
काराकस । भेनेजुएलाले शनिबार बिहानै अमेरिकाले आवासीय क्षेत्रमा आक्रमण गरेको आरोप लगाउँदै ठूलो मात्रामा सैन्य स्रोतहरू परिचालन गर्ने घोषणा गरेको छ ।
आक्रमणपछि अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लगिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मादुरोलाई उहाँकी पत्नीसहित पक्राउ गरिएको छ र देश बाहिर लगिएको छ, यो कारबाही अमेरिकी कानून प्रवर्तनसँग मिलेर गरिएको थियो। थप विवरणहरू पछि प्राप्त हुनेछन् ।’ अमेरिकी राष्ट्रपति ट्रम्पले यस घटनाबारे थप विवरणका लागि अमेरिकी समय अनुसार शनिबार बिहान पत्रकार सम्मेलन गर्ने बताएका छन् ।
भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर प्याड्रिनो लोपेजले सामाजिक सञ्जालमा साझा गरिएको एक भिडियो वक्तव्यमा भनेका छन्, ‘आक्रमणमा संलग्न अमेरिकी सेनाले हाम्रो भूमिमा अपवित्र हस्तक्षेप गरेको छ, उनीहरुले आफ्नो लडाकु हेलिकप्टरबाट मिसाइल र रकेटहरू प्रयोग गरी भेनेजुयलामाथि प्रहार गरेका छन् ।’
लोपेजले थपे, ‘भेनेजुएलाले राष्ट्रको सार्वैभौम रक्षाको लागि स्थलसेना, वायुसेना, नौसेना, नदी र मिसाइल क्षमताहरुको ठूलो प्रयोग गर्नेछ ।’ अमेरिकी कानुनअन्तर्गत आक्रमणको कानुनी कारण तत्काल स्पष्ट भएको छैन । सिनेटर माइक ली, आर–यूटाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘आफूले विदेशमन्त्री मार्को रुबियोसँग भेनेजुएलाको पछिल्लो घटनाबारे कुरा गरेको र रूबियोबाट नै आक्रमणबारे जानकारी प्राप्त भएको हो ।’
लीले रुबियोलाई उद्धृत गर्दै भने, ‘मादुरोलाई अमेरिकी अधिकारीहरूले संयुक्त राज्य अमेरिकामा आपराधिक आरोपमा मुद्दा चलाउन पक्राउ गरिएको हो ।’
ह्वाइट हाउसले मादुरो र उनकी पत्नीलाई कहाँ लगिएको हो भन्नेबारे तत्काल केही बताएको छैन । सन् २०२० मार्चमा मादुरोलाई न्यूयोर्कको दक्षिणी जिल्लामा नार्को–आतंकवाद षड्यन्त्रको आरोपमा अभियोग लगाइएको थियो ।
राष्ट्रपति मादुरो पछिल्लो पटक शुक्रबार काराकासमा चिनियाँ अधिकारीहरुसँगको भेटघाटका क्रममा सार्वजनिक भएका थिए । यसैबीच, भेनेजुएलाका अधिकारीहरुले वाशिङ्टनको आक्रमणमा मृत्यु भएका र घाइते भएका सेना र सर्वसाधारणको तथ्यांक संकलन भइरहेको जनाएका छन् ।
लोपेजका अनुसार भेनेजुएलाको सबैभन्दा ठूलो सैन्य शिविर फुएर्ते तिउना, राजधानी वरपरका मिरान्डा, अराग्वा र ला ग्वाइरा राज्यमा केही आवासीय क्षेत्रमा क्षति पुगेको छ ।
एएफपीका पत्रकारहरूले राजधानी काराकासमा बिहान २ बजे विस्फोटनको आवाज सुनिएको र राजधानी काराकास र वरपरका क्षेत्रमा आतंक मच्चिएको बताएका छन् । देशका अन्य शहरहरुमा पनि थप विस्फोटहरू भएका बताइएको छ ।
राजधानीका आकाशमा करिब एक घण्टासम्म विमानको आवाज सुनिएको र उक्त अवधिभर व्यापक हवाई आक्रमणहरू भएको र ठूला–ठूला विस्फोटका आवाज सुनिएको थियो । आक्रमणबाट भेनेजुएलाको राजधानीका कैयौँ क्षेत्र बिजुलीविहीन भएका छन् ।
रक्षामन्त्री लोपेजले अमेरिकी आक्रमणबाट संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भएको भन्दै भेनेजुएलाले अमेरिकी आक्रमणको कडा शब्दमा निन्दा गरेको बताए ।
प्रतिक्रिया