उत्पादनमा उच्च वृद्धि हुँदा पनि किन घटेन धान चामल आयात ?

काठमाडौँ । पछिल्लो ६ महिनामा नेपालले २० अर्ब रुपैयाँ बराबरको धान र चामल आयात गरेको छ । चालु आव २०८२/८३ को पहिलो ६ महिना (साउनदेखि पुस मसान्तसम्म) को भन्सार विभागको तथ्यांकअनुसार नेपालले धान र चामल आयातमा २० अर्ब ३४ करोड रुपैयाँ खर्च गरेको हो । गत वर्षभन्दा यो वर्ष धान चामल आयातमा सवा अर्ब रुपैयाँभन्दा धेरै वृद्धि देखिएको छ । विभागका अनुसार गत आव २०८१/८२ को पहिलो ६ महिनामा १९ अर्ब ९ करोड बराबरको धान र चामल आयात भएको थियो ।

विभागका अनुसार ९ अर्ब ८७ करोड रुपैयाँ बराबरको २७ करोड ७ लाख किलो धान र १० अर्ब ४७ करोड रुपैयाँ बराबरको १३ करोड २९ लाख ८६ हजार किलो चामल आयात भएको छ । आयात भएको चामलमध्ये ४ अर्ब २७ करोड रुपैयाँ बराबरको बासमती चामल छ । त्यस्तै, २२ करोड ७ लाख रुपैयाँको कनिका र २२ लाख ८३ हजार रुपैयाँको धानको बिउ आयात भएको छ । पछिल्लो १२ वर्षमा ६८ हजार हेक्टर धान खेतीको क्षेत्रफल घट्दा उत्पादन भने ९ लाख ७ हजार मेट्रिक टन बढेको देखिन्छ । तर, पनि माग धान्न पुगेको छैन । नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष १३७.५ किलो चामलको खपत रहेको तथा नेपालमा करिब ८ देखि १० लाख मेट्रिक टन धान अपुग रहेको बताइन्छ । माग धान्न सक्ने गरी धान उत्पादन नहुँदा र नेपालीको रोजाइमा मसिनो चामल पर्दा धान चामल आयातमा ठुलो धनराशि खर्च हुने गरेको विज्ञहरू बताउँछन् ।

नेपालमा उत्पादन हुने चामलको खपत घरेलु तथा उपभोक्ता तहभन्दा औद्योगिक तहमा हुने गरेको सरकारी अधिकारीहरूको दाबी छ । नेपालीले उपभोगका लागि मसिनो चामल बढी प्रयोग गर्ने गरेका कारण बासमती चामलको आयात बढी देखिएको छ । वैदेशिक रोजजगारीका कारण अधिकांश नेपालीको हातहातमा नगद हुने अवस्था छ । जसका कारण रोजाइमा मसिनो तथा बास्नादार चामल पर्न थालेको बताइन्छ । नेपाली उत्पादनले माग धान्ने अवस्था नरहेको र नेपालमा भित्रिने विप्रेषणले सहरिया जीवनशैली बाँच्न चाहनेको संख्या बढ्दा धान र चामलको आयात निरन्तर बढ्दै गएको हो ।

गाउँघरमा काम गर्ने जनशक्ति नहुँदा तथा जलवायु परिवर्तनका कारण कतिपय स्थानीय उत्पादन लोप नै भइसकेकाले आयातित चामलमै नेपाली भान्सा निर्भर हुन थालेको विभिन्न अध्ययनहरूले देखाएका छन् । स्थानीय उत्पादन आँटो, ढिँडो, रोटी, सातु, खोले, मकै, भट्ट खाने चलन हराउनाले चामलको माग र आयात बढ्न गएको विज्ञहरूको तर्क छ । नेपालमा धान र चामल आयात हुने मुख्य देशमध्ये भारतको हिस्सा ९५ प्रतिशतभन्दा बढी छ । भारतले धान निर्यातमा लगाएको कोटा र कर हेरफेरका कारण चालु आवमा नेपालमा बढी धान आयात भएको हो । त्यस्तै, चीनबाट मुख्यतया बासमती र केही मात्रामा अन्य चामल आयात हुने गरेको छ ।

भियतनामबाट करोडभन्दा बढीको करिब २ लाख ९ हजार किलो चामल आयात भएको छ भने थाइल्यान्डबाट २५ लाखभन्दा बढीको ब्राउन राइस र केही विशेष चामल आयात भएको छ । त्यस्तै, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) बाट पनि नेपालमा चामल भित्रिएको छ । सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा १५ अर्ब ६३ करोडको चामल र २० अर्ब ७५ करोडको धान, २०८०/८१ मा ९ अर्ब २९ करोडको चामल र १२ अर्ब ९४ करोडको धान आयात भएको छ । गत आव २०८१/८२ मा धान र चामल कुल ३९ अर्ब ८८ करोड ३५ लाख ८७ हजार रुपैयाँको आयात भएको छ ।

प्रतिक्रिया