पक्राउ परेका ओली र लेखक हाजिरी जमानीमा रिहा

काठमाडौं । पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक आज (बिहीबार) हाजिरी जमानीमा रिहा भएका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आवश्यक परेका बेला हाजिर हुने सर्तमा एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई उनीहरुका श्रीमती क्रमशः राधिका शाक्य र यशोदा जोशी लेखकको जिम्मामा छाडिएको हो ।

उनले भने, ‘अनुसन्धानका क्रममा खोजेका बखत हाजिर हुने सर्तमा उहाँहरूलाई जिम्मा जमानीमा रिहा गरियो ।’ सर्वोच्च अदालतको आदेश अनुसार सरकारी वकिलबाट पत्र आएपछि उनीहरूलाई रिहा गरिएको हो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान जाने गरी दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौंले यही चैत १४ गते शनिबार पक्राउ गरेको थियो ।

स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएका एमाले अध्यक्ष ओली बिरामी भएका कारण त्यही दिन अस्पतालमै भर्ना भएका थिए भने लेखकलाई महाराजगन्जमै रहेको प्रहरीको २ नं गणमा राखिएको थियो ।

गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनील पोखरेलको इजलासले उनीहरूको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरे पनि परमादेश जारी गर्दै उनीहरुलाई थुनामुक्त हुने बाटो खुलाएको हो । अब उप्रान्त म्याद थप नगर्न भनेको छ ।

प्रतिक्रिया