
इनरुवाका रञ्जन उपाध्यायका ३ छोरा–बुहारीमध्ये २ परिवार काठमाडौँ र १ परिवार अस्ट्रेलियामा बस्छन् । पत्रकारिता, व्यापार र सरकारी सेवामा उतै जमेका छन् । घरमा आमा बिरामी छिन्, उस्तै पर्दा पानी खुवाउने र अस्पतालसम्म लगिदिने कोही हुँदैन । उमेर र सरकारी सेवाबाट निवृत्त हुनुअघि उपाध्यायले जस–अपजस सहेर कमाएको पैसा छोराहरूलाई दीक्षित बनाउन, काठमाडौँमा टिकाउन र विदेश पठाउन लगानी गरे । तर उनले बुढेसकालमा त्यो लगानीको फल खान पाएका छैनन् । बाह्र छोरा, तेह्र नाति, बुढाको धोक्रो काँधैमाथि भएको छ । बूढाबूढी गाउँमा ‘एक्लै’ छन् ।
‘जसले समयलाई बर्बाद गर्छ, समयले त्यसलाई बर्बाद गर्छ, भन्ने उद्दरण घरको भित्तामा लेखेका इनरुवाका राजेन्द्र शर्माको धेरैजसो समय कि चेस खेलेर कि साथीहरूसँग गफ गरेर बित्छ । व्यक्तिगत सरसफाइका लागि १ घन्टा, पूजापाठका लागि १ घन्टा, खानाका लागि १ घन्टा, खानापछिको आरामका लागि २ घन्टा समय खर्च गर्नु उनको दिनचर्या हो । त्यसपछि खेल र गफको पालो आउँछ । बिबिएस गरेका शर्मा ठेक्कापट्टाको काममा बेलाबेलामा च्याँखे थाप्छन् । कहिले दाउ पर्छ, कहिले पर्दैन ।
स्नातक प्रथम वर्ष अध्ययनरत राधिका चौलागाईं बिहान अबेलासम्म सुत्छिन् । राति १२ बजेसम्म फेसबुक, टिकटकलगायत सामाजिक सञ्जाल र गुगल नेट सर्फाइङमा व्यस्त हुनु अविवाहित राधिकाको दिनचर्या बनेको छ । उनले बिहानको सूर्य देख्न नपाएको वर्षाैं भइसक्यो । बेलुका चाँडै सुत्ने, बिहान चाँडै उठ्ने बानी भए त्यसले जीवनमा अनेक फाइदा हुन्छ भन्ने सिद्धान्तः ‘अर्ली टु राइज एन्ड अर्ली टु बेड,’ अंग्रेजीमा पढेकी उनको बानी भने ठिक उल्टो छ ।
सिन्धुलीको १ उच्चमाविका शिक्षक जीवन आचार्यले सोही विद्यालयमा कक्षा ११ अध्ययनरत छात्रालाई भगाए । घरेलु हिंसाका कारण पहिली पत्नीले छोडेर माइत बसेको तीन वर्ष भएका आचार्यले ती छात्रासँग १ वर्षदेखि हिमचिम बढाएका रहेछन् । शिक्षकले छात्रालाई चेलीको दर्जामा राखेर हेर्नुपर्नेमा यौनिक दृष्टिले हेर्दा शिक्षक पद र विद्यालयको प्रतिष्ठामा आघात पुगेको भन्दै घटनापछि विद्यालयले आचार्यलाई सेवाबाट हटाइसकेको छ ।
प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी सुनिता घिमिरे गत महिना प्रणामी धर्मका मानिसले आयोजना गरेको सहभोजमा सहभागी भएकी थिइन् । त्यो भोजमा अन्य सहभागीहरूले खानेकुरालाई बालकृष्णको प्रसादका रूपमा मानेको, आपूmले खान सक्ने जति मात्र लिएको र एउटै अन्न नफालेको देखेर घिमिरे छक्क परिन् । बिहे–बटुलोको भोजमा जाँदा वा घरमै पनि खान बस्दा पेटको अवस्था अनुमान नगरी खानेकुरा लिने र फाल्ने आफ्नो बानी सम्झेर उनलाई कुरीकुरी लाग्यो । अबदेखि आपूm पनि खानेकुरा नफाल्ने अठोट लिएर उनी प्रणामी मन्दिरबाट फर्किन् ।
सुकदेव मण्डल पेसाले कानुन व्यवसायी हुन् । अधिवक्ता मण्डलले पारिवारिक उक्साहट र संस्कारगत आशंकामा परेर १ दिन पत्नी शोभामाथि हात उठाए । घरको काम छोडेर गाउँमा ‘नेतागिरी’ गर्दै हिँडेको आरोप शोभामाथि लगाइएयो । घटना स्थानीय टोल विकास हुँदै न्यायिक समितिसम्म पुग्यो । पछि सबैले सम्झाइ–बुझाई शोभालाई घरमै बस्न सहमत त गराए तर घरको वातावरण अझै बुहारीमैत्री भइसकेको छैन । मिथिला संस्कृति भएको परिवारमा बुबा–आमा छउञ्जेल बुहारीले घरमा एउटा मर्यादाभित्र बस्ने चलन रहेको भन्दै परिवारले घटनालाई स्वाभाविक मानेको छ । शोभा भने भुसको आगोजस्तो असन्तुष्टिको रापमा सल्किरहेकी छिन् ।
कक्षा ११ मा पढ्ने राजेश राई साथीहरूको देखासेखीमा क्यान्टिन वा अरू खास भेटघाटमा ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ,’ भन्ने नाराको खिल्ली उडाउँदै चुरोटका अम्मली बनेका छन् । ‘खासमा धूम्रपान स्वास्थका लागि भन्दा पनि स्वास्नीका लागि हानिकारक छ, अहिले हाम्रा स्वास्नी नै छैनन्, त्यसैले बालै भएन,’ भन्दै चुरोट, गुट्खा खान्छन् । योसँगै लागुऔषधको कुलतमा परेका विद्यार्थी–समूहको गतिविधि कलेजको टाउको दुखाइको विषय बनेको छ ।
व्यापारी रुद्र महर्जन (स्नातक)लाई बेलाबेलामा टाउको दुख्ने, हातखुट्टा झम्झमाउने रोग छ । ब्रुफेन नामक औषधिका केही चक्की प्रायः उनीसँग गोजीमै हुन्छन् । यसो टाउको, हातखुट्टा दुखेजस्तो भयो कि एउटा ट्याब्लेट निकालेर स्वाट्ट मुखमा हाल्छन् । पानी पनि चाहिँदैन, थुकले घुटुक्क निल्छन् । नभन्दै केही राहत हुन्छ पनि । चिकित्सकलाई जँचाएर र मात्रा मिलाएर औषधि खानुपर्छ भन्ने उनलाई थाहा छ, तर आपूmखुसी औषधि खानु उनको बानी बनिसकेको छ । प्रत्येक पटक डाक्टरलाई जँचाउन जानु, फी तिर्नु झन्झटिलो र खर्चिलो हुने, आखिरमा डाक्टरले पनि त्यही औषधि दिने त हुन् भन्ने उनको तर्क हुनेगर्छ ।
काठमाडौँको १ मेडिकल कलेजको छात्रावासमा नर्सिङ, एमबिबिएस र एमडी गर्दै गरेका थुप्रै विद्यार्थी बस्छन् । तिनले छात्रावासका ढोका–भित्तामा सहपाठीलाई लक्षित गरी अनेकांँ अश्लील शब्द तथा चित्र लेखेका, कोरेका छन् । त्यहीँ अध्ययनरत १ छात्रका अनुसार छात्रावासमा बस्ने कतिपय विद्यार्थीले पढाइमा ध्यान केन्द्रित गर्ने बहानामा गाँजा, रक्सीको कुलतमा परेका छन् ।
रश्मि र सूर्य एउटै कक्षाका सहपाठी हुन् । स्नातक उत्तीर्ण उनीहरूले चार बर्से पुरानो प्रेमलाई मागी–विवाहमा रूपान्तर गरे । बिहे गरेको तीन महिनामै सूर्य वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गए । तीन वर्ष भयो, सूर्य आएका छैनन् । रश्मिका नाममा पैसा आइरहेको छ । यता, रश्मि इटहरीकै विमल नाम गरेको केटासँग कहिले बेतना सिमसार, कहिले भेडेटार हिल स्टेसन पुग्छिन् । तरहरास्थित घरमा सासुमात्र छिन् । सासुलाई बुहारी कहिले गोर्खा डिपार्टमेन्टमा सपिङ र कहिले इटहरी गैसारस्थित साथीको घर गएकोसम्म थाहा छ ।
धनविक्रम थापा प्राथमिक तहका शिक्षक हुन् । पहिले सार्वजनिक रुपमा जाँड–रक्सी, चुरोट, गुट्खा खाने बानी थियो । स्वास्थ्यका कारण अचेल सबै छोडेको बताउने उनले खैनी खान सुरु गरेका रहेछन् । सार्वजनिक कार्यक्रम वा कहिलेकाहीँ विद्यालयकै चौरमा पनि खैनी माड्दै गरेको भेटिन्छन् उनी ।
०००
उल्लिखित केही घटना, पात्र र तिनका प्रवृत्तिले हाम्रो समाजमा विद्यमान ठूलो आकारको मनोसामाजिक समस्या उद्घाटन गर्छ । हाम्रो पढाइ र व्यवहारको तालमेल मिलेको छैन । समाजमा एउटा साँच्चिकै आदर्श मान्नलायक व्यक्ति भेट्न गाह्रो हुँदै गएको छ । तर, पढेलेखेका मान्छेबाट आदर्श व्यवहारको आस गरेको हुन्छ समाजले । नेपालमा एउटा रुख काट्दा विश्वभरि भएका जीवित रुखहरूको सङ्ख््याबाट एउटा घट्छ वा आफ्नो वरपर पाइने दुर्लभ जीव–जनावरको सिकार गर्दा विश्व पर्यावरणमा असर पुग्छ भन्ने हामी सबैले पढेका छौँ तर हाम्रो व्यवहार भने त्यसको प्रतिकूल छ ।
टायर बाल्दा वातावरणमा घातक असर फैलिन्छ भन्ने धेरैलाई थाहा छ । फेरि अन्तिम संस्कारका बेला पवित्रताको अति ख्याल गरिन्छ । दागबत्तीको काममा शुद्धता महत्त्वपूर्ण ठान्ने सनातनी मान्यता छ । तर, वातावरण र शुद्धता दुवै दृष्टिले ‘अछुत’ मानिएको टायर हालेर चिता बाल्नेहरू सहजै भेटिन्छन् । मलामीमा अनेक पेसाकर्मी र पढेलेखेका मानिस हुन्छन् । तर, त्यसरी टायर बाल्नुहुँदैन भनी सम्झाउने मान्छेको अभाव छ । वातावरण प्रदूषणको एउटा मुख्य कारक टायर दहनको सडक–लीला गर्न लालयित अधिकतर युवा विद्यार्थी नै हुन्छन् ।
हाम्रा अनपेक्षित व्यवहारका अनेकौँ उदाहरण छन्, हजार जिब्रा भएका शेषनागले पनि बयान गर्न नसक्ने । चिकित्सकहरू रोगीलाई चुरोट–रक्सी नखान सल्लाह दिन्छन् तर कतिपय आफैँ त्यसका लती हुन्छन् । तेल व्यापारीले पेट्रोलमा मट्टितेल वा अन्य सस्तो रसायन मिसाएकै हुन्छन् । तर, ट्यांकर वा पेट्रोलपम्पमा लेखका हुन्छन्, ‘पेट्रोलियम पदार्थमा शुद्धता, हाम्रो प्रतिबद्धता ।’
सबैभन्दा दुःखलाग्दो कुरा त के छ भने, संसारमा जति पनि पढेलेखेका मानिसहरू छन्, तिनीहरूमध्ये नै अधिकतर झुठको खेती गर्न खप्पिस र भ्रष्टाचारी छन् । अधिकतर पत्रकार सिद्धान्ततः सन्तुलित र जस्ताको त्यस्तै समाचार लेख्दैनन् । प्रायः कलमजीवीहरू आफ्नो विचार थोपर्न मात्र शब्दको खेती गर्छन्, अरूको विचार र भावनाको कदर गर्दैनन् । खाना खानुअघि साबुन–पानीले हात धुनुपर्छ भन्ने ज्ञान भए पनि अधिकतर पढे–लेखेका र सचेत मानिएका मान्छेहरूले खाना खानुअघि साबुनको खोजी गर्दैनन् । गैरकानुनी रूपमा जन्ती, भोजभतेरमा मान्छे सहभागी गराउने, अनावश्यक तडक–भडक देखाउने पढेलेखेकै मान्छे बढी हुन्छन् ।
आफ्नो अधिकारको सवाल वा मुद्दा स्थापित गराउन अर्काको अधिकार हनन हुने काम गर्नहुँदैन भन्ने हामी सबैलाई थाहा छ । तर, बन्द, हड्ताल, चक्काजामजस्ता अलोकप्रिय कार्यक्रम गरेर अरूको पढ्न पाउने, स्वतन्त्रतापूर्वक हिँडडुल र व्यापार–व्यवसाय गर्न पाउने, समयमै सेवा पाउने आदि अधिकार हनन् गरेर रमाउने हामी नै हौँ । पुराण, बिहे, पूजा, रथयात्रा, मूर्ति विसर्जनसहित मन्दिर, मस्जिदमा मापदण्डभन्दा चर्को स्वरमा डिजे, माइक बजाउँदा छेउछाउमा हुने मुटुरोगी, पेसमेकर, प्रयोगकर्तातिर हाम्रो ध्यान हुँदैन । अहिंसा परमोधर्म हाम्रो सनातन नीति हो तर काटमार गर्न बलि दिन पाउँदा अधिकतरलाई सन्तोष मिलेको देखिन्छ । हामी मुखले सन्तोषम् परम् सुखम् भन्छौँ तर व्यवहारतः असन्तोषको भुमरीमा रुमलिइरहेका हुन्छौँ ।
हाम्रा कतिपय सडक अन्तर्राष्ट्रिय मापदण्डका छन् । तर हामी सडक प्रयोगकर्ताको मापदण्ड निकै तल्लोस्तरको छ । जथाभावी बाटो काट्नु, जेब्राक्रससहित जहाँ मन लाग्यो त्यहीँ पार्किङ गर्नु, गाडीले मान्छे घाइते बनाएर वा मारेर माग्नु (हिट एन्ड रन), सडक ढाकेर निर्माण सामग्री थुपार्नु, सडकमै बिस्कुन सुकाउनु हाम्रालागि सामान्यजस्तै छन् । चकलेट, चुइँगम, चाउचाउ, चिप्स, बिस्कुटका खोल जहाँ पायो त्यहीँ फ्याल्नु, पान, गुट्का खाएर जथाभावी थुक्नु, जहाँ मन लाग्यो त्यहीँ पिसाब फेर्नु, फोहर जानीको ढल सोझै खोलामा मिसाउनु, ठुला–ठुला योजनाका गफ गर्नु तर काम नगर्नु हाम्रा साझा बनीहरू हुन् । जथाभावी थुकिने, फोहर फालिने र दिसापिसाब गरिने कतिपय ठाउँमा त्यसो गर्न रोकिएला कि भन्ने आसले हिन्दु धर्म–संस्कृतिसँग सम्बन्धित देवी–देवताका फोटो–चित्र राख्ने गरेको पाइन्छ । कुनै समुदायको आस्थाको अपमान हुने यस्तो काम गर्नु हुँदैन भन्ने सामान्य चेतसमेत छैन हामीमा । आवश्यक ठाउँमा डस्टविन, सौचालय, पार्किङस्थल हुँदैनन् । अरू देशमा कुहिने–नकुहिने फोहरलाई छुट्याएर व्यवस्थापन गरेको फोटो, भिडियो नेपालीले हेर्ने हो, अनुकरण गर्ने होइन भनेजस्तो देखिन्छ ।
०००
भनिन्छ— विद्यालयले व्यक्तिको सिकाइ प्रक्रियालाई औपचारिकतामात्र दिने हो । जन्मदेखि मृत्युसम्म मान्छेले भोगेको परिवेश, नजिकका पात्र र स्वःअनुभवबाट सिकिरहेको, प्रभावित भइरहेको हुन्छ । त्यसैले समाज एउटा खुला विश्वविद्यालय हो । तर, दुर्भाग्य व्यक्तिको सिकाइ प्रक्रियाको यस्तो महत्त्वपूर्ण उत्प्रेरक समाजका अधिकतर पात्रहरूको व्यवहार भने ‘पढेका मान्छेको जस्तो’ छैन । पढिएका सिद्धान्त व्यक्तिको व्यवहारअनुकूल देखिँदैनन् । अधिकतर पढेलेखेका मानिसलाई अक्षर, हिज्जे शुद्ध र बुझिने गरी लेख्नुपर्छ भन्ने थाहा छ । तर व्यवहारमा जसो गरे पनि काम चे भइगो नि भन्ने पाराको छ । कतिपय चिकित्सकले लेख्ने अक्षरको सार्वजनिक रूपमै आलोचनासमेत हुने गर्छ । प्रविधिमैत्री हुँदै जाँदा मान्छेले हात (कलम)ले अक्षर लेख्नसमेत बिर्सेलान् भन्ने पिर छ, शुद्ध र सफा लेख्नु त परको कुरा !
यो आलेख तयार पार्ने क्रममा अन्तक्र्रिया गरिएका अधिकतर स्रोतव्यक्ति यसलाई समाजले ध्यान नि नसकेको सामाजिक ऐँजेरुको संज्ञा दिन्छन् । पढेको, जानेको, बुझेको कुराबाट ध्यान भङ्ग हुनुलाई अभियानकर्मीहरू समाजमा फैलिँदो सुँगुरे–काँडाजस्तो एउटा जटील समस्या भएको बताउँछन् । उनीहरूका विचारमा कतिपय प्रसङ्गमा समाजले थाहा पाएर पनि बुझ पचाइरहेको छ । फोहर गर्नेलाई भन्दा देख्नेलाई लाज भन्ने उखान व्यवहारमा चरितार्थ बनेको छ ।
शिक्षक मासिकका सल्लाहकार सम्पादक केदार शर्मा समाजले बालकलाई प्रारम्भमै पढाइ र व्यवहार अलग कुरा हुन् भन्ने कुरा सिकाउनाले अनपेक्षित परिणाम आएको बताउँछन् । शर्माका अनुसार ‘पढी–लेखी के हो काम, हलो जोती खायो माम’, ‘कि पढेर जानिन्छ कि परेर जानिन्छ’ जस्ता उखान–टुक्का र कथनले हामीलाई खेती गर्नका लागि पढ्नुपर्दैन वा पढ्नेले खेती गर्नुहुँदैन, व्यवहारमा पर्नु र पढ्नु विपरीत ध्रुवका विषय हुन् भनेर सुरुमै सिकाउने गरेका छन् । यस्तै–यस्तै विरोधाभासहरूका कारण शिक्षाले दिने ज्ञान र दैनिक व्यवहारको सङ्गति मिलेको छैन । सानो छँदा ‘हातको मैला सुनको थैला के गर्नु धनले’ भन्ने जस्ता आदर्श विचारबाट प्रभावित पारिन्छ तर उमेर बढ्दै जाँदा जतिसक्दो धन कमाउने दबाब आउँछ । अहिले पढाइको प्राज्ञिक र आत्मोन्नतिको पक्ष गौण भएको छ । राम्रो कमाइ गराउन सक्ने पढाइलाई राम्रो मानिन्छ । सायद हामी पैसाको भोको, दरिद्रपुस्ता तयार गरिरहेका छौँ ।
‘हाम्रो पढाइ जीवन केन्द्रित हैन, परीक्षा केन्द्रित छ । र, पढेको कुरा व्यवहारमा रूपान्तर गर्नुपर्छ भन्नेमा कमै मान्छेको ध्यान गएको छ,’ ओशो दर्शन अनुयायी कलाकार विक्रमश्रि भन्छन्, ‘यो शिक्षाले ठालू मान्छे बनाउन आपूmलाई समर्पित गरेकाले असल मान्छे बनाउन नसकेको हो ।’
हाम्रो समाज, मान्यता र व्यवहारमा सङ्गति नहुनु परिस्थिति, अनुवांशिकी, बढ््दो आडम्बर, अचेतन मनको प्रभाव आदि कारणहरूमा निर्भर रहेको चिकित्सकहरू बताउँछन् । आफ्नो अध्ययन क्षेत्र र विशेषज्ञता बाहिरको कुरामा पनि जान्ने पल्टेर टिप्पणी गर्ने नेपाली बानी छ । यो पनि पढाइ र व्यवहार नमिलेको एउटा उदाहरण भएको बताउँछन्, मानसिक स्वास्थ्यमा स्नातकोत्तर चिकित्सक बैकुण्ठ अधिकारी । पढेको कुरा व्यवहारमा लागू भएन भन्ने मात्र होइन, यसलाई कसरी व्यवस्थापन र समायोजन गर्ने भन्ने चुनौती पनि रहेको अधिकारीको तर्क छ । क्याप सिद्धान्त (नलेज, एटिच्युट र प्रयाक्टिस अर्थात् ज्ञान, व्यवहार र अभ्यास)अनुसार ज्ञानमा भएको सबै कुरा अभ्यासमा जान्छ भन्ने हुन्न, अनेकौँ कारणले प्रभावित भएर बीचमै अलमलिन सक्छ । ‘तर, उचित मनोविमर्श तथा उपचार पद्दतिले व्यक्तिमा सकारात्मक व्यवहार र अभ्यासको मात्रा बढाउन सकिन्छ,’ डाक्टर अधिकारीले भने, ‘पढेलेखेका व्यक्तिको अबोध उपस्थिति देख्दा मलाई विस्मय लाग्दैन बरु उपचारका लागि सहजीकरण गर्न उत्प्रेरणा जागेर आउँछ ।’
वाणिज्य शास्त्रमा स्नातकोत्तर डम्बर खतिवडाले समाज र राजनीति सुधारका लागि आपूmलाई केन्द्रित गरेका छन् । वाणिज्यका विद्यार्थीले राजनीतिलाई कर्म बनाउनुपरेको आफ्नो जीवनशैली सङ्गति नमिलेको ठान्छन् उनी । विभिन्न सञ्चार–माध्यममार्फत् वैकल्पिक राजनीतिक विचार लोकार्पण गर्ने खतिवडा हाम्रो समाजमा सुरुमै बच्चाहरूको मनोविज्ञान अध्ययन गरी रुचिअनुसारको विषय छनोटका लागि सहजीकरण गर्न परिपाटी कम भएकाले अध्ययन र व्यवहारको तालमेल नमिलेको बताउँछन् । खतिवडाका अनुसार जति मान्छेले कानुन पढ्छन्, ती सबैका लागि वकिल भएर ‘प्राक्टिस’ गर्ने ठाउँ छैन । कमर्स पढ्ने सबैका लागि बजारमा काम छैन । शिक्षा पढ्ने सबैले शिक्षक हुन पाउने दरबन्दी छैन । फलतः मान्छे विकल्पतिर जान बाध्य हुन्छ । पढाइ र दैनिक व्यवहार नमिल्नुको एउटा कारण यो विरोधाभास पनि हो ।
बुद्धि तीन किसिमको हुन्छ– शारीरिक, मानसिक र भावात्मक । पढेको कुरालाई अनुभूतिको तहमा नपु¥याउन्जेल व्यवहारमा देखिँदैन । शिक्षा बुद्धिजन्य ज्ञान भएकाले अनुभूतिजन्य अर्थात् भावात्मक ज्ञानमा रूपान्तर नगर्दासम्म बोध र व्यवहारमा मेल नदेखिने खतिवडाको भनाइ छ ।
पढेलेखेका मान्छेलाई ‘अज्ञानी’को संज्ञा दिन मन पराउँछन्, जादुगर द ग्रेट सुशील । ‘संसारमा जति धेरै पढेका मानिस छन्, तीभन्दा ‘अज्ञानी’ कोही छैनन्,’ सुशील भन्छन्, ‘कारण, उनीहरूले माथिल्लो तहको पढाइ पूरा गर्दा–गर्दै तलको साधारण सामान्य ज्ञानका कुरा पनि बिर्सिसकेका हुन्छन् ।’ त्यसबाहेक पढे–लेखेका मानिस आफ्नै विशेषज्ञताको आत्मरतिमा रमाउने र मैले गरेका कुरा जे पनि ठीक भन्ने मनोरोगले ग्रस्त हुने हुँदा पढाइ र व्यवहारको मेल नहुने सुशील बताउँछन् ।
पूर्वीय, सनातन शैक्षिक दर्शनले ‘विद्या ददाति विनयम्’ अर्थात् विद्याले विनय (नम्रता) दिन्छ भन्ने मान्यता स्थापित गर्न चाहेको छ । तर व्यवहारमा जति पनि घमण्डी, मूर्ख, अन्यायी, आततायी, अपराधी, पथभ्रष्ट, ठग, कामचोर मान्छे छन्, ती प्रायः सबै पढालेखा मान्छे छन् । यस्तो किन ? भन्ने जिज्ञासामा चर्चित कवि तथा शिक्षक मनु मन्जिल हामी आधा बुझिएको, आधा नबुझिएको, आधा भेटिएको, आधा नभेटिएको, आधा यथार्थ, आधा सपना बोकेर सङ्क्रमणकालबाट अघि बढिरहेकाले समाज र शिक्षाको सवाल पनि अपेक्षित हुन नपाएको बताउँछन् । मन्जिलको विचारमा तीन दशक पुरानो घोकन्ते पाठ्यक्रमको टाउको बोकेर हिँड्नुपरेकाले व्यक्तिको बोध र व्यवहार उस्तै हुन नपाएको हो । उनले २ बुँदामा विषय प्रस्ट्याउन चाहे ।
पहिलो, हाम्रो अभिमुखीकरण सही छैन । अर्काका लागि स्कुल कलेज जाने, करले पुस्तक पढ्ने, शैक्षिक कार्यक्रममा सहभागी हुने परिपाटी छ । दोस्रो, शिक्षा संस्कार वा जीवनशैली भएन । सही अभिमुखीकरण प्रविधि र शिक्षा आत्मसात गर्न चिन्तन नहुँदा अहिले पुस्तान्तरमा सामाजिक समस्या देखिएको छ । कवि मन्जिलको प्रतिप्रश्न छ– विज्ञान, साहित्य, वाणिज्य, शिक्षा जे पढे पनि क्लर्कले पढेजस्तो लाग्छ, अनि कसरी मिल्छ त शिक्षा र व्यवहारको सङ्गति ?
०००
नेपालको शिक्षानीति मात्र होइन राजनीति, अर्थनीति, कृषिनीति, स्वास्थ्यनीति, सुरक्षानीति, विकासनीति, विदेशनीति आदिको सिद्धान्त एकातिर र व्यवहार अर्कोतिर देखेर भाषाविज्ञ प्राध्यापक टंक न्यौपाने क्षुब्ध छन् । समाज र राष्ट्रका नीतिहरू के हुने, कस्तो हुने भनी सिकाउने प्रमुख दायित्व भएको त्रिभुवन विश्वविद्यालय नै भताभुङ्ग भएकाले हाम्रो पढाइमात्र होइन गराइ पनि नमिलेको न्यौपानेको तर्क छ । उनका अनुसार हाम्रो समाजमा सामाजिक चेतनाको विकास क्रमिक रूपमा हुन नपाएकाले यो समस्या आएको हो ।
फलस्वरूप राजनीतिक अस्थिरता ज्यादा भएर शिक्षामा पनि असर परेको छ । सामाजिक विकास अवरुद्ध भएपछि चेतनामा प्रभाव पर्ने नै भयो । हामीले लोकतन्त्रलाई गलत व्याख्या ग¥यौँ । दण्डहिनता र हुल्याहापनलाई राजनीति भनेर बुझ्यांँ । लोकतन्त्रलाई आचारमा उतार्ने जीवनपद्दतिका रूपमा लिएनौँ । स्वायन्तः सुखायःको प्रतिस्पर्धा र स्वःअनुशासनको अभाव बढ्दा अहिलेको बेथिति बेहोर्नुपरेको हो ।
हाम्रो पाठ्यक्रम समयानुकूल नभएको मात्र होइन, परीक्षाले व्यक्तिको सम्पूर्ण योग्यता परीक्षण गर्ने परिपाटी नै असान्दर्भिक रहेको लेखक अर्पण गेलाल बताउँछन् । गेलालका अनुसार परीक्षाका लागि तोकिएको सीमित अवधिमा तात्कालिक स्वास्थ्य स्थिति, परीक्षा हलको अनपेक्षित वातावरण वा केही ढिलो लेख्ने बानीका कारण सबै प्रश्न हल गर्न नसके योग्यता हुँदा–हुँदै पनि व्यक्ति शैक्षिक सवालमा पछि पर्छ । एउटा मध्यमस्तरको छात्र भने ऊभन्दा अघि बढ्न पुग्छ । चोरी गर्नु, ढाँट्नु, छल्नु पाप हो भनी लेख्नुपर्ने जवाफका लागि पनि विद्यार्थी चिट सारिरहेका भेटिन्छन् । यस्ता नकारात्मक प्रभाव पार्न घटनाले असन्तुष्टि, कुन्ठा र तनाव उत्पन्न गराउँदै कालान्तरमा व्यक्तिको व्यवहारलाई नै असङ्गत बनाउँछ ।
खरबुजालाई देखेर खरबुजाले रङ बदलिने प्राकृतिक घटना विश्वव्यापी सत्य हो । योसँगै पढेको कुरा व्यवहारमा नदेखिनुका हजारौँ कारणहरू भएको बताउँछन् मनोसामाजिक विषयका रेडियो सहजकर्ता शरदराज गौतम । उनले इमेज एफएमको ‘तरेली’ कार्यक्रममार्फत् आफैँभित्र अलमलिएका व्यक्तिलाई बाटो पहिल्याउन साथ दिँदै आएका छन् । जहिले पनि मनोसामाजिक समस्या समाधानको उपाय पहिल्याउन सहजीकरण गर्नु उनको ध्येय हुने गरेको छ ।
‘मान्छे जो अप्ठेरोमा छन्, जुनसुकै कारणले; चाँडै कुनै एउटा निष्कर्षमा पुग्न खोज्ने बानीले व्यक्ति र समाजमा जटिलता थपिएको हो,’ गौतम भन्छन्, ‘हामी रातारात समाधान खोज्छौँ र त्यहीँनेर गल्ती गर्छौं । त्यस्तो हतारोले हामी अर्को समस्याको भासमा जाकिन्छौँ ।’ गौतमका अनुसार हामी जस्ता छौँ, त्यस्ता देखिदैनौँ । जस्तो हुनुपर्न हो, त्यस्ता छैनौँ ।
हाम्रो समाज सङ्क्रमणकालीन अवस्थामा छ । सबै क्रुद्द र आशंिकत छन् । ‘बढ्दो शंका–उपशंका र तनावले मनोविज्ञानमा असर परेको छ,’ मनोविमर्शकर्ता हिप्नोथेरापिस्ट अर्चना विभोर भन्छिन्, ‘एक–अर्कामा सहयोग र अन्तक्र्रिया हुने स्तर कम हुनु, आत्म–अनुशासन र आत्म–विश्वासको कमी हुनुले हाम्रो व्यवहार बोधअनुकूल नभएको हो ।’ विभोरका अनुसार हामीलाई बच्चादेखि नै एकथरि पढाइन्छ तर समाजमा अर्कै रूप देखिन्छ । किताबी ज्ञान एकथरि हुन्छ, सामाजिक व्यवहार अर्कैथरि हुन्छ ।
आजको अबोध बालक नै भोलि ठूलो, जिम्मेवार हुने हो । बाबुले आमा कुटेको देख्ने बालबालिका ‘स्वास्नी कुट्न हुने रहेछ’ भन्ने गलत मानसिकता सँगसँगै लिएर हुर्किन्छन् । भ्रष्ट, कानुन–कर छल्नेहरू पैसा कमाएको भरमा सम्मानित भएको देख्दा बालक तथा अन्यको मनमा आफूले पनि त्यसो गर्दा केही फरक नपर्ने रहेछ भन्ने छाप बस्छ । हाम्रो समाजमा बोध प्रक्रियाको मात्र होइन, नियति र नियमितताको पनि समस्या छ । भोलि सुधार गरौँला भन्ने सोचले मान्छेलाई अल्छी र कमजोर बनाइदिन्छ ।
‘समय र ज्वारभाटाले कसैलाई पनि पर्खिदैन,’ पढी जान्नेहरूलाई कुनै कार्यक्रममा सहभागी हुन आग्रह गर्दा सुरुमै ‘नेपाली टाइम’ कि ‘इङ्लिस टाइम’ भनेर सोध्छन् । जानी–जानी ढिलो गरेर पुग्छन् र नेपाली टाइम यस्तै हो भनी वकालत गर्छन् । ‘संसारमा सबैभन्दा महँगो वस्तु समय हो,’ भनी कक्षा चारमै पढेकाहरू, उमेर बढेपछि समयको मोल कौडी बराबर पनि ठान्दैनन् । समस्या यसैमा छ ।
आफूले आफूलाई परिवर्तन गर्न भुइँ तहबाट सिकाइ केन्द्रित गर्नुपर्ने र सानो कुराबाट परिवर्तनको अभ्यास गर्दै अभ्यस्त हुन सकिन्छ । तर लाटो लड्छ १ बल्ड्याङ, बाठो लड्छ तीन बल्ड्याङ’ भनेजस्तो अधिकतर समस्याको कारक समाधान दिनुपर्ने ठाउँमा बसेकाहरू नै छन् ।
शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार शिक्षाशास्त्रको शब्दावलीमा टाउको, हात र मुटु (थ्रि एच)को सन्तुलन मिलेको छैन । टाउकोले संज्ञानात्मक कुरा जान्ने हो, हातले गरी खाने र मुटुले म गर्न सक्छु भन्ने आशावादी बनाउने हो । टाउको, हात र मुटुको सन्तुलन भनेकै सिद्धान्त र व्यवहारमा ज्ञानको रूपान्तरण समान हुनु हो । तर, विद्यार्थीलाई हामीले उनीहरूले खोजेको वातावरण बनाइदिन सकेका छैनौँ । शिक्षकले टाउको र मुटुको सन्तुलन बनाइदिन सके अहिलेको समस्या निकै कम हुने थियो । ‘यस अर्थमा हामी चुकेका छौँ,’ डाक्टर कोइराला भन्छन्, ‘परिवर्तनका लागि पहिले हामी सबै दोषी छौँ भनेर स्वीकार गरौँ । विषयगत दक्षताको चिन्तन पुरानो भयो, यसलाई परिवर्तन गरौँ । ढिलो नगरौँ ।’
प्रतिक्रिया