
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाविरूद्ध ठुलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देशनिकाला गरिएको बताएका छन् । अमेरिका र भेनेजुएलाबीच केही समययता तनाव बढिरहेका बेला ट्रम्पले सामाजिक सञ्जालमार्फत् भेनेजुएला र राष्ट्रपति मादुरोविरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित पक्राउ गरी देशनिकाला गरेको जनाएका हुन् । राष्ट्रपति ट्रम्पले भेनेजुएलाका राष्ट्रपतिलाई बारम्बार ‘नार्को–आतंकवादी’ सरकारको अध्यक्षता गरेको आरोप लगाउँदै आएका छन् ।
अमेरिकाले भेनेजुएलाको तेल ओसारपसारमा संलग्न रहेको दाबी गर्ने जहाजहरूमा पनि प्रतिबन्ध लगाएको थियो । त्यही समयमा अमेरिकी सेनाले लागुऔषध र लागुऔषध तस्करीमा संलग्न भएको आरोप लगाउँदै यस क्षेत्रमा भेनेजुएलाका डुंगाविरुद्ध कारबाही बढाएको थियो । भेनेजुएलाले अमेरिकाविरुद्ध काम गरेको आरोप लगाउँदै ट्रम्पले मादुरोलाई पदबाट हट्न चेतावनी दिइरहेका थिए । अमेरिकी अधिकारीहरूले राष्ट्रपति मादुरो र उनकी पत्नीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले नियन्त्रणमा लिएको जनाएका छन् । डेल्टा फोर्स अमेरिकी सेनाको आतंकवादविरोधी सबैभन्दा ठुलो युनिट हो ।
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले देशका राष्ट्रपति जीवित भएको प्रमाण मागेकी छिन्, किनकि मादुरोको अवस्था अझै अज्ञात छ । उनले राष्ट्रपति र प्रथम महिलाबारे आफूहरूलाई कुनै जानकारी नरहेको बताएकी छिन् । उपराष्ट्रपति डेल्सीले सरकारले अमेरिकासँग उनीहरू जीवित भएको प्रमाण तुरुन्तै मागेको उल्लेख गरेकी छिन् । यता, भेनेजुएला सरकारले शनिबार विज्ञप्तिमार्फत् अमेरिकाले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लंघन गरेको र क्षेत्रीय शान्ति तथा स्थिरतालाई खतरामा पु¥याएको आरोप लगाउँदै भेनेजुएलाको भूभागविरुद्ध अमेरिकाले गरेको सैन्य आक्रमणको निन्दा गरेको छ । विज्ञप्तिमा अमेरिकाले काराकास र मिरान्डा, अरागुआ र ला गुएराका नागरिक र सैन्य स्थानहरूमा आक्रमण गरी संयुक्त राष्ट्रसंघको बडापत्र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको उल्लेख छ ।
भेनेजुएला सरकारले अमेरिकी आक्रमणको उद्देश्य देशको रणनीतिक स्रोतहरू, तेल र खनिजहरू कब्जा गर्नु र भेनेजुएलाको राजनीतिक स्वतन्त्रतालाई कमजोर पार्नु रहेको बताएको छ । विज्ञप्तिमा भेनेजुएलाका जनताले साइमन बोलिभर र अन्य राष्ट्रिय नेताहरूको विरासतलाई आह्वान गर्दै एक पटक फेरि आफ्नो स्वतन्त्रताको रक्षा गर्ने उल्लेख गर्दै सबै सामाजिक र राजनीतिक शक्तिहरूलाई ‘साम्राज्यवादी आक्रमण’ अस्वीकार गर्न आग्रह गरिएको छ । बोलिभेरियन राष्ट्रिय सशस्त्र बलहरू सार्वभौमिकता र शान्तिको ग्यारेन्टी गर्न राष्ट्रव्यापी रूपमा तैनाथ गरिएको छ । जबकि कूटनीतिक च्यानलहरू संयुक्त राष्ट्र सुरक्षा परिषद्, संयुक्त राष्ट्रसंघ महासचिवसमक्ष उजुरी गर्ने जनाइएको छ ।
संकटकाल घोषणा
अमेरिकी आक्रमणपछि राष्ट्रपति मादुरोले संविधान र सान्दर्भिक राष्ट्रिय सुरक्षा कानुन अनुरूप राष्ट्रिय योजनाहरू कार्यान्वयन गर्न आदेश दिई भेनेजुएलामा संकटकालको आदेशमा हस्ताक्षर गरेका छन् । यसले राज्य र नगरपालिकाहरूमा व्यापक राष्ट्रिय रक्षा कमान्ड संरचनाहरू तैनाथ गरिएको बताएको छ । संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ५१ लाई आह्वान गर्दै भेनेजुएला सरकारले आफ्ना जनता, क्षेत्र र स्वतन्त्रताको रक्षा गर्न वैध आत्मरक्षा गर्ने अधिकार सुरक्षित राखेको र विश्वव्यापी सरकार र जनतालाई एकता व्यक्त गर्न आह्वान गरेको छ ।
भेनेजुएलाको राजधानी काराकासमा शनिबार बिहान ठुलो विस्फोट भएपछि मादुरोले आदेश जारी गरेका हुन् । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले भेनेजुएलाविरुद्ध अमेरिकी कारबाहीबारे छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् बोलाउन आह्वान गरेका छन् । (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया