
मुगु । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) का उपकुलपति डा. पूजन रोकायाको नेतृत्वमा मुगुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । आइतबार सञ्चालन गरिएकोमा विशेषज्ञ स्वास्थ्य शिविरमार्फत २०० भन्दा बढी स्थानीय बिरामीले निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गरेका छन् ।
शिविरमा मानसिक रोग, नाक, कान, घाँटी, छाला रोग, बालरोग, हाडजोर्नी लगायतको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको थियो । शिविरमा MDGP विभाग प्रमुख डा. अनुप समाल, मानसिक रोग विशेषज्ञ डा. देविका डंगोल, नाककान घाँटी विशेषज्ञ डा. अनुपम कोईराला, मेडिसिन विशेषज्ञ डा. राजेन्द्रमणि गिरी, हाडजोर्नी विशेषज्ञ डा. तुफान कठायतसहितका चिकित्सक सक्रिय रूपमा खटिएर स्वास्थ्य चेकजाँच गरेका छ्न् ।

शिविरमा मुगु अस्पतालका चिकित्सक बालरोग विशेषज्ञ डा. निर्मल नागरकोटी, डा. नहकुल, शाही डा. अर्जुन भाम, डा. दिपेन्द्र जंग शाही, डा. सन्तोष उपाध्यय लगायतका चिकित्सकले उपचार तथा परामर्श सेवा निरन्तर रूपमा प्रदान गरेको जिल्ला अस्पताल मुगुले जनाएको छ ।
उपकुलपति रोकाया स्वयं विशेषज्ञ टोलीसहित मुगु पुगेर विभिन्न रोगका बिरामीको स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श गरेका छन् । जटिल तथा शल्यक्रिया आवश्यक पर्ने आर्थिक रूपमा कमजोर बिरामीलाई जुम्लामा निःशुल्क उपचार गरिने उपकुलपति रोकायाले प्रतिबद्धता समेत गरेका छन् ।
मुगुमा अब नियमित विशेषज्ञ सेवा
कर्णाली स्वास्थ्य विज्ञान प्रप्तिष्ठानले अबदेखि हरेक महिनाको पहिलो आइतबार मुगुमा नियमित विशेषज्ञ सेवा र हरेक तीन महिनामा मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
आगामी दिनमा मुगुका बिरामीलाई मध्यनजर गर्दै कर्णाली स्वास्थ्य प्रप्तिष्ठानले हरेक महिनाको पहिलो आइतबार विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने र हरेक तीन महिनामा मानसिक रोग्को स्वास्थ्य विशेषज्ञ सेवा उपलब्ध गराइने जनाइएको छ ।

१० वर्षभन्दा बढी समय जुम्ला–मुगु–हुम्ला जस्ता दुर्गम क्षेत्रमै सेवा गर्दै आएका अनुभवी डा. पुजन रोकाया उपकुलपति भएपछि समेत आफैँ दुर्गम पुगेर सेवा दिनु युवा चिकित्सकका लागि प्रेरणादायक बनेको स्थानीयले प्रतिक्रिया दिएका छन् ।
दुर्गमका जनतालाई सेवा दिनु यही नै साँचो चिकित्सकत्व भएको कार्यक्रमका क्रममा उपकुलपति रोकायाले भने, ‘दुर्गम जनतालाई सेवा दिन सक्नु यही नै साँचो चिकित्सकत्व हो,
निस्वार्थ भावले बिरामीलाई खुशी बनाउन पाउँदा आउने अनुभूति नै चिकित्सकको वास्तविक आनन्द हो ।’
उपकुलपति रोकायाले कठिन भूगोल, सीमित पूर्वाधार र चुनौतीपूर्ण परिस्थितिमा मुगु अस्पतालमै बसेर निरन्तर सेवा दिइरहेका स्थानीय चिकित्सकहरुको प्रशंसा गर्दै उनीहरुलाई सम्मान, प्रोत्साहन र सुरक्षा प्रदान गर्नु सरकारको प्राथमिक दायित्व रहेको बताए ।
स्थानीय नागरिकमा उपचारको नयाँ आशा
कर्णाली स्वास्थ्य प्रतिष्ठानका निर्देशक डा. कमल थानीका अनुसार, नियमित विशेषज्ञ सेवा सुरु भएपछि मुगुका नागरिकले गाउँमै उच्चस्तरीय उपचार पाउने आशा बलियो भएको छ ।
डा. रोकायाले कर्णालीका दुर्गम बस्तीमा टेलिमेडिसिन सेवा प्रभावकारी बनाउने, स्वास्थ्य बिमाको पहुँच विस्तार गर्ने, र विशेषज्ञ सेवा स्थायी रूपमा उपलब्ध गराउने दीर्घकालीन योजना अपरिहार्य भएको औँल्याए ।
दुर्गम क्षेत्रमा समर्पित स्वास्थ्यकर्मीलाई प्रोत्साहन, सम्मान र सुरक्षाको नीतिगत वातावरण तत्काल निर्माण गर्न सरकारलाई आग्रह गरिएको छ ।

मुगु
प्रतिक्रिया