कालिमाटी–कुलेश्वर करिडोर विस्तारसँगै भीममुक्तेश्वर क्षेत्रको आवतजावतमा सहज

काठमाडौं । काठमाडौं महानगरपालिका–१३ अन्तर्गतको भीममुक्तेश्वर क्षेत्र नजिक विष्णुमती नदीको दायाँ किनारमा रहेको करिडोर सडक अहिले पूर्ण रूपमा पक्की बनाइएको छ । यसअघि टेकुतर्फको खण्ड मात्र कालोपत्रे रहेको उक्त करिडोर अहिले कालिमाटी पुलबाट कुलेश्वर हुँदै बल्खुसम्म विस्तार गरी पिच गरिएको हो ।

कालिमाटी पुलको दायाँपट्टि रहेका अनाधिकृत घरटहरा हटाइएपछि खाली भएको क्षेत्रमा सडक निर्माण सम्पन्न गरिएको हो । केही समय अघिसम्म अव्यवस्थित बस्तीले ढाकिएको यो क्षेत्र अहिले खुला तथा व्यवस्थित देखिएको छ ।

सरकारले वर्षायाममा डुबानको उच्च जोखिम रहेको भन्दै नदी किनारका बस्ती खाली गराई संरचनाहरू हटाएको थियो । त्यसपछि करिडोर विस्तारको काम अगाडि बढाइएको हो ।

नवनिर्मित सडक सञ्चालनमा आएपछि कालिमाटी चोकको सवारी चाप छल्दै चालकहरूले सिधै करिडोरमार्फत कुलेश्वर र बल्खुसम्म पुग्न सक्ने भएका छन् । यसले काठमाडौं महानगरपालिका–१३ को भीममुक्तेश्वर क्षेत्रका स्थानीय बासिन्दालाई समेत सहज आवतजावतको सुविधा प्रदान गरेको छ ।

स्थानीयका अनुसार करिडोर सडकले बागमती नदीको पुल हुँदै ललितपुरतर्फ जाने यात्रुलाई समेत सहज बनाएको छ । करिडोर विस्तारसँगै यस क्षेत्रको यातायात व्यवस्थापनमा सुधार आउनुका साथै दैनिक ट्राफिक जाम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।– तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया