हुम्लामा घरमा ढुंगा खस्दा चार जना घाइते

हुम्ला । गएराति सर्केगाड गाउँपालिका–४ सर्केगाड बजार बस्ने दनबहादुर रावतको दुई तले कच्ची घरमा भिरबाट अचानक ढुंगा खस्दा घरभित्र रहेका चार जना घाइते भएका छन् ।

‎सर्केगाड गाउँपालिका–८ राहदेउ घर भई सर्केगाड–४ बस्ने दनबहादुर रावतको घरमा भाडामा बस्ने सुन्दरलाल विककी श्रीमती २८ वर्षीया सरिता विक, सर्केगाड गाउँपालिका–४ रायागाउँकी २१ वर्षीया लालसरा विक, लालसराकी ६ वर्षीया छोरी रेविका र‎ सर्केगाड–८ की प्रवीणा विक घाइते भएका जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी शंकर खड्काले जानकारी दिए ।

‘सरिताको दाहिने गाला र दाहिने हातमा चोट लागेको छ, उहाँको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ, लालसराको टाउकोमा र उहाँकी छोरीको निधारमा चोट लागेको छ, प्रवीणाको पनि टाउकोमा चोट लागेको छ’, उनले भने ।

‎राति घरमाथि रहेको वनबाट खसेको ढुंगाले लागेर घरभित्र रहेका चार जना घाइते भएको जनाउँदै सूचना अधिकारी खड्काले सरिताको उपचार साया स्वास्थ्य चौकीमा हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको बताए । उनका अनुसार अन्य तीन जनालाई सामान्य चोट लागेकाले उपचारपछि घर फर्काइएको छ ।

‎सो बस्ती माथिबाट ढुंगा खस्ने जोखिममा पर्दै आएको छ । बाजरमाथि ढुंगाको भिरालो वन भएकाले जोखिम रहँदै आएको हो । यसअघि पनि सो स्थानमा ढुंगा खस्दै आएको स्थानीय प्रकाश शाहीले बताए ।

प्रतिक्रिया