पत्नीको पद जोगाउन खोज्दा गयो आफ्नै पद

१४ दिनमै श्रममन्त्री साह बर्खास्त

काठमाडौँ । नियुक्त भएको १४ दिनमै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह बर्खास्तीमा परेका छन् । उनलाई बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहले पदमुक्त गरेका हुन् । उनी गत १३ चैतमा मन्त्री नियुक्त भएका थिए । रास्वपा सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री वालेन्द्रले श्रममन्त्री साहलाई हटाएका हुन् । लामिछानेले बिहीबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न पत्र लेखेका थिए । त्यसअघि पार्टीको केन्द्रीय अनुशासन आयोगले मन्त्रीले पदीय दुरुपयोग गरेको निष्कर्ष निकाल्दै पार्टीलाई आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो ।

मन्त्री नियुक्त भएदेखि नै उनी विभिन्न आरोपमा मुछिएका थिए । लामो समयदेखि स्वास्थ्य बिमा बोर्डको सदस्यका रूपमा निष्क्रिय भूमिकामा रहेकी पत्नी जुनु श्रेष्ठलाई आफू मन्त्री भएपछि पदीय दुरुपयोग गरेर नियमित काममा फर्काएका थिए । उनको गतिविधिले पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित सभापति लामिछानेले प्रधानमन्त्रीसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस गरेका थिए ।

रास्वपाले पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामा आँच आउन नदिने जिम्मेवारी सुम्पेको उल्लेख गरिएको छ । साथै, पदको दुरुपयोग भएको अवस्थामा पार्टी विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने (राइट टु रिकल) व्यवस्था भएकाले मन्त्री साहलाई तत्काल जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो ।

साथै प्रधानमन्त्री वालेन्द्रले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई पनि सचेत गराएका छन् । मन्त्रालयको काम गर्दा गम्भीरता नदेखाएको भन्दै पार्टी सभापति रवि लामिछानेले सचेत गराउन सिफारिस गरेपछि प्रधानमन्त्रीले सचेत गराएका हुन् । मन्त्री साहलाई बर्खास्त गरेसँगै सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले राखेका छन् । राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा बिहीबार नै मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।

प्रतिक्रिया