जुम्ला सडक खण्डमा चालकमाथि हातपात, मुगुको यातायात सेवा बन्द

मुगु । गत बिहीबार जुम्ला हिमा गाउँपालिका– ४ जुम्ला मुगु सडक खण्डमा रारा छायाँनाथ यातायात प्रालिको गाडीलाई जुम्लामा अवरोध गरिनुका साथै चालकमाथि हातपात गरिएको छ । नेपालगञ्जबाट मुगु आउँदै गरेको रारा छायाँनाथ यातायात प्रालिको … नम्बरको १२१८ गाडीलाई जुम्लाको नाग्मा सडक खण्डमा केही व्यक्तिहरूले अवरोध गर्दै चालक तथा यात्रुलाई दुर्व्यवहार गर्नुका साथै हातपात गरेका हुन् ।

रारा छायाँनाथ यातायात प्रालिका अनुसार कर्णाली हिमचितुवा यातायातसँग सम्बन्धित समूहले गाडी बीच सडकमा रोक्दै महिला यात्रुसँग अपशब्द प्रयोग गरेको र चालकलाई हातपात गर्दै गाडीको चाबी समेत खोसेको रारा छायाँनाथ याता प्रालिका सचिव सन्तोष शाहीले बताए । उनका अनुसार चाबी खोसिएपछि सवारी नाग्माकै सडकमा थन्किन बाध्य भएका छ्न भने मुगु आउने यात्रु बिचल्लीमा परेका छ्न् ।

कर्णाली हिमचितुवा यातायात प्रालिका नयन महत, विकास महत र प्रेम महतलगायत व्यक्तिहरूले गाडी बिच सडकमै रोक्दै महिला यात्रुसँग समेत अपशब्द प्रयोग गरेका थिए ।

घटना भएपछि रारा छायाँनाथ यातायातले जुम्ला जिल्ला प्रहरी कार्यालय, प्रमुख जिल्ला अधिकारी र नाग्मा प्रहरी चौकीलाई बारम्बार जानकारी गराए पनि अहिलेसम्म कानुनी प्रक्रिया अघि नबढेको रारा छायाँनाथको विज्ञप्तिमा उल्लेख छ ।

पीडित पक्षले दोषीहरुलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रशासनलाई आग्रह गरेको छ । यता जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार दुवै यातायातको विवाद केही दिन अघिदेखि चुलिएको छ । रारा छायाँनाथ यातायातले जुम्ला हिमा भएको घटनाको विषयमा ठाडो निवेदन मात्रै दिइएको छ ।

कुनै आधाकरिक जाहेरी नआएको र दुवै पक्षलाई समस्या समाधानका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरि लोकेन्द्र अधिकारिले बताए ।

मुगुमा यातायात सेवा बन्द

गत बिहीबार जुम्ला–मुगु सडक खण्डमा चालकमाथि भएको हातपात र यात्रुलाई गरेको दुर्व्यवहारको घटनापछि मुगुमा यातायात सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

शनिबार रारा छायाँनाथ यातायात प्रालिसहित खापरमस्सटा यातायात व्यवसायीहरूले दोषीलाई कारवाही प्रक्रिया अगाडि नबढाएको भन्दै सदरमुकाम गमगढीबाट छुट्ने सवारी साधन बन्द भएका छ्न् ।

गत केही दिनयता नाग्मा आसपासका क्षेत्रमा गाडी रोक्ने, चालक र सहचालकलाई धम्की दिने तथा यात्रुहरूलाई समेत त्रास सिर्जना गर्ने घटना बढेपछि यातायात सेवा बन्द गरेको रारा छायाँनाथ यातायात प्रालिका सचिव सन्तोष शाहीले बताए ।

दोषीलाई कार्वाहीको माग गरि जुम्ला प्रहरी प्रशासनसँग पटक–पटकमाग गरिए पनि सुनुवाइ नभएको उनको भनाई छ । आज जिल्ला प्रशासन कार्यालय मुगुमा यसै विषयमा छलफल गरिए पनि कुनै टुंगो लागेको छैन ।

यातायात सेवा बन्द भएपछि मुगुबाट नेपालगञ्ज, सुर्खेत तथा जिल्लाभित्रका विभिन्न ग्रामीण क्षेत्रमा जाने यात्रुहरू मारमा परेका छन् । जीवनयापनका सामान ढुवानीमा अवरोध हुँदा गाउँ–बस्ती प्रभावित हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया