महावीर पुन : विदेशमा सन्तान, स्वदेशमा अभिभावकको मत परिवर्तन

म्याग्दी । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीले एउटा नयाँ तर रोचक भाष्य रचना गरिदिएको छ । अभिभावकको खटनपटन र निर्देशनमा रहने सन्तानहरु परिआएको खण्डमा आफ्नो विचार र बुझाइले अभिभावकको सोचाइ र परम्परावादी मान्यतालाई नै परिवर्तन गरिदिन सक्छन् भन्ने नयाँ भाष्य रचना गर्न म्याग्दी सफल भएको हो ।

लाहुरेहरुको जिल्ला भनेर समेत चिनिने म्याग्दीका अधिकांश युवा अध्ययन, रोजगारी र व्यापार–व्यवसायका लागि विदेशमा छन् । तिनै विदेशमा रहेका युवाहरुले यस पटकको निर्वाचनमा गाउँमा रहेका आफ्ना अभिभावकहरुको मन जितेर भोट परिवर्तन गराई पुराना स्थापित राजनीतिक दलका उम्मेदवारहरुलाई हराउन र स्वतन्त्र उम्मेदवार महावीर पुनलाई जिताउन सफल भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिई गत माघ ६ गते म्याग्दी आएर स्वतन्त्र उम्मेदवारी दिनुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुने देशैभरिको एक्लो उम्मेदवार हुन् ।

पुनः विजयी हुनुमा उनको व्यक्तित्व, प्रचार शैली र क्षमता मात्रै होइन, देश तथा विदेशमा रहेका म्याग्देली सन्तानहरुको महत्वपूर्ण भूमिका रहेको नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम बताउँछन् । अभिभावकहरुको मत परिवर्तन गराउन सन्तानहरुको महत्वपूर्ण भूमिका रह्यो ।

‘विदेशमा रहेका आफ्ना सन्तानहरुले एक पटक आफ्नो कुरा सुनिदिन र पहिला जुन पार्टीलाई मत दिँदै आएका छन्, त्यो मत यस पटक महावीर पुनलाई दिन अभिभावकहरुलाई आग्रह गरेपछि जिल्लामा रहेका अभिभावकहरुले कांग्रेस, एमाले र नेकपालाई दिँदै आएको मत परिवर्तन गरी स्वतन्त्र उम्मेदवार पुनलाई दिएका कारण पुनको विजय भएको हो,’ अध्यक्ष गौतमले भने ।

गौतमको यो भनाइसँग बुद्धिजीवी तथा राजनीतिक समीक्षक राजु केसी पनि सहमत छन् । माउन्ट एभरेष्ट माविका प्राचार्यसमेत रहेका केसी सधैँभरि अभिभावकको कुरा सुन्ने गरेका सन्तानहरु यस पटकको निर्वाचनमा भने आफ्ना कुरा अभिभावकलाई बुझाउन र उनीहरुको मन परिवर्तन गराउन सफल भएको बताउँछन् ।

‘विदेशमा रहेका युवाको बढ्दो चेतना, ज्ञान, देशको अवस्था र राजनीतिक दलका नेताहरुको क्रियाकलापका कारण बढेको नैराश्यता नै मत परिवर्तनको मुख्य कारण हो’, केसीले भने, ‘वर्षौँदेखि भोट दिँदै आएका राजनीतिक दल र ती दलका नेताहरुको काम र प्रवृत्तिबाट युवाहरुमा उत्पन्न भएको नैराश्यतालाई उनीहरुले आफ्ना अभिभावकहरुलाई राम्रोसँग बुझाउन सके, सन्तानको विचार र बुझाइलाई अभिभावकहरुले पनि मन पराए र उनीहरुले मत परिवर्तन गरे,’ प्राचार्य केसीले भने ।

त्यसैगरी, जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोबाका ७१ वर्षीय झकबहादुर गर्बुजाले विदेशमा रहेका आफ्ना छोराले यस पटक पुनलाई भोट दिन आग्रह गरेपछि आफूले पहिला भोट दिँदै आएको पार्टीलाई नदिई पुनलाई नै भोट दिएको बताए । ‘वर्षौँदेखि एउटै पार्टीलाई भोट दिनुभयो, खै के पाउनुभयो र ? तपाइँहरु गाउँमा दुःख गर्ने, हामीले विदेशमा रातदिन नभनी काम गर्नुपर्ने अवस्थामा परिवर्तन भएन, यस पटक भोट परिवर्तन गर्नुहोला बुबा १ छोराको यो भनाइले आफ्नो मन छोएपछि भोट परिवर्तन गरेर महावीर पुनलाई हालेँ’, उनले भने ।

राजनीतिक दल र नेताहरुप्रतिको नैराश्यता र सन्ततिहरुको दबाबका कारण यसपटक म्याग्देली जनताले मत परिवर्तन गरेर भारी मतले स्वतन्त्र उम्मेदवार महावीर पुनलाई जिताएका छन् । प्रतिनिधिसभा सदस्यका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुन १४ हजार ९३१ को फराकिलो मतान्तरसहित निर्वाचित भएका हुन् ।

निर्वतमान शिक्षामन्त्री समेत रहेका पुनले २२ हजार ८५० मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले बताए । उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी) ले ६ हजार ६७३ मत र नेकपाका अर्जुन थापाले तीन हजार ५३० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत थापाले बताए । म्याग्दीमा स्वतन्त्रसहित १२ जना चुनावी प्रतिस्पर्धामा थिए । म्याग्दीमा ८६ हजार ३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।

पकड क्षेत्रमै आएन दललाई भोट

यस पटको निर्वाचनमा कांग्रेस, एमाले र नेकपालाई आफ्नो बलियो पकड भएको भनिएका ठाउँहरुबाट नै भोट नआएपछि चिन्तित बनाएको छ । धवलागिरि गाउँपालिकाको लुलाङ, मुदी, मराङ, ताकम र मंगला गाउँपालिका र अन्नपूर्ण गाउँपालिका एमालेको बलियो पकड र संगठन भएका क्षेत्र हुन् । एमाले नेताहरुले यी क्षेत्रलाई आफ्नो ‘कोर एरिया’ भन्ने गरेको भए पनि लुलाङ बाहेकका वडामा यसपटक कमजोर देखियो भने नेपाली कांग्रेसले मल्कवाङमा सबैभन्दा धेरै मत ल्याए पनि अन्य वडामा निकै खुम्चियो ।

जिल्लाभर विगतमा राम्रो मत ल्याएका दलहरुलाई प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार र समानुपातिकमा सबै वडामा रास्वपाले अग्रस्थान मत पायो । एमालेका उम्मेदवार श्रेष्ठ, नेकपाका उम्मेदवार अर्जुनबहादुर थापाले आफ्नै वडामा अग्रता लिन सकेनन् भने कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले आफ्नो वडा रघुगंगा गाउँपालिकाको भगवती, पिप्ले र कुइनेमंगलेमा अग्रता लिए । भण्डारीको भगवती र पिप्लेको अग्रताले राहत मिले पनि अन्य वडामा कमजोर देखियो ।

यहाँ मात्र होइन, धेरै जसो वडामा प्रत्यक्षमा स्वतन्त्र उम्मेदवार पुनले र समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रणी मत ल्याउँदै विजयी भए । एमाले र कांग्रेसले आफ्नो गढ मानिरहेकामा मतको रुझान हेर्दा यसपटक दलहरुको अवस्था नराम्रोसँग बिग्रिएको देखिएको म्याग्दी बहुमुखी क्याम्पसका भूतपूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापाले बताए ।

‘यस पटक स्वतन्त्रलाई प्रत्यक्षमा र समानुपातिकमा रास्वपालाई रोजेका मतदातालाई पुरानै लयमा फर्काउन दलहरूले निकै मेहनत गर्नुपर्ने हुन्छ भने नयाँ दललाई समेत प्राप्त जनमत जोगाउने उत्तिकै चुनौती छ’, थापाले भने ।

पालिका र वडामा आफ्ना जनप्रतिनिधिले नै मतदातालाई आश्वस्त पार्न नसक्दा उम्मेदवारले सोचे जस्तो मत पाउन नसकेका राजनीतिक समीक्षक यादव रिजालले बताए । आशा गरेका मतदान केन्द्रबाटै स्वतन्त्र उम्मेदवार पुनले अग्रता लिएपछि माथि उठ्नै नसक्ने गरी दलहरुले कमजोर नतिजाको सामाना गर्नुपरेको उनको भनाइ थियो ।

यस पटक समानुपातिकमा रास्वपाको र प्रत्यक्षतर्फ स्वतन्त्रबाट विजयी महावीरको ‘क्रेज’ र त्यसको प्रभावमा दलका उम्मेदवार परेको जानकारहरू बताउँछन् । ‘स्वतन्त्रलाई प्रत्यक्षमा हालेर समानुपातिकमा पार्टीलाई मत आउने दलहरूको अपेक्षामाथि नराम्रोसँग कुठाराघात भएको देखियो’, रिजालले भने ।

दुईवटा प्रदेशसभा सदस्य रहेको नेकपाले त जमानत जोगाउन आवश्यक पर्ने खसेको मतको १० प्रतिशत समेत ल्याउन सकेन । म्याग्दीमा २०७९ सालमा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर) ले प्रतिनिधिसभा सदस्यमा २४ हजार २१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत प्राप्त गरेका थिए ।

आफ्नै कामले पहिचान बनाएका महावीर पुन

म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिई अत्यधिक मतले विजयी भएपछि प्रतिनिधिसभा सदस्य बनेका महावीर पुन वैज्ञानिक, अनुसन्धानकर्ता एवं समाजसेवी व्यक्ति हुन् । २०११ माघ ५ गते म्याग्दी जिल्लाको नागी गाउँमा बुबा कृष्ण पुन र आमा पूर्वी पुनको छोराका रूपमा जन्मिएका पुनलाई नचिन्ने सम्भवतः अहिले कोही छैनन् । पुनले सन् २०१२ मा सूचना तथा प्रविधिमार्फत देश विकासका सम्भावनाको खोज र आविष्कार गर्ने उद्देश्यले ‘राष्ट्रिय आविष्कार केन्द्र’को स्थापना गरेका थिए ।

हाल चितवनमा बस्दै आएका ७१ वर्षीय उनी राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पनि हुन् । पुनले सन् १९८९ मा पुनले नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर हासिल गरेका थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्नुअघि उनी वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नै जीवनीमा आधारित पुस्तक ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ बेच्दै नेपालका विभिन्न ठाउँमा घुमेका थिए ।

पुनले २०५८ देखि २०६४ सालको समयमा पोखरा, काठमाडौंलगायत सहर बजारमा सहज रूपमा कम्प्युटर र इन्टरनेट सुविधा नभएको अवस्थामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विद्यालयहरूमा कम्प्युटर शिक्षाको सुरुआत र ताररहित इन्टरनेट सुविधा विस्तार गरेर संसारकै ध्यानाकर्षण गरेका थिए ।

पुनले ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विकास र विस्तार गरेकामा सन् २००७ मा एसियाको नोबल पुरस्कारका रूपमा चिनिने ५० हजार डलरको म्यागासेसे पुरस्कार प्राप्त गरे । साथै, पुनले सन् २००२ मा अशोका फेलोसिप, इन्टरनेट हलअफ फेम, नेपाल सरकारबाट भवन कृत्तिरत्नसहित रु १० लाख नगद र गण्डकी प्रदेश सरकारबाट गण्डकी रत्न अवार्ड प्राप्त गरेका छन् ।– रासस

प्रतिक्रिया