स्ट्रेचरमा बोकेर अस्पताल पुर्याउँदा दिनमात्रै होइन, ज्यानै बित्ने जोखिम

‘डाँडापारि’का नागरिकको पीडा : स्थायी सडक न एम्बुलेन्स

काभ्रे । गत २४ असारमा खानीखोला गाउँपालिका–२ फलामेटार खोरङकी २९ वर्षीया लक्ष्मी गोलेलाई घरमै बसिरहेका बेला अचानक बेथा लाग्यो । पति मीनराज र स्थानीय मिलेर उनलाई बोकेर १ घण्टा लगाएर फलामेटारस्थित स्वास्थ्य चौकी पुर्याए । स्वास्थ्य चौकीकी अनमीले यहाँ उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल रिफर गरिन् ।
तर, गाउँमा एम्बुलेन्स सुविधा नभएको र भौगोलिक अवस्थाका कारण अन्य साना गाडी पनि नचल्ने भएकाले मीनराजले पालिकामा चल्दै आएको सुमो गाडी बोलाए । सुमोले २० हजार रुपैयाँ भाडा मागेपछि ‘परिवारसँग सल्लाह गर्न’ फोन राखे । जीवनभन्दा पैसा ठुलो होइन भन्ने भएपछि २० हजार दिन तयार हुँदै मीनराजले सुमो चालकलाई फोन गरे । तर चालकको फोन ‘स्विच्ड अफ’ भएकाले त्यस दिन लक्ष्मीलाई अस्पताल लान सम्भव भएन ।

भोलिपल्ट बिहान स्थानीयले स्ट्रेचरमा बोकेर ३ घण्टा हिँडेर खुवा संकलन गर्ने ट्रक भएको ठाउँसम्म पुर्याए र बेलुका उनलाई अस्पताल पुर्याइयो । तर, डाक्टरले ढिला भइसकेको बताउँदै गर्भ बचाउन नसकिने बताए । गर्भ खेर गएकी लक्ष्मी अहिले सोही अस्पतालमा उपचारत छिन् ।

खानीखोला–२ का फलामेटार स्वास्थ्य चौकीका प्रमुख दूतराज थापामगरका अनुसार गर्भवती लक्ष्मीको सोही स्वास्थ्य चौकीमा नियमित गर्भ जाँच भइरहेको थियो । ३ पटक गर्भ जाँच गरिएकी उनको डेलिभरी डेट आगामी पुस १० गते तोकिएको थियो । ‘समयमा अस्पताल पुर्याउन सकेको भए सायद गर्भ खेर जाने थिएन र उनी पनि जोखिममा हुने थिइनन्,’ प्रमुख थापामगर भन्छन् ।
यस्तै, गएको १ साउनमा खानीखोला–१ का ४० वर्षीय हेमबहादुर थिङलाई उच्च ज्वरो आउनेसहित विभिन्न लक्षण देखिए । अर्धचेत अवस्थामा स्थानीय स्वास्थ्य चौकी पुगेका उनलाई पनि थप उपचारका लागि सदरमुकाम जान सुझाइयो । सिमसिमे झरी परिरहेका बेला स्थानीयले उनलाई बोकेर ४ घण्टा लामो उकालो हिँडेर त्यहाँबाट गाडी चढाएर बेलुका अबेर मात्रै शिर मेमोरियल अस्पताल पुर्याइयो । त्यो बेलासम्म उनको अवस्था जटिल भइसकेको थियो । अहिलेसम्म उनी आइसियूमा उपचाररत छन् ।

यता, अर्को विकट पालिका महाभारतको वडा नम्बर २ मोक्तान टोल निवासी बाबुलाल मोक्तान १ हप्तादेखि सिकिस्त बिमारी परे । उनलाई पनि अन्य बिरामीझैँ स्ट्रेचरमा बोकेर ४ घन्टाको बाटो हिँडेर समान बोक्ने गाडीमा चढाएर गत आइतबार बेलुका शिर मेमोरियल अस्पताल पुर्याएर उपचार जारुी छ ।

यी त केही उदाहरण मात्रै हुन् । यस्ता समस्या यी दुइटा पालिकाका नागरिक दैनन्दिन भोग्न बाध्य छन् । काभ्रेको सदरमुकाम धुलिखेलदेखि सबैभन्दा टाढाको दुरीमा रहेका खानीखोला र महाभारत अतिविकट भएकाले यिनलाई एकमुष्ट ‘डाँडापारि’ भनेर चिनिन्छ ।

दुर्गम भएकाले खानीखोला र महाभारतका स्थानीयको जनजीवन कष्टकर छ । २०७४ सालअघि यहाँको अवस्था झनै भौतिक विकासबाट टाढा थियो । कच्ची बाटोसम्म पुगेको थिएन । स्थानीय तहको निर्वाचनपछि स्थानीय जनप्रतिनिधिको पहलमा कच्ची बाटो त पुग्यो, तर त्यसले जनताको जीवनमा धेरै परिवर्तन ल्याउन सकेन । स्थायी रूपमा चल्ने बाटो र सवारीसाधन नहुँदा बर्खाको समयमा स्थानीयले सधैँ सास्ती बेहोर्नुपरिरहेको छ ।

यता, खानीखोला गाउँपालिकामा दुइटा एम्बुलेन्स छन्, तर एउटा पनि चल्न सकेको छैन । यसबारे खानीखोलाका स्वास्थ्य शाखा प्रमुख रामपुकार यादवलाई प्रश्न गर्दा उनले भने, ‘एउटा एम्बुलेन्स १ वर्षअघि बनाउन लगिएको थियो । ८ लाखभन्दा बढीको बिल आएपछि तिर्न नसकेर थन्किएको छ । अर्को केही महिना मात्रै भयो बिग्रिएको, बनाउन मिस्त्री बोलाएका छौँ । केही दिनमा बन्छ ।’
जनप्रतिनिधिको गुनासो : संघीय सरकार सुन्दैन, हाम्रो स्रोतले भ्याउँदैन

खानीखोलाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) समस्या समाधानका लागि आफूहरूले सक्दो प्रयास गरिरहेको बताउँछन् । ‘बर्खामा हामीलाई सधैँ सास्ती भइरहेको छ । वैकल्पिक उपाय खोज्ने काम भइरहेको छ । सुमो सेवालाई अपिल गरेर बर्खामा समेत सेवा दिन लगाइरहेका छौँ,’ उनले भने ।

सदरमुकाम जोड्ने स्थायी सडक बनाउन पालिकाको स्रोतले नभ्याउने अध्यक्ष थिङको भनाइ छ । संघीय सरकारले नसुनेकाले प्रदेश सरकारमार्फत् केही काम हुँदै गरेको उनले जानकारी दिए । ‘सदरमुकाम जोड्ने स्थायी सडक बनाउन पालिकाको स्रोतले भ्याउँदैन । हाम्रो आवाज संघीय सरकारले कहिल्यै सुनेन । प्रदेश सरकारमार्फत् केही काम भइरहेको छ,’ उनी भन्छन् ।

दोभानको पुल नबनेका कारण डाँडापारिका जनताले दुःख भोग्नु परेको अध्यक्ष थिङले बताए । ‘हामीले पटक–पटक पुल बनाउने ठेकेदारदेखि प्रदेश र संघीय सरकारसम्मलाई ध्यानाकर्षण गराइरहेका छौँ । तर, यो झन्डै १० वर्षदेखि अड्किएको छ । त्यो पुल बन्दा मकवानपुरको हेटौँडा पुग्न नजिक हुनेथ्यो । प्रदेश सदरमुकाम जान स्थानीयलाई केही राहत हुनेथ्यो,’ उनले थपे ।

यता, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले स्थानीय ठाउँमा जटिल बिरामीको उपचार गर्ने अस्पताल बनाउन संघ र प्रदेश सरकारलाई धेरै पहिलेदेखि पहल गरिरहेको भए पनि त्यो पूरा हुन नसकेको बताए । ‘भूगोलमा हामी पछि परेका हौँ । यद्यपि, हामीले गर्न सक्ने गरी भौतिक पूर्वाधारका विकासहरू गरेका छौँ । स्थायी मोटर बाटो र यही ठाउँमा जटिल बिरामीको उपचारसमेत सम्भव गराउने सुविधा दिलाउन संघ र प्रदेश सरकारसँग धेरै पहिलेदेखि पहल गरिरहेका छौँ,’ उनी भन्छन् ।

अध्यक्ष जिम्बा पक्की पुल र सडक निर्माणलाई ध्यान दिन संघीय सरकारसँग आग्रह गर्छन् । ‘जनताको दुःख देखेर पनि केही गर्न नसकिरहेको अवस्था छ । पक्की पुल र सडकलाई संघीय सरकारले ध्यान देओस्,’ उनले थपे ।

२०७८ सालको जनगणनाअनुसार खानीखोलाको जनसंख्या १२ हजार २०१ र महाभारतको १६ हजार ७९ छ । दुवै पालिकामा विद्युत् पनि भर्खर मात्रै पुगेको छ । खानीखोलामा भने घर–घरमा विद्युत् अझै पुग्न सकेको छैन । स्थायी मोटरबाटो र जटिल स्वास्थ्य उपचार सम्भव नभएको भन्दै यस भेगबाट सुगम भेगमा बसाइँसराइ पनि तीव्र हुँदै गएको छ ।

स्थानीय जनप्रतिनिधिहरू भन्छन्, ‘महाभारत र खानीखोलामा कम्तीमा ५० शय्याको अस्पतालको आवश्यकता छ । अस्पताल बनाउन केही भौतिक पूर्वाधारका काम अघि बढे पनि अरू थुप्रै प्राविधिक काम हुन नसक्दा अस्पताल चल्न सकेको छैन ।’

प्रतिक्रिया