कर्णालीबाट चुनाव लडेका ६ पूर्वमन्त्री मतदाताबाट अस्वीकृत

प्रत्यक्षमा १ सिटमा खुम्चिएको रास्वपा समानुपातिकमा दोस्रो

सुर्खेत । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेका कर्णालीका ६ जना पूर्वमन्त्रीलाई मतदाताले पत्याएनन् । विभिन्न पार्टीबाट पटक–पटक मन्त्री बनेकाहरू चुनावबाट पराजित भएका छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेश सरकारका ४ र संघीय सरकारका ५ पूर्वमन्त्री चुनावी मैदानमा होमिएका थिए । ५ संघीय पूर्वमन्त्रीमध्ये पूर्वअर्थमन्त्री जनार्दन शर्मा, पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वपर्यटनमन्त्री खड्कबहादुर विश्वकर्माले चुनावमा हार बेहोर्नुप¥यो । संघीय सरकारमा मन्त्री भएका डोल्पाका धनबहादुर बुढा र कालिकोटका महेन्द्रबहादुर शाहीले चुनाव जितेर फेरि सिंहदरबारमा छिर्ने मौका पाएका छन् । डोल्पाका बुढा पूर्वसहरी विकासमन्त्री र कालिकोटका शाही कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा संघीय सरकारका पूर्वऊर्जा मन्त्री हुन् ।

कर्णाली प्रदेश सरकारका ४ पूर्वमन्त्रीमध्ये रुकुम पश्चिमका गोपाल शर्माले चुनाव जितेका छन् । कर्णाली सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, पूर्वकृषिमन्त्री चन्द्रबहादुर शाही र भौतिक विकासमन्त्री अम्मरबहादुर थापालाई मतदाताले तिरष्कार गरे । पूर्वमन्त्री भण्डारी जुम्लाबाट, शाही मुगुबाट र थापा दैलेख–१ बाट उम्मेदवार बनेका थिए । रोचक त के छ भने पराजित भएका सबै मन्त्रीलाई आफ्नै पूर्वसहकर्मीहरूले हराएका छन् ।
तत्कालीन नेकपा माओवादीका प्रभावशाली नेता जनार्दन शर्मालाई उनकै पूर्वस्वकीय सचिव गोपाल शर्माले पराजित गरे ।

२०६४ सालयता रुकुमपश्चिमबाट लगातार चुनाव जित्दै आएका जनार्दनलाई गोपालले ७ हजार २६३ मतान्तरले हराए । २१ हजार ६०९ मत प्राप्त गरी गोपाल निर्वाचित हुँदा जनार्दन दोस्रो हुन पनि सकेनन् । यहाँ कांग्रेसका राजु केसी १६ हजार ६६१ मत प्राप्त गरी दोस्रो बने । नेकपाबाट अलग्गिएर प्रगतिशील लोकतान्त्रिक पार्टी खोलेर चुनावमा गएका जनार्दनको १८ वर्षदेखिको निरन्तर संसदीय यात्राको बाटोमा ब्रेक लाग्यो ।

जाजरकोटमा २०६४ यताका सबै चुनावमा कहिल्यै एक्लै त कहिल्यै गठबन्धन गरेर पनि जित्दै आएका शक्तिबहादुर बस्नेत पनि नाम मात्रैका शक्ति देखिए । वास्तविकतामा उनी ‘शक्तिहीन’ भइसकेको निर्वाचन परिणामले देखायो । यहाँ १८ वर्षदेखिको कम्युनिस्ट गढ तोड्दै कांग्रेसका खड्कबहादुर बुढाले शक्तिलाई शक्तिहीन सावित गरिदिए । बुढाले २० हजार १४२ मत प्राप्त गर्दा बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरे । बस्नेत यसअघि ३ पटक जाजरकोटबाट विजयी भएका थिए ।

१८ वर्षपछि संसदीय राजनीतिमा फर्किएका पूर्वमन्त्री नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा प्रकाण्डले पनि आफ्नै पूर्व सहकर्मीसँग चुनावी हार बेहोरे । कालिकोटका सबै संसदवादी दल एक हुँदा पनि आफूले चुनाव जित्ने दाबी गर्दै आएका प्रकाण्डको यो हार लज्जास्पद भयो । २०६४ सालको संविधानसभा निर्वाचनमा कालिकोटबाट १६ हजार ३८८ मतान्तरसहित २७ हजार ६२९ मत ल्याएर चुनाव जितेका विश्वकर्माले ४ हजार ५९९ मतमा खुम्चिनुप¥यो । नेकपाका महेन्द्रबहादुर शाहीले चौथोपटक चुनाव जितेर संसदीय यात्रामा होमिँदा तत्कालीन माओवादीले थालेको ‘जनयुद्ध’को योजनाकार ‘प्रकाण्ड’ चौथो स्थानमा सीमित भए । नेकपाका सबै नेताहरू मेरा राजनीतिक बच्चा हुन्,’ उनले चुनाव प्रचारका क्रममा ठाउँठाउँमा भन्दै आएका थिए । तर, कालिकोटका मतदाताले अभिभावक मानिएका प्रकाण्डलाई भन्दा ‘बच्चा’ महेन्द्रलाई पत्याए ।
तत्कालीन नेकपा एमालेबाट विद्रोह गरी कर्णाली सरकारमा फ्लोर क्रस गरेर कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका अम्मरबहादुर थापालाई दैलेख–१ बाट मतदाताले तिरष्कार गरे ।

२०७० को संविधानसभा, २०७४ को प्रदेशसभा र २०७९ को प्रतिनिधिसभामा जित निकालेका नेकपाका थापाले यसपटक लज्जास्पद हार बेहोरे । कांग्रेसकी बासना थापाले १२ वर्षपछि कम्युनिस्ट गढ तोडेर विजयको झन्डा फहराएकी छिन् । थापाले १२ हजार ३७२ मत ल्याएर ५७६ मतान्तरमा एमालेका रवीन्द्रराज शर्मालाई हराउँदै विजयी भएकी हुन् । शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन् । रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १५१ मत प्राप्त गरी तेस्रो स्थानमा हुँदा नेकपाका अम्मरबहादुर थापाले ४ हजार २५६ मतमा सीमित हुनुपरेको छ ।

कर्णाली सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई राप्रपाका ज्ञानेन्द्रबहादुर शाहीले पराजित गरेका छन् । शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै नेकपाका भण्डारीलाई ३ हजार १८१ मतान्तरले पराजित गरे । भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरे । एमालेबाट एकीकृत समाजवादी हुँदै नेकपाबाट चुनाव लडेका मुगुका चन्द्रबहादुर शाही उपविजेता पनि बन्न सकेनन् । मुगुमा कांग्रेसका खडकबहादुर शाहीले चन्द्रबहादुरलाई हराएका छन् । खडक शाहीले मुगुमा ७ हजार ९१४ मत ल्याएर निर्वाचित हुँदा एमालेका पूर्णबहादुर रोकाया ६ हजार ७१८ मतसहित निकटतम प्रतिस्पर्धी बने । नेकपाका चनद्रबहादुर शाहीले ५ हजार ५५८ मत ल्याएर तेस्रो स्थानमा सीमित हुन परेको छ ।

प्रत्यक्षमा १ सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो

यता, प्रतिनिधिसभा निर्वाचनमा कर्णालीमा १ सिट मात्र प्रत्यक्ष जितेको रास्वपा समानुपातिकमा भने दोस्रो ठुलो दल बनेको छ । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा रास्वपा १ लाख २९ हजार ७३६ मत ल्याएर प्रदेशमा दोस्रो ठुलो दल बनेको हो । पहिलो दल बनेको कांग्रेसले १ लाख ३४ हजार ३३३ मत ल्याएको छ । समानुपातिकामा तेस्रो स्थानमा रहेको एमालेले १ लाख ११ हजार ७११ मत ल्याएको छ । कर्णालीलाई आफ्नो आधार इलाका ठान्ने नेकपा ९९ हजार ८४२ मत ल्याएर चौथो स्थानमा छ ।

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले १४ हजार ८१६ मत ल्याएर प्रत्यक्षमा निर्वाचन जित्दा राप्रपाको समानुपातिकमा १५ हजार ३५७ मत आएको छ । रुकुमपश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले १४ हजार ३४६ मत ल्याएर तेस्रो हुँदा उनको दलले कर्णालीबाट ८ हजार २२९ मत पाएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले ५ हजार ८४४ मत पाएको निर्वाचन आयोगले जनाएको छ । सुर्खेतका २ निर्वाचन क्षेत्र, दैलेख–१ र सल्यानबाहेक अरू सबै क्षेत्रबाट रास्वपाका उम्मेदवारको जमानत जफत भएको छ ।

प्रतिक्रिया