भन्सार प्रशासनमा सुशासन कायम गर्न पात्र, प्रणाली र पद्धतिको सुधारमा जाेड

काठमाडौँ । अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालले भन्सारमा मालवस्तुको वास्तविक कारोबार मूल्यका आधारमा सही घोषणा हुनुपर्ने बताएका छन् । नेपाल भन्सार एजेन्ट संघ काठमाडौँले ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सचिव बरालले भन्सार प्रशासनमा सुशासन कायम गर्न पात्र, प्रणाली र पद्धतिको सुधार आवश्यक रहेको बताए । उनले भन्सार सुधारमा भन्सार प्रशासन, निजी क्षेत्र र भन्सार एजेन्ट सबै पक्ष जिम्मेवार हुनेमा जोड दिए । बरालले बैध व्यापारलाई सहज बनाउन राज्यका निकायहरू चनाखो हुनुपर्ने पनि बताए ।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार प्रशासनको पहिलो प्राथमिकता व्यापार सहजीकरण रहेको उल्लेख गर्दै नेपालको भन्सार प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन विभाग प्रतिबद्ध रहेको बताए । उनले भन्सारमा देखिएका समस्या समाधान गरिने र प्रशासनलाई आधुनिक तथा प्रभावकारी बनाउने प्रयास भइरहेको जानकारी दिए ।

उद्योग वाणिज्य महासंघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले व्यापार सहजीकरण र राजस्व संकलन वृद्धि गर्न भन्सार प्रशासन, निजी क्षेत्र र भन्सार एजेन्टबीच सहकार्य अपरिहार्य रहेको बताए । उनले बैध व्यापारलाई सहज बनाउन राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले विमानस्थल भन्सार सुधारका लागि भएका पहलहरूबारे जानकारी गराउँदै जनअपेक्षा अनुरूपको कार्यालय बनाउन सबै पक्षले समान जिम्मेवारी बहन गर्नुपर्ने बताए । नेपाल भन्सार एजेन्ट संघ काठमाडौँका अध्यक्ष होमनाथ धमलाले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको सुधार तथा व्यापार सहजीकरणमा तीनै पक्षको भूमिका महत्वपूर्ण हुने भन्दै भन्सार प्रशासन र निजी क्षेत्रबीचको साझेदारीलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया