कूटनीतिक मर्यादाविपरीत बालुवाटारमा एक्लाएक्लै हुँदै आएको भेटवार्ताको प्रचलन तोड्दै बालेनले सिंहदरबारमा राजदूतहरूलाई सामूहिक भेट दिएर सबै देशप्रति समान नीतिको सन्देश दिएका हुन्

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग (बालेन) नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूले सामूहिक शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेनसँग उनीहरूले सामूहिक भेट गर्दै संवाद गरेका हुन् । भेटमा भारत, पाकिस्तान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसंघका राजदूत एवं नियोग प्रमुखहरू उपस्थित थिए ।
राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनीहरूले नेपाली जनताको हितमा परिणाम दिने गरी सरकारले गर्ने काममा सदैव समर्थन र सहयोग रहने प्रतिबद्धता जनाएका छन् । भेटका क्रममा प्रधानमन्त्री बालेनले मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो सरकार उत्सुक रहेको बताए । नेपाल सरकार सबै देशसँगको सम्बन्धलाई उच्च महत्व दिने, विश्वास गर्ने र पारस्परिक लाभमा आधारित साझेदारी सुदृढ गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै बालेनले भने, ‘नेपाल सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुशरण गर्दै आएको छ । हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ । नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गर्नुभएकोमा हामी सबै साझेदार तथा मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।’
प्रधानमन्त्री बालेनले विश्वमा जारी द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति साझा प्राथमिकता हुनुपर्नेमा जोड दिए । उनले भने, ‘चलिरहेका द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति हाम्रो साझा प्राथमिकता रहनुपर्छ । यसमा हामी सबै सहमत छौँ भन्ने विश्वास लिएको छु र यस दिशामा सामूहिक प्रयासको अपेक्षा गर्दछु । उपस्थित सबै मित्रहरूलाई नेपालको निरन्तर मित्रता र सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।’
प्रधानमन्त्री बालेनले नेपाल सरकार लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न, उद्यमशीलतालाई प्रोत्साहन गर्न तथा दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध रहेको बताउँदै राष्ट्रिय हितअनुकूल हुने गरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा अझ मजबुत रूपमा समेट्ने लक्ष्य राखिएको जनाए । ‘नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन । हामी राजनीतिक स्थायित्व कायम राख्न तथा नीतिगत दिशालाई स्थिर र पूर्वानुमानयोग्य बनाइराख्न दृढ प्रतिबद्ध छौँ,’ उनले भने । उनले विकास, व्यापार, लगानी, जलवायु कार्य तथा जनस्तरको सम्बन्धजस्ता विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन सरकार इच्छुक रहेको जानकारी दिँदै विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेकामा जोड दिए ।
सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिमा नेपाल स्पष्ट रहेको बताउँदै प्रधानमन्त्री शाहले छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाइने विश्वास व्यक्त गरे । उनले शान्ति सबैको साझा प्राथमिकता हुनुपर्नेमा जोड दिँदै विश्वभर रहेका नेपाली समुदाय एवं श्रम गर्न गएका सबै नेपाली नागरिकको सुरक्षा र हित नेपाल सरकारको उच्च प्राथमिकतामा रहने स्पष्ट पारे । सुशासन, आर्थिक विकास र नेपाली जनताको जीवनस्तर सुधारमा सरकार दृढ प्रतिबद्ध रहेको उनको भनाइ छ ।
भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य सरकारी उच्च अधिकारीहरू पनि सहभागी थिए ।
प्रधानमन्त्री बालेनले पहिलो पटक सिंहदरबारस्थित कार्यालयमा सबै देशका राजदूतहरूलाई सामूहिक भेट दिएका हुन् । यसअघिका प्रधानमन्त्रीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राजदूतहरूको पहुँच दिने गरेका थिए । कुनै पनि देशका राजदूतले सीधा बालुवाटार प्रवेश गरेर प्रधानमन्त्रीसँग भेटको अवसर पाउँथे । तर, बालेनले त्यो संस्कार तोड्दै सबै देशसँग नेपालको समान प्राथमिकता रहेको सन्देश दिएका हुन् । राजदूतहरूसँगको भेट मात्रै होइन, प्रधानमन्त्री बालेनले अन्य भेटघाट र बैठक पनि बालुवाटारमा राखेका छैनन् । उनी प्रशासनिक तथा औपचारिक काम सिंहदरबारबाटै सञ्चालन गरिरहेका छन् ।
प्रतिक्रिया