मुगुमा कांग्रेसका कार्यकतालाई दिइयो प्रशिक्षण

मुगु । नेपाली कांग्रेस मुगुले जिल्लाभरका कार्यकर्तालाई प्रशिक्षण दिएको छ । नेपाली कांग्रेस प्रशिक्षण शाखा मुगुको आयोजनामा नेपाली कांग्रेस कर्णाली प्रदेशको समन्वयमा र नेपाली कांग्रेस मुगुको व्यवस्थापनमा दुई दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरी जिल्लाभरका क्रियाशील सदस्य नेता कार्यकताहरूलाई प्रशिक्षण दिएको हो । जिल्लाभरिका कार्यकर्तालाई लक्षित गर्दै दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यक्रमले जिल्लाभर राजनीतिक जागरण र संगठनात्मक सुदृढीकरणको संकेत दिएको आयोजकले जनाएका छन् । प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसको इतिहास बुझाउने, कार्यकर्तालाई जवाफदेही बनाउने र संगठनात्मक जिम्मेवारीप्रति सचेत गराउने उद्देश्यसहित प्रशिक्षण कार्यक्रमको आयोजना गरीएको नेपाली कांग्रेस प्रशिक्षण शाखाका प्रमुख हरिजंग शाहीले जानकारी दिए ।

दुुई दिने प्रशिक्षणमा नेपाली कांग्रेसको स्थापना, ऐतिहासिक पृष्ठभूमि, लोकतन्त्र, समाजवाद र राष्ट्रियताका विषयमा गहन छलफल गरिएको छ । पार्टीको नीति, आचारसंहिता, सदस्यता र संगठनात्मक व्यवहारका विषयमा विशेष जोड दिइएको प्रशिक्षण शाखा प्रमुख शाहीको भनाई छ ।

उनका अनुसार यस्ता प्रशिक्षण कार्यक्रममले नेता तथा कार्यकर्तालाई निष्ठा र अनुशासनका साथ पार्टीसँग आवद्ध हुनुपर्छ भन्ने कांग्रेसको विचार र व्यवहार दुवैमा बलियो बनाउनेछ । प्रशिक्षण कार्यक्रममा जिल्लाभरका नेता तथा कार्यकर्ता ४०० भन्दा बढी सहभागी थिए ।

आइतबार र सोमबार सम्पन्न प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य तथा प्रशिक्षक मधु आचार्यले नेतृत्व गरेका थिए भने प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण तथा अनुसन्धान विभागका निर्देशक डा. कृष्णप्रसाद पौडेल, नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमनबहादुर शाही, तथा अन्य केन्द्रीय नेताहरूले समेत प्रशिक्षण दिएका थिए ।

स्थानीय तहमा पार्टीबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा अन्य जनप्रतिनिधिहरू पनि प्रशिक्षण कार्यक्रमा सहभागी भएका थिए । प्रशिक्षकहरूको टोली तयार भएपछि मुगुका सबै वडामा प्रशिक्षण पुर्याउने तयारी गरिएको छ । यस कार्यक्रमले कांग्रेस कार्यकर्तालाई स्थानीय तहमा विचार, संगठन र व्यवहारको समुचित सन्तुलनका साथ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

कांग्रेस सरकारका उपलब्धि, प्रमुख नेताहरूको योगदान, संगठनात्मक संरचना, सदस्यता आचरण र नेतृत्व विकास जस्ता विषय प्रशिक्षण कार्यक्रममा समेटिएको नेपाली कांग्रेस मुगुका सभापति कर्ण बहादुर रावलले जानकारी दिए ।

‘कार्यकर्ता सचेत र संगठित भए पार्टी बलियो हुन्छ, तालिमको मूल मर्म नै जागरुक कार्यकर्तामार्फत सुदृढ संगठन निर्माण गर्नु हो,’ रावलले भने । नेपाली कांग्रेस मुगुको यो अभियान केवल प्रशिक्षण मात्र नभई संगठनलाई कार्यकर्ता–केन्द्रित, विचार–आधारित र लोकतान्त्रिक रूपमै सुदृढ बनाउने संकेत भएको उनले बताए ।

प्रशिक्षण तालिमपछि गाउँ–गाउँमा कार्यकर्ता तयार हुनु कांग्रेसका लागि रणनीतिक लाभ हुन सक्ने भपेक्षा गरिएको छ भने विशेषतः आगामी चुनावी तयारीका सन्दर्भमा छलफल गरीएको छ । नेपाली कांग्रेस मुगुले आगामी दिनमा जिल्लाका प्रत्येक वडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी संगठनलाई गाउँ–गाउँसम्म सशक्त बनाउने लक्ष्य राखेको नेपाली काग्रेश प्रशिक्षण शाखा मुगुले जनाएको छ ।

प्रतिक्रिया