
मुगु । जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुको आयोजनामा, युनिसेफ नेपालको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्रको सहजीकरणमा खानेपानी, सरसफाइ, फोहर व्यवस्थापन र संक्रमण नियन्त्रण सुधारका उद्देश्यसहित WASH सुधार परियोजना सञ्चालन गरिएको छ ।
यस अभियानले स्वास्थ्य संस्थामा स्वच्छता, सेवा गुणस्तर र वातावरणमैत्री अभ्यासलाई सुदृढ गर्ने लक्ष्य लिएको हो । सोमबार जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुमा एक औपचारिक कार्यक्रमको आयोजना गरि स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता (WASH), फोहर व्यवस्थापन तथा संक्रमण रोग नियन्त्रण सेवा सुधारका बिषयमा छ्लफल थालिएको थियो ।
कार्यक्रममा स्वास्थ्य संस्थाका कर्मचारीहरू र व्यवस्थापन समिति (टिम) का सदस्यहरूलाई WASHFIT को कार्यान्वयन प्रक्रिया, मूल्यांकन विधि, सेवा सुधारका चरण र अनुगमनका उपायहरूबारे प्राविधिक रूपमा जानकारी गराइएको थियो ।
रुकुमेली समाज विकास केन्द्रका अनुगमन तथा मूल्यांकन अधिकृत लोक बहादुर विश्वकर्माले WASHFIT कार्यक्रमको मुख्य उद्देश्य स्वास्थ्य संस्थाहरूमा सुरक्षित खानेपानी, सरसफाइ, फोहर व्यवस्थापन, हात धुने सुविधा र वातावरणमैत्री सेवा सुधारका माध्यमबाट स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने रहेको जानकारी दिए ।

उनका अनुसार सरसफाइ सुधारले मातृ तथा शिशु स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्दछ, त्यसैले हरेक स्वास्थ्य संस्थाले सरसफाइ मापदण्डलाई पहिलो प्राथमिकतामा राख्न आवश्यक छ । कार्यक्रमको पहिलो चरणमा जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगु र ढुंगेधारा स्वास्थ्य चौकीमा WASHFIT कार्यक्रम परीक्षणका रूपमा लागू गरिने जानकारी पनि अधिकृत विश्वकर्माले दिए ।
त्यसैगरी, जिल्ला अस्पताल मुगुका निमित्त कार्यालय प्रमुख डा. नहकुल शाहीले सरसफाइ र स्वच्छता सुधारले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भने, ‘हामीले सरसफाइ सुधारलाई स्वास्थ्य सेवा सुधारको अभिन्न हिस्सा बनाउनुपर्छ, आवश्यक प्राविधिक र वित्तीय सहयोग निरन्तर उपलब्ध गराउन सहयोगी संस्थाहरूलाई अनुरोध गर्दछौँ ।’
जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष गजेन्द्र बहादुर मल्लले सरसफाइ सुधारलाई दीर्घकालीन योजनाका रूपमा लिनुपर्नेमा जोड दिँदै भने, ‘स्वास्थ्य संस्था सफा र सुरक्षित हुनु भनेको बिरामीको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष सम्बन्धित विषय हो । अब हामीले अनुगमन र व्यवहारिक सुधारमा ध्यान दिनुपर्छ ।’
त्यसैगरी छायाँनाथ रारा नगरपालिकाका नगर उपप्रमुख ऐश्वरे मल्लले स्थानीय सरकारको तर्फबाट प्रतिबद्धता जनाउँदै भनिन्, ‘स्वास्थ्य संस्थाको सरसफाइ र फोहर व्यवस्थापन सुधारका लागि हामी नीतिगत र बजेट सहयोग गर्न तयार छौँ ।’

मुगु
प्रतिक्रिया