सुत्केरी व्यथाले गम्भीर भएकी महाभारतकी देवकुमारी जब हेलिकप्टरमार्फत काठमाडौं पुगिन्

काभ्रे । काभ्रे जिल्लाको विकट मानिएको महाभारत गाउँपालिकाले अर्को एक सुत्केरी उद्धार कार्य सम्पन्न गरेको छ । महाभारत गाउँपालिका–७ निवासी जयमान घलानकी देवकुमारी पाख्रीनलाई राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत निःशुल्क हेलिकप्टरमार्फत काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली लगिएको छ ।

स्थानीय बनखुचौर स्वास्थ्य चौकी बर्थिङ सेन्टरमा भर्ना गरिएकी २८ वर्षीया पाख्रीनको २४ घण्टासम्म उच्च रक्तचाप नियन्त्रणमा नआएको र गर्भस्थित शिशुमा पनि समस्या देखिएको भन्दै स्वास्थ्यकर्मीहरूले तत्काल हेलिकप्टरबाट उपयुक्त अस्पताल पठाउन सिफारिस गरेका थिए ।

स्वास्थ्य चौकीबाट पठाइएको पत्रमा उल्लेख भए अनुसार पाख्रीनलाई सुत्केरी व्यथा लागेपछि साउन ८ गते बिहीबार दिउँसो भर्ना गरिएको थियो ।

तर २४ घण्टासम्म पनि सुत्केरी अवस्था सहज नभएपछि उनलाई (Prolong Labour) को रूपमा चिनाइएको थियो । साथै, औषधि दिँदासमेत रक्तचाप नियन्त्रणमा नआएको र गर्भमा रहेको शिशुमा (Fetal Distress) को लक्षण देखिएको स्वास्थ्यकर्मीहरूको उल्लेख छ ।

समयमै हेलिकप्टर उद्धार

यस संवेदनशील अवस्थालाई मध्यनजर गर्दै महाभारत गाउँपालिकाका अध्यक्ष कान्छा लाल जिम्बाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, नेपाली सेना, तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत हेलिकप्टरबाट तत्काल उद्धार गराएका छन् ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले व्यक्तिगत रुपमा पनि यस उद्धारमा चासो दिँदै, समन्वयकारी सबै निकायलाई धन्यवाद ज्ञापन गरेका छन् । ‘जनताको दुःखमा राज्यपक्षीय संयन्त्र सक्रिय हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, हामी निरन्तर जनसेवामा समर्पित छौँ’, अध्यक्ष जिम्बाले भने ।

गाउँपालिकाले सुत्केरी देवकुमारी पाख्रीनको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । जहाँ यतिबेला बर्खाको समयमा पैदल समेत हिँड्न कठिन भएको बेला र निकै अप्ठेरो परेको बेला गत वर्षहरूमा पनि हेली रेस्क्यू हुँदै आएको थियो ।

प्रतिक्रिया