कर्णालीमा उत्साहजनक मतदान, ५३ प्रतिशत मत खस्यो

सुर्खेत । विहीबार सम्पन्न प्रतिनिधी सभा निर्वाचनमा कर्णालीमा झण्डै ५३ प्रतिशत मत खसेको छ । निर्वाचनको लागि तोकिएको समय साँझ पाँच बजेसम्म लाइनमा बसेका मतदाताले गरेको मतदानसहित ६ बजे सम्पन्न मतदानमा ५२.९ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा सबै भन्दा धेरै मत हुम्लामा ६४.१५ प्रतिशत र सबैभन्दा कम दैलेख निर्वाचन क्षेत्र नम्बर दुईमा ४३.७ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकमा ५४.५७ प्रतिशत र क्षेत्र नम्बर दुईमा ५६.३ प्रतिशत मत खसेको छ ।

त्यस्तै दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा ५०.५१ प्रतिशत, जाजरकोटमा ५६.६५ प्रतिशत, सल्यानका ४४.४० प्रतिशत, रुकुम पश्चिममा ५८.४४ र कालिकोटमा ४८.६२ प्रतिशत मत खसेको छ । जम्ुलामा ५६.६५, मुगुमा ५८.९० र डोल्पामा ६३.१४ प्रतिशत मतदान भएको छ । बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधि सभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ । कर्णालीका १२ निर्वाचन क्षेत्रमा एक सय ३८ जना उम्मेदवार मैदानमा छन् ।

यहाँको १२ निर्वाचन क्षेत्रका नौ सय ४१ मतदानस्थलमा मतदान भएको थियो । १० लाख ३७ हजार २५० मतदाता रहेको कर्णालीमा जम्मा पाँच लाख ५४ हजार ३४१ मतदाताले मतदान गरेका छन् । सबै निर्वाचन क्षेत्रका मतदान केन्द्रबाट मत पेटिका सदरमुकाम ल्याइृने छ । हिमाली जिल्ला डोल्पा र हुम्लामा मतपेटिका ल्याउन हेलिकोप्टर प्रयोग गरिने र मतपेटिका संकलन भए पश्चात आजै मतगणना सुरु गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया