समृद्धि र विदेशी चलखेलको कारक दुवै सुन

बहुध्रुवीय संसारमा अफ्रिकाको उदय

सुनले अफ्रिकाको पुनरुत्थानमा पुर्याएको योगदान निकै ठुलो छ । अफ्रिकी देशहरूले आफ्नो मुद्रालाई बलियो बनाउन र अमेरिकी डलरको उतारचढावबाट बच्न सुनलाई आधार बनाउन थालेका छन् ।

काठमाडौँ । अफ्रिका उच्च गुणस्तरीय सुन खानी भएको विश्वको अग्रणी क्षेत्र हो । प्रकृतिक रूपमै विश्वको कुल सुन भण्डारको ठुलो हिस्सा (करिब ३० देखि ४० प्रतिशत) अफ्रिकामा रहेको अनुमान गरिन्छ ।

पछिल्लो समय अफ्रिकाबाट प्रतिवर्ष लगभग १ हजार १० टन सुन बजारमा पठाउँछ । सन २०२४ मा घाना १४१ टन, माली १०१ टन, दक्षिण अफ्रिका १०० टन, बुर्किना फासो ९५ टन र सुडानले ७३ टन सुन उत्पादन गरेका छन् । पृथ्वीमा अझै उत्खनन गर्न बाँकी रहेको सुनको ठुलो हिस्सा (करिब २०–३० प्रतिशत) अफ्रिकी भूभागमै रहेको अनुमान छ ।

अफ्रिकामा भएको खनिज तथा पहेँलो धातु सुनकै कारण एक शताब्दीभन्दा बढी समयदेखि, पश्चिम अफ्रिका विदेशीहरूको अधिनमा रहेको बताइन्छ । विदेशीको अधिनमा रहँदा पश्चिम अफ्रिकाको सुन निकालिएको, यसको सार्वभौमिकता दबाइएको र मुद्राहरू नियन्त्रित गरिएको थियो ।

अफ्रिकाबाट बर्सेनि अर्बौं डलर बराबरको सुन अवैध रूपमा तस्करी भएर बाहिरिने गरेको छ । जसले गर्दा त्यहाँका जनता र सरकारहरूले वास्तविक लाभ पाउन सकेका छैनन् । औपनिवेशबाट बाहिर निस्किने क्रममा अहिले धेरै अफ्रिकी देशहरूले विदेशी मुद्रा (डलर) को सट्टा सुनलाई आफ्नो अर्थतन्त्रको नयाँ आधार बनाउने ‘गोल्ड स्टान्डर्ड’ (सुनको मानक) अगाडि सारेका छन् ।

यो नयाँ मानकले अफ्रिकाको सार्वभौम स्वतन्त्रता, सुन–आधारित मौद्रिक सुधार र क्षेत्रीय एकतातर्फ नवऔपनिवेशिक प्रणालीहरूबाट मुक्त रणनीतिक एक साहसिक इतिहास रचिने ‘द न्यु गोल्ड स्ट्यान्डर्ड ः अफ्रिकाको राइज इन ए मल्टिपोलार वल्र्ड’ पुस्तकमा उल्लेख छ । पश्चिम अफ्रिका, विशेष गरी साहेल क्षेत्र (बुर्किना फासो, माली र नाइजर) ले कसरी शताब्दीऔँ लामो परनिर्भरतालाई तोडेर आफ्नो सार्वभौमसत्ता स्थापित गर्दै छन् भन्ने विषय उक्त पुस्तकमा उल्लेख छ ।

पश्चिम अफ्रिकाका स्रोतसम्पन्न राष्ट्रहरू साहेल, बुर्किना फासो, माली, नाइजर र नाइजेरिया पश्चिमी निर्भरताको बन्धनबाट बाहिर निस्किरहेका छन् । नयाँ आर्थिक र राजनीतिक वास्तविकता निर्माण गरिरहेका छन् ।

सुनको नयाँ मानकले वित्तीय दासताबाट मुक्त गराउने दाबी गरिएको छ । अफ्रिकाको सुन, युरेनियम र ऊर्जा स्रोतहरू पहिले विदेशी शक्तिले नियन्त्रण गर्थे अब अफ्रिकी राष्ट्रहरूको हातमा फर्केको छ । विश्व राजनीतिमा आफ्नो शक्ति (लिभरेज) को रूपमा सुनजस्ता खनिजलाई यी राष्ट्रहरूले प्रयोग गर्न थालेको बताइन्छ ।

पश्चिमा शक्तिको प्रभाव घट्दो रहेको र अफ्रिकाले ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) प्रमुख नयाँ शक्ति केन्द्र रणनीतिक सम्बन्ध विस्तार गरिरहेको छ । पुस्तकमा बुर्किना फासो, माली र नाइजरले कसरी सैनिक स्वायत्तता, क्षेत्रीय एकता र नव–औपनिवेशिक प्रणाली विरोधी नयाँ ‘अफ्रिकी मोडल’ तयार पारेको उल्लेख छ ।

सुनले अफ्रिकाको पुनरुत्थानमा पुर्याएको योगदान निकै ठुलो छ । अफ्रिकी देशहरूले आफ्नो मुद्रालाई बलियो बनाउन र अमेरिकी डलरको उतारचढावबाट बच्न सुनलाई आधार बनाउन थालेका छन् । जिम्बावेले अत्यधिक मुद्रास्फीति नियन्त्रण गर्न सुनमा आधारित मुद्रा जारी गरेको छ । घानाले डलरको सट्टा सुन दिएर इन्धन किन्ने नीति ल्याएको छ, जसले विदेशी मुद्राको अभावलाई कम गर्न मद्दत गरेको छ ।

लामो समयसम्म अफ्रिकाले कच्चा सुन मात्र निर्यात गर्यो, जसको फाइदा युरोपेली देशहरूले लिए । तर अहिले दक्षिण अफ्रिका, घाना र युगान्डाजस्ता देशहरूले आफ्नै सुन प्रशोधन केन्द्र स्थापना गरेका छन् । यसले गर्दा कच्चा पदार्थ मात्र होइन, प्रशोधित सुन बेचेर अफ्रिकाले बढी आम्दानी र रोजगारी सिर्जना गरिरहेको छ ।


अफ्रिकी केन्द्रीय बैंकहरूले आफ्नो विदेशी मुद्रा सञ्चितिमा सुनको मात्रा बढाइरहेका छन् । यसलेः विश्वव्यापी आर्थिक संकटको समयमा अफ्रिकी अर्थतन्त्रलाई सुरक्षा प्रदान गर्ने बताइन्छ । अफ्रिकासँग भएको सुनको भण्डारले गर्दा चीन, रुस र पश्चिमा राष्ट्रहरू अफ्रिकासँग साझेदारी गर्न लालायित छन् । यसले अफ्रिकालाई विश्व मञ्चमा आफ्नो सर्तमा सम्झौता गर्ने शक्ति प्रदान गरेको छ ।

सुनका कारण जोखिम

अफ्रिकाबाट बर्सेनि अर्बौं डलर बराबरको सुन अवैध रूपमा बाहिरिने गरेको छ । कतिपय क्षेत्रमा सुन खानीलाई लिएर सशस्त्र समूहहरूबीच द्वन्द्व हुने गरेको (जसलाई ब्लड गोल्ड पनि भनिन्छ) छ । अर्कोतिर खानी उत्खननका कारण हुने वातावरणीय विनाश रोक्नु अफ्रिकाका लागि ठुलो चुनौती रहने छ ।

प्रतिक्रिया