
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी र त्यसको सट्टापट्टा गरी भ्रष्टाचार गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले महरासँगै विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृतहरु रमेशकुमार खतिवडा र सुवेन्द्र श्रेष्ठ, नायब सुब्बाहरु सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोईराला, रेवन्त खड्का र मधुसुदन पोख्रेलविरुद्ध मुद्दा दायर गरेको हो ।
सोही प्रकणमा ‘राहुल’ भन्ने रेशम महरा, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक ली हाङ सोङ र दाओजिङ वाङ, बेल्जियम नागरिक दावा छिरिङ र भारतीय नागरिक साहेव रावविरुद्ध मुद्दा दायर भएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।
आयोगले उनीहरुविरुद्ध जनही ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १० पैसा बिगो मागदाबी गरेको छ । अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी, राजनीतिक व्यक्ति र तस्करहरूको मिलेमतोमा करिब साढे ८ किलो सुन चोरी–निकासी र हिनामिना गरेको ठहरसहित मुद्दा दायर गरेको हो ।
२०७९ साल पुस १० गते दुबईबाट फ्लाई दुबईको उडानमार्फत आएका चिनियाँ नागरिक लि हाङ सोङले दुईवटा सुटकेसभित्र ७३० थान ई–सिगरेट (भेप) ल्याएका थिए । भन्सार जाँचका क्रममा एक्स(रे मेसिनले शंकास्पद वस्तु देखाएपछि ती भेपहरू जफत गरिएका थिए ।
अनुसन्धानका क्रममा ती भेपभित्र ८,४८०.५१७ ग्राम (करिब साढे ८ किलो) सुन लुकाएर ल्याइएको खुलेको थियो । तर, भन्सारका अधिकारीहरू र राजनीतिक पहुँच भएका व्यक्तिहरूको मिलेमतोमा उक्त सुन भएको भेपलाई सुरक्षित राख्नुको साटो भन्सारको गोदामबाटै गायब गरी अन्य वस्तुसँग सट्टापट्टा गरिएको र अवैध रूपमा बिक्री वितरण गरिएको अभियोगपत्रमा उल्लेख छ ।
सुन छुटाउनका लागि पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराले चिनियाँ तस्करहरूसँग अस्वाभाविक रूपमा टेलिफोन सम्पर्क गरेको र भन्सारका कर्मचारीहरूलाई प्रभावमा पारी गैरकानुनी लाभ लिन खोजेको अख्तियारले जनाएको छ ।
यो मुद्दामा अख्तियारले विमानस्थल भन्सारका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, नायब सुब्बा रेवन्त खड्का, महराका छोरा राहुल महरा (निर्मल), चिनियाँ नागरिक दाओजिन वाङ, लोकेन्द्र पौडेल लगायतलाई प्रतिवादी बनाएको छ ।
यसअघि महरालाई उच्च अदालत पाटनले सोही प्रकरणमा धरौटीमा छाड्न आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालतले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा महरालाई सीआईबीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
यस्तो छ आरोपपत्रको पूर्णपाठ
प्रतिक्रिया