
मुगु । अक्कल कोपिला फाउन्डेसनको आर्थिक सहयोगमा मुगुका दुर्गम विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी तथा न्यानो कपडा वितरण गरिएको छ ।
फाउन्डेसनले छायाँनाथ रारा नगरपालिकाभित्रका २७ र मुगुम कार्मारोङ गाउँपालिकाका ३ गरी कुल ३० विद्यालयका बालबालिकालाई अध्ययन सामग्री प्रदान गरेको हो ।
बिहीबार मुगुम कार्मारोङ गाउँपालिका–९ चिमाथस्थित श्री आनन्द आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई कपी, कलम, पेन्सिल, इरेजरलगायत स्टेशनरी सामग्रीसँगै न्यानो कपडा वितरण गरिएको विद्यालयले जनाएको छ ।
आनन्द आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री र ६ जना जेहेन्दार विपन्न दलित विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिको छ ।
विद्यालयका प्रधानाध्यापक बिर्ख बहादुर बढुवालले सहयोगले बालबालिकाको सिकाइ वातावरणमा ठूलो योगदान पुग्ने बताए । दुरदराजमा साना शैक्षिक सामग्रीले पनि ठूलो परिवर्तन ल्याउन सक्ने उनको भनाई छ । स्टेशनरीको अभावले पढाइ प्रभावित हुने समस्या थियो ।
सहयोगपछि विद्यार्थीहरू उत्साहित भएर कक्षामा सहभागी हुन थालेका छन् । यसैबीच मुगुम कार्मारोङ गाउँपालिकाका स्वास्थ्य निरीक्षक तथा शनिबारे स्वास्थ्यकर्मी बलिराज बुढाले आनन्द आधारभूत विद्यालय चिमाथका ७० जना विद्यार्थीलाई सरसफाइ सामग्री वितरण गरेका छन् ।
उनले प्रतिविद्यार्थी एक–एक ब्रस र मन्जन प्रदान गर्नुका साथै दाँत माझ्ने सही विधि समेत सिकाएका छन् । साथै विद्यार्थीहरुलाई स्वास्थ्य तथा स्वच्छताप्रति सतर्क रहन पनि उनले आग्रह गरेका छन् ।

उनका अनुसार दुर्गम क्षेत्रमा अध्ययनरत बालबालिकासँग आवश्यक सामग्री अभावका कारण पढाइमा चुनौती हुन्छ । ‘अक्कल कोपिला फाउन्डेसनले प्रदान गरेको सामग्रीले विद्यार्थीहरूको उत्साह बढाएको छ’, उनले भने, ‘हामी विद्यालय परिवार यस सहयोगका लागि अत्यन्त आभारी छौँ ।’
ग्रामीण भेगका विद्यार्थीहरूको नियमित अध्ययन–अध्यानमा सहजता पुर्याउने उद्देश्यले वितरण कार्यक्रम अघि सारिएको अक्कल कोपिला फाउन्डेसनले जनाएको छ । आफ्नो उद्देश्य दुर्गम भेगका बालबालिकालाई आधारभूत शैक्षिक सामग्री उपलब्ध गराएर सिकाइमा सहयोग पुर्याउनु रहेको फाउन्डेसनले जनाएको छ ।
छायाँनाथ रारा नगरपालिकाभित्रका २७ र मुगुम कार्मारोङ गाउँपालिकाका ३ गरी कुल ३० विद्यालयका बालबालिकालाई अध्ययन सामग्री वितरणगरिसकेको र भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तरता दिने फाउन्डेसनका अध्यक्ष अक्कल बोहोराले जानकारी दिए ।
सामग्री पाएका विद्यार्थीहरूले पनि कापी–कलमले आफूहरूलाई थप लगनशील हुन प्रेरित गरेको प्रतिक्रिया दिएका छन् ।
अक्कल कोपिला फाउन्डेसनले यस अघि छायाँनाथ–रारा नगरपालिकाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै आएको थियो ।
हाल फाउन्डेसनले सेवा क्षेत्र विस्तार गर्दै मुगुम कार्मारोङ गाउँपालिकाका विद्यालयमा पनि सहयोग थालेको छ ।
ग्रामीण क्षेत्रमा शैक्षिक पहुँच विस्तार, मनो–सामाजिक प्रोत्साहन र सिकाइ वातावरण सुदृढीकरणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने अध्यक्ष बोहोराको भनाई छ ।
स्थानीय बासिन्दाले दुर्गम क्षेत्रमा पढिरहेका बालबालिकाका लागि यस्तो सहयोग अति महत्त्वपूर्ण रहेको उनले बताए । उनीहरूले यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, विद्यालयप्रतिको आकर्षण र सिकाइप्रति रुचि बढाउने उल्लेख गरे ।
अक्कल कोपिला फाउन्डेसनले विगतदेखि नै शिक्षा, बालअधिकार तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सो फाउन्डेसनले मुगुमा विपन्न परिवारलाई राहत वितरण, प्रतिक्षालय निर्माण, सडक तथा धर्मशाला निर्माण, विद्यालय खेलमैदान विकास जस्ता सामाजिक सेवामा पनि निरन्तर योगदान गरिरहेको छ ।

मुगु
प्रतिक्रिया