बंगलादेशमा विद्यालयमाथि बज्रियो सैनिक विमान

कम्तीमा २० जनाको मृत्यु, १७१ घाइते

ढाका । बंगलादेशको राजधानी ढाकाको उत्तरमा रहेको माइलस्टोन स्कुल एन्ड कलेजमा सोमबार दिउँसो वायुसेनाको प्रशिक्षण उडानमा रहेको विमान बज्रिँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने करिब १७१ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांश सो कलेज परिसरमा रहेका विद्यार्थी भएको बिबिसीले जनाएको छ । दुर्घटना हुँदा विद्यालयमा परीक्षा चलिरहेको बताइएको छ ।

घटनास्थलको निरीक्षणपछि बंगलादेशी फायर सर्भिसका महानिर्देशक ब्रिगेडियर जनरल मुहम्मद जाहेद कमालले १९ जनाको मृत्यु पुष्टि गरे पनि बंगलादेशी सञ्चारमाध्यमहरुले रातीसम्ममा मृत्यु हुनेहरुको संख्या २० भएको जनाएका छन् । दुर्घटनामा ७० जनाभन्दा बढी बालबालिका गम्भीर रूपमा जलेर घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये धेरैको अवस्था चिन्ताजनक छ ।

बंगलादेशी सैनिक जनसम्पर्क विभागले दिएको विवरणअनुसार, दुर्घटनापछि विभिन्न अस्पतालमा १७१ जना घाइते भर्ना गरिएको छ । घटनापछि सरकारका कानुनी सल्लाहकार प्रोफेसर आसिफ नजरुल बर्न इन्स्टिच्युट पुगेका थिए । उनले सरकारले यस घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गर्ने बताए । उनले सरकारले आज मंगलबार १ दिन राष्ट्रिय शोक मनाउने बताए । सरकारले घटना कसरी भयो भन्नेबारेमा पूर्ण छानबिन गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया