गाउँघरमा रौनक, सुनसान बन्दै सहर

दसैँ बिर्साउने महापर्व बन्यो यसपालिको चुनाव

विगत ७ वर्षदेखि मलेसियामा कार्यरत अछामका भुवन गाउँ फर्किए । ४ वर्षयता गाउँ नआएका उनी यो वर्ष निर्वाचनमा सहभागी हुन नेपाल आएका हुन् । उनले यसपालि लोकतन्त्रको मुख्य अंग निर्वाचनमा भाग लिन नेपाल आएको बताए । काठमाडौँ नयाँ बससपार्कमा हतारमा भेटिएका उनले आफू ‘जनमतसंग्रह’मा भाग लिन आएकोसमेत भन्न भ्याए । यो चुनावले भविष्यको रेखा कोर्ने उनको बुझाइ छ ।

०००

रामेछापका सुमन काठमाडौँमा सार्वजनिक यातायात क्षेत्रका चालक हुन् । उनको सम्पूर्ण परिवार यसपालि ६ वर्षपछि पुख्र्यौली गाउँमा फर्किंदै छन् । उनी पनि ठुलो रकम खर्च गरेर अरू कामभन्दा पनि चुनावमा सहभागी हुन गाउँ फर्किन लागेका हुन् ।

०००

डोटीका नरेश साउँद काठमाडौँमा पढ्ने विद्यार्थी हुन् । १ साताअघि नै घर फर्किसकेका उनले अरू कारण नभई चुनावकै लागि घर फर्किएको बताए । उनले मतदान गर्न आतुर रहेको सुनाए ।

०००

बाजुरका नरबहादुर भारतको सीतामढीबाट १२ जनाको परिवारसहित घर फर्किएका छन् । मंगलबार धनगढी पुगेका उनले आफ्नो परिवार झन्डै ६ वर्षपछि घर फर्किएको बताए । जन्मभूमिको मायाले बोलाएको भन्दै उनले आफू भोट हाल्नकै लागि त्यति टाढाबाट आएको बताए ।

०००

काठमाडौँ । माथि उल्लेख गरिएका केही प्रतिनिधि पात्र हुन् । यस पटकको चुनावलाई लोकतन्त्रको महापर्वका रूपमा लिँदै आफ्नो व्यस्ततालाई थाँती राखेर गाउँ फर्किनको संख्या उल्लेख्य देखिएको छ । वर्षौँपछि मुलुकमा चुनावी माहोल उत्कर्षमा पुगेको देखिन्छ । फागुन २१ को प्रतिनिधिसभा चुनावमा आफ्नो मताधिकार प्रयोग गर्न राजधानी काठमाडौँका प्रमुख नाका र बसपार्कहरूमा गाउँ फर्किनेको लर्को देखिएको छ । विशेष गरी नयाँ बसपार्क (गोंगबु) र कलंकी क्षेत्रमा बिहानैदेखि यात्रुको बाक्लो उपस्थिति देखिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेशतर्फ जाने यात्रुको संख्या उल्लेख्य छ । चुनावमा नयाँ पुस्ताको चासो बढेका कारण घर जानेको संख्या बढेको हो । विगतका चुनावमा उम्मेदवारहरूले गाडी रिजर्भ गरेर मतदाता लानुपर्ने अवस्था थियो भने यसपालि आफैँ टिकट काटेर जाने मतदाता धेरै रहेको यातायात व्यवसायी बताउँछन् ।

यस पटक होली पर्व तथा चुनावको बिदा, फागुन २३ गते शनिबार र २४ गते नारी दिवसका कारण लामो बिदा हुँदा धेरै मानिस बाहिरिएका हुन् । यही कारण चुनावी माहोलसँगै पारिवारिक भेटघाट र पर्व मनाउन गाउँ फर्किनेको संख्या उच्च भएको बताइएको छ । काठमाडौँलगायत देशका अन्य सहरमा र आन्तरिक हवाई यातायातमा पनि उत्तिकै चाप छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो ७ दिनमा साढे ३ लाखले उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यकाका ४ नाकाबाट पछिल्लो २ हप्तामा करिब ८ लाखले काठमाडौँ छाडेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । फागुन १५ यता उपत्यका छाड्नेको संख्या निरन्तर बढेको हो । फागुन १८ का दिन ५७ हजार ३७१ हजार यात्रुले काठमाडौँ छाड्दा ३८ हजार ५०० यात्रु मात्र उपत्यका भित्रिए  ।

यात्रुको चाप बढेसँगै मुख्य राजमार्ग, बसपार्क तथा उपत्यकाबाट बाहिरिने नाकाहरूमा सवारीसाधनको लाम देखिएको छ । शाहका अनुसार यातायात व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीको जनशक्ति वृद्धि गरिएकोे छ । यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गहरूमा गस्ती बढाइएको र आवश्यकताअनुसारका क्षेत्रहरूमा विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, भारतबाट आउने नेपालीको संख्या पनि उल्लेख्य बढेको छ । पछिल्लो १५ दिनयता भारतसँग सिमाना जोडिएका नाकाहरूमा जानेभन्दा आउनेको संख्या उल्लेख्य बढी रहेको विभिन्न जिल्लाका प्रहरी कार्यालयहरूले जनाएका छन् । यकिन तथ्यांक नभए पनि भारतबाट आउने लुम्बिनी, मधेस र सुदूरपश्चिममा बढी रहेको पाइन्छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले पछिल्लो १ सातायता जानेभन्दा आउनेको संख्या दैनिक ३० देखि १०० जनाले बढेको बताए । उनका अनुसार कञ्चनपुर–कैलालीको नाकाबाट पछिल्लो १ हप्तामा ५ हजारभन्दा बढी मानिस नेपाल आएका छन् । १८ गते एकै दिन दुवै नाकाबाट ३८० जना गएका छन् भने ९२७ जना नेपाल आएका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले आफूले अहिलेसम्मका चुनावमध्ये यसपालि यात्रुको चाप सबैभन्दा बढी पाएको बताए । उनले भने, ‘मैले देखेका अहिलेसम्मका चुनावमध्ये यसपालि यात्रुको चाप सबैभन्दा बढी छ । यो वर्ष ९ लाखभन्दा बढी यात्रु बाहिरिने सम्भावना छ । लामो दुरीका यात्रुको संख्या धेरै छ ।’ सार्वजनिक यातायातबाहेक २० गते राति १२ बजेसम्म मोटरसाइकल, निजी कार तथा अन्य सवारीसाधन लिएर जानेको संख्यासमेत जोड्दा १० लाख पुग्ने आकलन गरिएको छ ।

०००

विदेशबाट फर्किने नेपालीको संख्या २८ प्रतिशतले बढ्यो

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार सन् २०२६ को फेब्रुअरी महिना अर्थात् १८ माघ, २०८२ देखि फागुन १६ मा अघिल्लो वर्षको सोही अवधिको तुलनामा नेपाल आउने नेपालीको संख्या २८ प्रतिशतले बढेको छ । फेब्रुअरीमा १ लाख १५ हजार ४४२ जना विदेशी र १ लाख ४८ हजार ६२३ जना नेपाली नागरिक नेपाल आएका छन् ।

नेपालबाट जानेको संख्या पनि उत्तिकै छ, फेब्रुअरीमा १ लाख ४९ हजार ८९५ जना नेपाली बिदेसिएका छन् । सन् २०२५ को फेब्रुअरीमा १ लाख १५ हजार नेपाली नेपाल आएका थिए । यो वर्षको फेब्रुअरीमा ८० हजार ४६१ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् भने गत वर्ष उक्त संख्या ६० हजार १९२ थियो ।

प्रतिक्रिया