फेरि पनि आश्वासन पत्याएर भोट किन दिने ?

गिरिघाटका बाढीपीडितको प्रश्न–

‘१२ वर्षमा खोलो पनि फर्किन्छ भन्छन्, तर हाम्रा दिन फर्किएनन्’

सुर्खेत । जिल्लाको बराहताल–२ स्थित गिरिघाटको बाढीपीडित शिविरमा दैनिक उम्मेदवारको प्रचारमा गुडेका गाडीको आवाज, उम्मेदवारको पक्षमा बनाइएका गीत र मतदानका लागि अपिलसहित गरिएको माइकिङको चर्को आवाज बस्तीका अस्थायी टहरा छोएर जान्छ । यो बस्ती कर्णाली राजमार्गको सडक किनारमै फैलिएको छ । सुर्खेतको निर्वाचन क्षेत्र–२ मा पर्ने यस ठाउँमा चुनाव नजिकिँदै जाँदा उम्मेदवार र उनीहरूका समर्थकहरूको ओहोरदोहोर बाक्लिएको छ । एक समूह गएलगत्तै अर्को समूह बस्तीमा पुग्छ । हातमा पर्चा, मुखमा आश्वासन र भाषणमा विकासका ठुला सपना हुन्छन् । १ दशकअघिदेखि त्रिपालमुनिको बास, पुनर्वासको प्रतीक्षा, राहतका अपूरा बाचा र अस्थायी जीवनको पीडाले उनीहरूलाई धेरै कुरा सिकाएको छ ।

अस्थायी टहरामै दलका नेताहरू मत माग्न आएको यो तेस्रो पटक हो । २०७४ र २०७९ मा भएका निर्वाचनमा पनि उम्मेदवारहरू बस्तीमा भोग माग्दै आएका थिए । त्यतिबेला उनीहरूले जे बाचा गरेका थिए र आश्वासन बाँडेका थिए, ती अहिले पनि दोहो¥याउँछन् । उम्मेदवार र तिनका समर्थकले गर्ने बाचा र बाँडेका आश्वासन अहिले भने मतदाताले पत्याउने अवस्था छैन । २०७१ साउनमा आएको बाढीपहिरोले सुर्खेतमा ११५ जनाले ज्यान गुमाए भने १ हजार ४५ परिवार पूर्ण रूपमा विस्थापित भएका थिए । गिरिघाटमा आएका १५० जना बाढीपीडित १२ वर्ष बितिसक्दा पनि पुनस्र्थापना नहुँदा उनीहरूको दैनिकी झन्झन् कष्टकर बन्दै गएको छ । हरेक पटकको चुनावमा आउने उम्मेदवारले मत माग्दा पुनर्वासको आश्वासन देखाए पनि कुनै सरकारले पूरा नगरेको पीडितको गुनासो छ ।

यो बस्तीमा बस्दै आएकी सिर्जना विकलाई यसपालिको चुनावमा मतदान नगरौँ कि भन्ने नलागेको पनि होइन । तर, मतदान आफ्नो अधिकार हो भन्ने बुझेकी उनलाई मत कसलाई दिने भन्ने अन्योल भने कायमै छ । ‘पहिला जसले बस्तीका माग सम्बोधन गर्छौं भने, उनीहरूलाई पालिका र केन्द्रमा मत हाल्यौँ,’ उनले भनिन्, ‘जितेर गएपछि कोही पनि बस्तीमा फर्किएका थिएनन् । चुनाव आएपछि फेरि सबै उम्मेदवार बस्तीमा आएका छन् ।’ सधैँ चुनावका बेला आश्वासन दिने, तर जितेर गएपछि फर्केर नआउने नेताहरूप्रति भरोसा र आशा टुटेको उनले बताइन् ।

१२ वर्षमा खोला पनि फर्किन्छ भन्थे । तर, बाढीपीडित विस्थापितका दिन नफिरेको रगुवीर नेपालीले बताए । नेताहरूले चुनावका बेला गरेका बाचा भुलेपछि पीडितले सास्ती भोग्नुपरेको उनी बताउँछन् । ‘पालिकाको चुनाव आयो, वडामा भनेको मान्छे जितेर पठायौँ । उनले पनि बस्तीको समस्या समाधानका लागि ठोस काम गर्न सकेनन्,’ उनले भने, ‘मतदानसम्म हेर्छाैं, अनि माग माग पूरा गर्ने प्रतिबद्धता गर्ने उम्मेदवारलाई भोट हाल्छौं ।’ बस्तीमा बस्न मात्रै समस्या होइन, हरेक छाक टार्न पनि मुस्किल हुने गरेको स्थानीय रूपलाल विक बताउँछन् । बस्तीका अधिकांश युवा रोजगारीको खोजीमा भारत गएका र उनीहरू मतदानका लागि फर्किने अवस्थामा नरहेको उनको भनाइ छ । ‘१२ हिउँद–बर्खा खपियो, योबीचमा तिनोटा चुनावमा भोट हालियो । अझै हाम्रो बस्ती पुनस्र्थापनाको छाँट छैन,’ उनले भने, ‘भोट पनि किन दिने हो र ?’ बस्तीमा खानेपानी समस्या, बालबालिकालाई पढ्न टाढा जानुपर्ने बाध्यता र दैनिक छाक टार्न पनि समस्या हुने गरेको उनीहरूको भनाइ छ ।

‘बस्तीमा धेरै समस्या छन् । कसैले सुनुवाइ गर्दैनन्,’ स्थानीय प्रेमबहादुर नेपालीले भने, ‘दाउरा बेचेर, गिट्टी कुटेर, मजदुरी गरेर दैनिक छाक टार्नुपर्ने बाध्यता छ ।’ रोजगारीका लागि युवाहरू भारत गएपछि बस्तीमा बालबालिका, वृद्धवृद्धा र महिलामात्र रहेको उनको भनाइ छ । २०७१ सालमा भेरी नदीमा आएको बाढीले बराहतालका पक्का, रानीघाट, इखेनी, डोप्खा, सिस्नेरीलगायत गाउँ बगाएपछि गिरिघाट आएका बाढीपीडितले १२ वर्षदेखि सास्ती भोग्दै आएका छन् । आसन्न निर्वाचनमा सुर्खेत–२ बाट कांग्रेसका नारायणप्रसाद कोइराला, एमालेका कुलमणि देवकोटा, नेकपाका झकबहादुर मल्ल, रास्वपाका रमेशकुमार सापकोटासहित १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया