कर्णालीको विकासका लागि संविधान र कानुन बदल्नुपर्छ : कांग्रेस सभापति थापा

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन थापाले कर्णालीको विकासका लागि संविधान संशोधन जरुरी भएको बताएका छन् । कर्णालीको विकास अन्य प्रदेशको जस्तो सजिलो नभएको भन्दै उनले संविधान र कानुन परिवर्तनले मात्र कर्णालीको आम्दानी बढाएर विकास गर्न सकिने बताए ।

बिहीबार सुर्खेतमा आयोजित आमसभामा बोल्दै सभापति थापाले विकासका सपना बाँड्न सहज भए पनि कार्यान्वयन गर्न कठिन भएको बताए । कर्णालीको विकासका लागि प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने थापाको भनाइ छ ।

सपना देखाउन सजिलो भए पनि काम गर्न सहज नभएको बताउँदै थापाले भने, ‘कर्णालीको विकासका लागि थुप्रै सपना देखाउन सकिन्छ । हामीले जित्यौँ भने कायापलट गरिदिन्छौँ पनि भन्न सकिएला । तर, विकास भन्ने कुरा चटकका भरमा हुने होइन ।’

कर्णालीमा विकासका थुप्रै सम्भावना भए पनि सम्भावनाको खोजी गरी उपयुक्त योजना र कार्यान्वयनको खाँचो भएको उनले बताए । ‘कर्णालीमा यार्सागुम्बा छ, जुम्लाको स्याउ र मार्सी चामल, पर्यटनको धनी र जडीबुटी र जलस्रोत अथाह छ भनेर हुँदैन,’ उनले भने, ‘यी सबै कुराको सदुपयोग गर्ने सपना, योजना र सोच हुनुपर्छ ।’

२०८२ देखि २०८७ सम्मको ५ वर्ष कांग्रेसलाई दिन उनले मतदातालाई आग्रह गरे । ‘अबको ५ वर्ष मात्र हामीलाई दिनुस् । हामीले कांग्रेस बदल्यौँ, बदलिएको कांग्रेसले मुलुक बदल्ने संकल्प गरेको छ ।’

माओवादी द्वन्द्वमा जनता मारिँदा नक्कली शरणार्थी भएर विदेश बसेकाहरूले अहिले ५ वर्षमा कायापलट गर्छु भनेर चटक गरेको थापाले आरोप लगाए । ‘५ वर्षको कार्यकालमा मेरो घरकै परिवारको सदस्य भए पनि गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याइने छ,’ उनले भने ।

एकले अर्कोलाई गाली गरेर विकास गर्न नसकिने भन्दै सबै राजनीतिक शक्तिलाई आगामी ५ वर्षमा बनाउने मुलुकको मार्गचित्रसहित बहसमा आउन चुनौती दिए । अबको ५ वर्ष जनताले बहुमत दिए प्रश्न गर्ने ठाउँ नदिने बताउँदै थापाले अबको निर्वाचनमा गाली होइन, योजनामा प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए । नयाँ दल भनिएकाहरूप्रति पनि सभापति थापाले कटाक्ष गरे ।

‘एजेन्डा होइन हात हल्लाएर खुला गाडीमा मात्र हिँडेर हुने हो ? २०६४ मा माओवादीले पनि हामी सत्ता परिर्तन गर्छौं भनेको होइन ?’, उनले प्रश्न गरे । उनले अब पनि यस्तो भुलभुलैयामा नपर्न आग्रह गरे । चुनाव सफल बनाउन कांग्रेसले आफ्नो भूमिका निर्वाह गरिसकेको बताउँदै उनले फागुन २१ गतेको चुनावको सन्दर्भमा भदौ २३ र २४ गतेका घटना बिर्सिन नहुने धारणा राखे ।

‘यो चुनाव नेपालका लागि अहिले हाम्रो संविधानलाई ट्र्याकमा राख्न अनिवार्य सर्त पनि हो,’ उनले भने, ‘फागुन २१ गतेको चुनावको सन्दर्भमा हामीले भाद्र २३ र २४ गतेको कुरालाई बिर्सेर हुँदैन ।’ उनले देशमा अब सरकारको गोलीबाट कुनै नागरिकको ज्यान जान नहुने र कुनै पनि व्यक्तिले नकाब लगाएर सिंहदरबार जलाउने जस्ता गतिविधि गर्न नपाउने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

प्रतिक्रिया