सांसद पनि हुन् । उनी श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद बनेकी हुन् । उपसभामुखका लागि राप्रपाबाट सरस्वती लामाको पनि उम्मेदवारी परेको छ । ठाकुरको प्रस्तावकमा आरेन राई तथा समर्थकमा अशोककुमार चौधरी र अम्बिकादेवी संग्रौला छन् भने लामाको प्रस्तावकमा ज्ञानबहादुर शाही तथा समर्थकमा ताहिर अलि भाट, खुश्बु ओली र भरत गिरी छन् ।
प्रतिनिधिसभा बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । निर्वाचन कार्यक्रमअनुसार बिहीबार उम्मेदवारी दर्ता गरिएको थियो भने उम्मेदवारहरूको सूचना प्रकाशित भएको थियो । आजको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । संविधानतः सभाको सभामुख र उपसभामुखमा फरक राजनीतिक दल र फरक लिंगबाट प्रतिनिधित्व हुने व्यवस्था छ । गत चैत २२ गते रास्वपाका डोलप्रसाद अर्याल सभामुख निर्वाचित भएसँगै प्रतिपक्षी दलहरू कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपामध्येबाट महिला उम्मेदवार उठाउनुपर्ने थियो । रास्वपाले जसलाई समर्थन ग¥यो, उसले जित्ने अवस्थामा राप्रपाले पनि आस गरेको भए पनि अन्ततः रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन गरेको हो ।
दुवै सदनको संयुक्त बैठक बस्दै, राष्ट्रपतिले सम्बोधन गर्ने
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरेका छन् । उनले आज शुक्रबार दिउँसो ३ बजे बस्ने गरी संयुक्त बैठक आह्वान गरेका हुन् । उनले संयुक्त बैठकलाई सम्बोधन पनि गर्दै छन् । त्यस्तै, आजै राति १२ बजेदेखि संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य हुँदै छ । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्ने निर्णय गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । उनले मन्त्रिपरिषद्ले गत २४ चैतमा गरेको निर्णय र सिफारिसका आधारमा अधिवेशन अन्त्य गरेका हुन् । संघीय संसद्को चालु अधिवेशन गत १९ चैतमा सुरु भएको थियो ।
प्रतिक्रिया