खुम्चियो जमिन, तर बढ्यो उत्पादकत्व

बढ्दो सहरीकरणले खेतीयोग्य जमिनको क्षेत्रफल निरन्तर साँघुरिँदै गएको छ भने भएको जग्गा पनि धेरै ठाउँमा बाँझै छ । तर बाली लगाइएको ठाउँमा उत्पादकत्व भने निरन्तर वृद्धि हुँदै गएको छ

काठमाडौँ । मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको नेपालको कृषि क्षेत्रमा कृषि बालीले ढाकेको क्षेत्र निरन्तर घट्दा पनि उत्पादन भने निरन्तर बढिरहेको छ । नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार यस्तो देखिएको हो । अथाह सम्भावना भएको कृषि क्षेत्रको अवस्था दिनानुदिन खस्किँदो छ । किसानको संख्या र खेतीयोग्य जमिन घटिरहेको अवस्थामा पनि उत्पादन भने बढ्दो गतिमा छ । राष्ट्र बैंकका अनुसार पछिल्लो आव २०८१/८२ मा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलपूmल तथा मसला) ले ढाकेको कुल क्षेत्रफल २.२ प्रतिशतले घटेको छ । सोही वर्ष प्रमुख कृषि बालीको उत्पादन भने ३.७ प्रतिशतले बढेको छ । हरेक वर्ष खेती गरिएको क्षेत्र घट्दो छ भने उत्पादन बढ्दो अवस्था रहनुमा विभिन्न तत्वले काम गरेको कृषि विज्ञहरू बताउँछन् ।

तीव्र गतिमा किसान पलायन, युवाको विकर्षण, कृषि क्षेत्र निर्वाहमुखीबाट व्यवसायीकरण हुन नसक्दा तथा सहज आयात नीतिले कृषियोग्य जमिन खुम्चिँदै गएको छ । तर, उत्पादन र उत्पादकत्वमा भने केही सकारात्मक सुधार देखिएको छ । साना र मध्यम सिँचाइ आयोजना विस्तार, रासायनिक मलको आपूर्तिमा केही सुधार र उन्नत जातका बिउ तथा मलको प्रयोगले उत्पादन बढाएको सरकारी दाबी छ । निर्वाहमुखी खेतीबाट किसान बिस्तारै व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । खासगरी तराई र पहाडका सुगम क्षेत्रमा तरकारी खेती, फलफूल, पोल्ट्री र दुग्ध उत्पादनमा भएको व्यावसायिक वृद्धिले समग्र कृषि उत्पादनमा योगदान पु¥याएको छ । सरकारले कृषिमा आधुनिकीकरण गर्न विभिन्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका धेरै युवाले आधुनिक प्रविधि र नयाँ सोचका साथ कृषिमा लगानी गर्दा उत्पादन र उत्पादकत्व बढेको बताइन्छ ।

बर्सेनि घट्दै छ खेती गरिने जमिन

गत आव २०८०/८१ मा खेती गरिएको (कृषि बालीले ढाकेको) क्षेत्रफल १.० प्रतिशतले घटेको थियो । आव २०७९/८० मा प्रमुख कृषि बालीले ढाकेको जमिन ४८ लाख ९४ हजार ५२५ हेक्टर रहेकामा आव २०८०/८१ मा ४८ लाख ४७ हजार ७९३ हेक्टरमा सीमित भएको थियो । त्यस्तै आव २०८१/८२ मा ४७ लाख ४२ हजार ४९७ हेक्टरमा झरेको छ । पछिल्लो २ वर्षको तथ्यांक हेर्दा खाद्य बालीको खेती घट्दा तरकारी खेतीको क्षेत्रफल विस्तार भएको छ । कोदो, मकै, जौ, फापर, सुर्ती, तेलहन, दलहन, गहुँ खेतीले ढाकेको क्षेत्रफल घटेको छ । खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल २.७ प्रतिशतले घटेको छ । गत वर्ष यस्तो क्षेत्रफल १.१ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा धान बालीले ढाकेको क्षेत्रफल १.३ प्रतिशत, गहँु बालीले ढाकेको क्षेत्रफल ३.६ प्रतिशत र मकै बालीले ढाकेको क्षेत्रफल ३.६ प्रतिशतले बढेको छ । त्यसैगरी, कोदो बालीले ढाकेको क्षेत्रफल ८.० प्रतिशत, जौ बालीले ढाकेको क्षेत्रफल ०.२ प्रतिशत र फापर बालीले ढाकेको क्षेत्रफल १३.८ प्रतिशतले घटेको छ ।

गत वर्ष गहुँ बालीले ढाकेको क्षेत्रफल १.१ प्रतिशतले बढेको थियो भने धान बालीले ढाकेको क्षेत्रफल ०.६ प्रतिशत र मकै बालीले ढाकेको क्षेत्रफल ४.३ प्रतिशतले घटेको थियो । त्यसैगरी, कोदो बालीले ढाकेको क्षेत्रफल ७.९ प्रतिशत, जौ १२.३ प्रतिशत र फापरको क्षेत्रफल २१.३ प्रतिशतले घटेको थियो ।

समीक्षा वर्ष २०८१/८२ मा तरकारी बालीले ढाकेको क्षेत्रफल ५.४ प्रतिशत र बागवानीले ढाकेको क्षेत्रफल १५.० प्रतिशतले बढेको छ । गत वर्ष तरकारी बालीले ढाकेको क्षेत्रफल १.६ प्रतिशतले बढेको थियो भने बागवानीले ढाकेको क्षेत्रफल ३.१ प्रतिशतले बढेको थियो । समग्रमा फलफूल खेतीले ढाकेको क्षेत्र ८ प्रतिशतले घटेको देखिन्छ । सुन्तला र स्याउ खेती भने ह्वात्तै बढेको छ । पछिल्लो वर्ष स्याउ खेती ६ प्रतिशतले बढेको छ । त्यस्तै नगदे बालीका रूपमा रहेको उखु खेती बढेको देखिन्छ भने मसला बाली, चिया र कफी खेतीले ढाकेको क्षेत्र बढेको छ । कफी खेती सबैभन्दा धेरै ३७ प्रतिशतले बढेको छ । सुदूरपश्चिम प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल बढेको छ भने मधेस, बाग्मती, कोसी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल घटेको छ ।

तरकारी तथा बागवानी बालीले ढाकेको क्षेत्रफल कोसी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बढेको छ भने कर्णाली प्रदेशमा घटेको छ । समीक्षा वर्षमा कोसी, मधेस र बाग्मती प्रदेशमा फलफूल बालीले ढाकेको क्षेत्रफल घटेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढेको छ । धान बालीले ढाकेको कुल क्षेत्रफलमा मधेस प्रदेशको हिस्सा सबैभन्दा बढी (३६.५ प्रतिशत) रहँदा कर्णाली प्रदेशको सबैभन्दा कम (१२.९ प्रतिशत) छ ।

कृषि बालीको उत्पादन बढ्दो

आव २०८१/८२ मा प्रमुख कृषि बाली (खाद्य बाली, तरकारी र फलपूmल तथा मसला) को कुल उत्पादन ३.७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा यस्ता बालीको उत्पादन २.६ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७९/८० मा कुल उत्पादन २ करोड ४० लाख ९२ हजार १२९ मेट्रिक टन थियो । गत आव २०८०/८१ मा उक्त उत्पादन बढेर २ करोड ४७ लाख २५ हजार ६११ मेट्रिक टन पुगेको थियो । समीक्षा वर्ष २०८१/८२ मा कृषि बालीको कुल उत्पादन २ करोड ५६ लाख ४२ हजार ४९४ मेट्रिक टन पुगेको छ । आव २०८१/८२ मा धान बालीको उत्पादन ४ प्रतिशत र मकै बालीको उत्पादन १.८ प्रतिशतले बढेको छ भने गहुँ बालीको उत्पादन ३.२ प्रतिशत, कोदोको उत्पादन १३.७ प्रतिशत, जौको उत्पादन १४.१ प्रतिशत र फापर बालीको उत्पादन १६.१ प्रतिशतले घटेको छ ।

अघिल्लो आव २०८०/८१ मा धान बालीको उत्पादन ४.३ प्रतिशत, गहँु बालीको उत्पादन ३.३ प्रतिशत र कोदो बालीको उत्पादन २.५ प्रतिशतले बढेको थियो भने मकै बालीको उत्पादन ३.२ प्रतिशत, जौ बालीको उत्पादन ५.० प्रतिशत र फापर बालीको उत्पादन १२.६ प्रतिशतले घटेको थियो । समग्र कृषि बालीको उत्पादनमा धान बालीको उत्पादन हिस्सा सबैभन्दा बढी २३.२ प्रतिशत छ । समीक्षा वर्षमा तरकारी उत्पादन १०.१ प्रतिशतले बढेको छ । गत आव २०८०/८१ मा तरकारी उत्पादन ३.१ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा फलफूलको समग्र उत्पादन ३.३ प्रतिशतले घटेको छ । गत वर्ष फलफूल उत्पादन ११.७ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा खाद्य तथा अन्य बालीको उत्पादन कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बढेको छ भने बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा घटेको छ । तरकारी उत्पादन कर्णालीबाहेक सबै प्रदेशमा बढेको छ । फलफूलको उत्पादन बाग्मती, गण्डकी र मधेस प्रदेशमा घटेको छ भने कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बढेको छ । सबैभन्दा बढी खाद्य बालीको उत्पादन मधेस प्रदेशमा ४४ लाख ८२ हजार मेट्रिक टन, त्यसपछि क्रमशः कोसीमा ४२ लाख ४४ हजार, लुम्बिनीमा ३३ लाख ८० हजार, बाग्मतीमा २१ लाख ७४ हजार, सुदूरपश्चिममा १८ लाख ६८ हजार, गण्डकीमा १३ लाख ४७ हजार र कर्णाली प्रदेशमा ८ लाख ४१ हजार मेट्रिक टन उत्पादन भएको राष्ट्र बैंकको तथ्यांक छ ।

तरकारी तथा वागवानीमा सबैभन्दा बढी मधेसमा १४ लाख ६७ हजार र सबैभन्दा कम कर्णालीमा २ लाख ८९ हजार मेट्रिक टन उत्पादन भएको छ । त्यस्तै, फलफूलतर्फ सबैभन्दा बढी मधेसमा ४ लाख ९४ हजार र सबैभन्दा कम कर्णालीमा ७९ हजार मेट्रिक टन उत्पादन भएको छ । मसला बालीतर्फ सबैभन्दा बढी कोसीमा १ लाख ५९ हजार र सबैभन्दा कम कर्णालीमा ५४ मेट्रिक टन उत्पादन भएको छ ।

प्रतिक्रिया