
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामै नेपालको व्यापार घाटा ८ खर्ब नजिक पुगेको छ । भन्सार विभागकाअनुसार चालु आव २०८२/०८३ को साउनदेखि पुस मसान्तसम्ममा मुलुकको व्यापार घाटा ७ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको तुलनामा यसवर्षको व्यापार घाटा १०.१५ प्रतिशतले बढी हो ।
६ महिनाको अवधिमा नेपालले विभिन्न मुलुकहरूसँग पौने ११ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ९ खर्ब २१ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
गएको ६ महिनामा भएको कुल वैदेशिक व्यापारमध्ये ८६.८६ प्रतिशत हिस्सा आयात र १३.१४ प्रतिशत निर्यातको रहेको छ । गत साउनदेखि पुससम्म ९ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष आयात १४.१८ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । गत वर्षको पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
यस अवधिमा निर्याततर्फ अझ तीव्र वृद्धि देखिएको छ । निर्यात ४३.७६ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब १ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा निर्यात ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ मात्र थियो । निर्यात वृद्धिको दर सकारात्मक भए पनि उच्च व्यापार घाटा अर्थतन्त्रका लागि चुनौतीपूर्ण रहेको विज्ञहरू बताउँछन् ।
कुन देशसँग कति छ व्यापार घाटा ?
वैदेशिक व्यापारमा नेपालको सबैभन्दा ठुलो साझेदारका रूपमा रहेको भारतसँग पछिल्लो ६ महिनामा ५ खर्ब ३२ अर्ब ४५ करोड ६७ लाख मूल्य बराबरको वस्तु आयात भएको छ भने १ खर्ब १५ अर्ब ७४ करोड ३६ लाख रुपैयाँको निर्यात भएको छ । यो अवधिमा भारतसँगको व्यापार घाटा मात्र ४ खर्ब १६ अर्ब ७१ करोड ३० लाख रहेको छ । अर्को छिमेकी मुलुक चीनसँगको पछिल्लो ६ महिनाको व्यापार घाटा १ खर्ब ९५ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ छ । चीनबाट १ खर्ब ९६ अर्ब ९४ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा ६४ करोड ९ लाख रुपैयाँ बराबरको मात्र निर्यात भएको विभागले जनाएको छ । नेपालको व्यापार घाटा बढिरहेका मुलुकहरूमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया, थाइल्यान्डलगायत छन् । त्यस्तै, व्यापार नाफा रहेका मुलुकको शीर्ष स्थानमा डेनमार्क छ ।
आयात निर्यातको अवस्था
चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थको आयात सबैभन्दा उच्च भएको छ । चालु आवको पुस मसान्तसम्ममा ५८ अर्ब २७ करोड ९२ लाख ७६ हजारको डिजेल, ३३ अर्ब ७ करोड २१ लाख ६८ हजार बराबरको पेट्रोल र २७ अर्ब ४ करोड २० लाख २६ हजार रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।
त्यसैगरी यो अवधिमा २३ अर्ब २९ करोड ८३ लाख २२ हजारको स्मार्टफोन, ५७ अर्ब ४३ करोड ६२ लाख २० हजार बराबरको अप्रशोधित सोयाबिन तेल, १४ अर्ब ४ करोड ९३ लाख रुपैयाँ बराबरको फलामजन्य वस्तु आयात भएको छ । वस्तु आयातबाट संकलिन यो अवधिको भन्सार राजस्व २ खर्ब ३८ अर्ब ५३ करोड ५४ लाख १३ हजार रुपैयाँ बराबर छ । त्यस्तै, नेपालले बढी निर्यात गरेका वस्तुमा सोयाबिन तेल मात्रै ५६ अर्ब ८ करोड २४ लाख २६ हजार रहेको छ भने ७ अर्ब १९ करोड ९५ लाखको अलैँची, ४ अर्ब ७८ करोड ४४ लाखको सूर्यमुखी तेल र ३ अर्ब ११ करोड रुपैयाँ बराबरको कार्पेटलगायत छन् ।
नेपाल–भारतबीच निकासी वस्तुको सूचना आदानप्रदान गर्ने सहमति
नेपाल र भारतबीच एक देशबाट अर्को देशमा निकासी गरिने वस्तु गन्तव्यमा पुग्नुअघि नै सम्बन्धित सूचना आदानप्रदान गर्ने विषयमा समझदारी भएको छ । उक्त समझदारीपत्रमा बुधबार भारतको नयाँदिल्लीमा हस्ताक्षर गरिएको हो । समझदारीपत्रमा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतको तर्फबाट भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सिबिआइसी) का अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार नेपाल र भारतले निकासी हुने वस्तुको तथ्यांक अग्रिम रूपमा विद्युतीय माध्यमबाट आदानप्रदान गर्नेछन् । यसबाट भन्सार प्रक्रियालाई छिटो, सुरक्षित र पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
समझदारीपत्रमा जोखिम विश्लेषणका आधारमा भन्सार नियन्त्रण प्रभावकारी बनाउने, जाँचपासमा लाग्ने समय घटाउने र अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने व्यवस्था समेटिएको छ । सुरुमा तोकिएका केही वस्तुमा नमुनाका रूपमा लागू गरी क्रमशः सबै वस्तुमा विस्तार गर्ने व्यवस्था गरिएको छ । यस समझदारीपत्रको मस्यौदा भन्सार विभाग र सिबिआइसीको सहकार्यमा तयार पारिएको हो । नेपाल सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृति पाएपछि सम्झौतामा हस्ताक्षर गरिएको हो ।
हस्ताक्षर समारोहमा भन्सार विभागका महानिर्देशक भण्डारीले समझदारीपत्र छिट्टै कार्यान्वयनमा ल्याइने बताए । उनले यसले दुवै देशका भन्सार प्रशासनबीचको सहकार्य मजबुत हुने र सही कारोबार गर्ने व्यवसायीलाई थप सहजीकरण हुने विश्वास व्यक्त गरे । सिबिआइसीका अध्यक्ष विवेक चतुर्वेदीले नेपालसँग गरिएको यो सहमति सकारात्मक कदम भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि भारत प्रतिबद्ध रहेको बताए ।
प्रतिक्रिया