
चितवन । गर्मी र वर्षात् बढेसँगै अस्पतालमा सर्पदंशका बिरामीको चाप बढ्ने गरेको छ । यहाँको भरतपुर अस्पतालमा विगत ३ महिनामा २९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । वर्षा सुरु भएसँगै यस अस्पतालमा सर्पदंशका बिरामीको संख्या बढेको हो ।
अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउद्दिन मियाँका अनुसार अस्पतालले गत वैशाखमा ६० र जेठमा १०५ जना सर्पदंशका बिरामीको उपचार गरेको छ । तीमध्ये ५ जना विशालु सर्पले डसेका थिए । यस्तै असार महिनामा १२६ जना सर्पदंशका बिरामीको उपचार गरिएका मध्ये ९ जना विशालु सर्पले डसेका बिरामी रहेको मियाँले जानकारी दिए ।
यस अस्पतालमा सर्पदंशका बिरामी चितवनसहित, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) तनहुँ, गोरखा लमजुङदेखिका आउने गरेका छन् । अस्पतालमा आएका बिरामीलाई कम्तीमा ६ घण्टा निगरानीमा राखेर बिरामीको लक्षणअनुसार उपचार गरिने गरेको उनले बताए ।
विशालु सर्पअन्तर्गत करेत, कोभ्रा, गोमन, भाइपरलगायतका सर्पहरूले टोक्ने गर्दछ । करेत र गोमन, कोभ्राले टोक्दा बिरामीको नशालाई असर पुर्याउने गर्दछ भने भाइपरले टोक्दा बिरामीको रगतको तत्वमा असर गर्ने उनले बताए ।
विशालु सर्पले टोकेका बिरामीलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिन्छ भने अन्यलाई आकस्मिक कक्षमा नै राखेर उपचार गरिँदै आएको छ । अहिले दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । यस अस्पतालमा सर्पदंशको उपचार राम्रो हुने भएकाले यहाँ बिरामी धेरै आउने गरेको उनले बताए ।
प्रतिक्रिया