उपसभामुखमा राप्रपाकी लामा र श्रम संस्कृतिकी ठाकुरको उम्मेदवारी, शुक्रबार हुनेछ निर्वाचन

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुवीकुमारी ठाकुरको उम्मेदवारी दर्ता भएको छ ।

लामाको प्रस्तावकमा ज्ञानबहादुर शाही तथा समर्थकमा ताहिर अलि भाट, खुस्बु ओली र भरत गिरी रहेका छन् भने ठाकुरको प्रस्तावकमा आरेन राई तथा समर्थकमा अशोककुमार चौधरी र अम्बिकादेवी संग्रौला रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयको कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभा कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ को उपनियम (२) बमोजिमको प्रस्तावको सूचना दर्ता गर्न समय निर्धारण गरिएको थियो ।

दर्ता भएका उम्मेदवारीको सूचनालाई दर्ता क्रम अनुसार सूची प्रकाशन गर्न २ः३० बजेको समय तोकिएको छ । उम्मेदवारका प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरी उम्मेदवारीको सूचनामाथि यही चैत २७ गते दिउँसो ४ बजे हुने सभाको बैठकमा छलफल भई निर्णयार्थ प्रस्तुत गरिने छ ।

संविधानतः सभाको सभामुख र उपसभामुखमा फरक राजनीति दल र फरक लिंगबाट प्रतिनिधित्व हुने व्यवस्था रहेको छ । गत फागुन २१ गतेको निर्वाचनपछि भएको प्रतिनिधिसभाको पहिलो अधिवेशनअन्तर्गत यही चैत २२ गतेको बैठकबाट सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया