नवलपुरमा निषेधाज्ञा जारी, क्षतिको विवरण संकलन गरिँदै

तस्विर नवलपुर प्रेस

नवलपुर । जेन–जी प्रदर्शनका क्रममा मंगलबार नवलपरासी –बर्दघाट–सुस्तामा रहेका विभिन्न राजनीतिक दल र तिनमा आवद्ध नेताहरुको घरमा तोडफोड र आगजनी गरिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) का पार्टी कार्यालयमा आगजनी भएको छ । त्यस्तै यी राजनीतिक दलका नेताहरुको घरमा समेत आगजनी र तोडफोड भएको उनले जानकारी दिए ।

‘जिल्लामा सरकारी कार्यालयभन्दा पनि बढी राजनीतिक पार्टी र उनीहरुको घरमा तोडफोड र आगजनी भएको छ’, उनले भने, ‘त्यस्तै कावासोती नगरपालिका, गैँडाकोट नगरपालिकामा समेत आगजनी र तोडफोड भएको छ ।’

नवलपुरको गैँडाकोटस्थित मौलाकाली केबलकारको तल्लो स्टेशनमा समेत प्रदर्शनकारीले आगजनी गरेको नेपालको भनाइ छ । ‘जिल्लामा भएका क्षतिहरुको विवरण हामीले संकलन गर्ने क्रम जारी छ’, उनले भने, ‘अहिले जिल्ला अवस्थामा नियन्त्रणमा छ ।’ जिल्लामा निषेधाज्ञा जारी रहेको उनले बताए ।

प्रतिक्रिया