
काठमाडौँ । स्थानीय उद्यमीहरूलाई आफ्नो उत्पादन प्रदर्शन र बजार विस्तारको अवसर प्रदान गर्न नेपालमै पहिलोपटक ‘रोटरी हाट बजार’ आयोजना गरिएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गत नेपालका १४ वटा रोटरी क्लबहरूको समूह रोटरी प्रेसिडेन्ट एक्सन ग्रुप २०२५÷२६ ले नेपालमै पहिलोपटक ‘रोटरी हाट बजार’ आयोजना गरेका हुन् ।
दुईदिने उक्त कार्यक्रम माघ १० र ११ गते, थापाथलीस्थित रोटरी भवन, रोटरी क्लब अफ काठमाडौँ परिसरमा सञ्चालन हुँदै छ । ‘रोटरी हाट बजार’ साना उद्यमशीलता प्रवद्र्धन, महिला सशक्तीकरण, स्थानीय उत्पादनको प्रचार–प्रसार, कला–संस्कृति संरक्षण तथा सामुदायिक सहभागितालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा स्थानीय उद्यमीका उत्पादनहरूको प्रदर्शनी तथा बिक्री, खानाका स्टलहरू, मनोरञ्जन तथा खेल क्षेत्र, चित्रकला प्रतियोगिता, सार्वजनिक वक्तृत्वकला प्रशिक्षण तथा प्रतियोगिता, फेस पेन्टिङ, म्याजिक शो, निःशुल्क दन्त परीक्षणलगायत विविध सामाजिक तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश छन् । आयोजकका अनुसार ‘रोटरी हाट बजार’ले स्थानीय उद्यमीहरूलाई आफ्नो उत्पादन प्रदर्शन र बजार विस्तारको अवसर प्रदान गर्नुका साथै समुदायमा सामाजिक सचेतना र सहकार्यलाई प्रवद्र्धन गर्दै छ ।
प्रतिक्रिया