
काभ्रे । बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ पात्लेगाउँमा अरनिको यातायात बसको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका छन् ।
आज बिहान १० बजेको समयमा भएको दुर्घटनामा ८२ वर्षीय पोटबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका कटुवालको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको बताइएको छ।
दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले बसका चालकलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र सो क्षेत्रमा सवारीको तीव्र गति नियन्त्रण गर्न आवश्यक व्यवस्था गर्नुपर्ने माग गर्दै राजमार्ग अवरुद्ध गरेका हुन् ।
राजमार्ग अवरुद्ध हुँदा काठमाडौं–पूर्वी जिल्लातर्फ जाने तथा आउने सवारी साधन लामो जाममा परेका छन्। घटनास्थलमा प्रहरी परिचालन गरी स्थानीयसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया