
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन् । लामाले बिहीबार राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक र राप्रपाकै अन्य सांसदहरू खुश्बु ओली, ताहिर अलि र भरत गिरीलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
लामालाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने बचन दिएको छ । रास्वपाले समर्थन गरेमा लामा उपसभामुख हुने निश्चित छ ।
संघीय संसद् सचिवालयले उसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो । प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था अनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ ।
त्यसैले संसदमा प्रतिनिधित्व गर्ने दलहरुमध्ये अन्य ठूला दललाई रास्वपाले समर्थन नगर्ने संकेत देखाएपछि राप्रपाका नेताहरुले रास्वपासँग संवाद गरिरहेका थिए ।
यसअघि रास्वपाका सभापति रवि लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीबीच कुराकानी भएको थियो ।
पहिलो पटक संसदमा प्रवेश गरेको श्रम संस्कृति पार्टीले पनि उपसभामुखको मनोनयन दर्ता गराउने तयारीमा छ । उसले वैचारिक रुपमा नै रास्वपाप्रति संसद् अहिलेबाट नै कडा रुपमा प्रश्न उठाइरहेको छ ।
प्रतिक्रिया