काभ्रे । पत्रकारिता र समाजसेवाको समन्वयमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राख्ने वरिष्ठ पत्रकार नवराज बजगाईंले आफ्नो जन्मदिनलाई यो वर्ष पनि सेवा र समर्पणमार्फत विशेष बनाएका छन् ।
धुलिखेल–१२ मा रहेको मानव कल्याण समाज अन्तर्गतको ‘सेवा घर’मा आश्रित ५२ जना वृद्धवृद्धा तथा असहायहरूलाई खाना खुवाई, खाद्यान्न, लत्ताकपडा र नगद रु २५ हजार सहयोग हस्तान्तरण गर्दै उनले आफ्नो जन्मदिन मनाएका हुन् ।
बजगाईं मात्र नभई उनकी धर्मपत्नी तारा भट्टराईको जन्मदिन (असार २२) पनि सामाजिक सेवामार्फत मनाउने उद्देश्यसहित यो कार्यक्रम आयोजना गरिएको हो । यो सेवा परम्परालाई उनले विगतका वर्षहरूमा पनि निरन्तरता दिँदै आएका छन् ।
कार्यक्रममा चिउरा, नुन, मसला, साबुन, डेटोल, फिनेल, फलफूल, सरफदेखि लत्ताकपडासम्मका सामग्री सेवा घरमा आश्रितहरूलाई प्रदान गरिएको थियो ।
पत्रकार बजगाईंले भने, ‘सजावट र भोज होइन, समाजलाई संस्कार दिने प्रेरणा जन्मदिनमा दिनुपर्छ, म विगतदेखि नै सेवा घरमा आउँछु, अब त धेरैले देखेर सिकेका छन्, त्यो नै साँचो सन्तोष हो ।’
कार्यक्रममा बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहाल, पत्रकार बजगाईं स्वयं, पत्रकार अरविन्द्र गौतम, दीपक राउत लगायतले सेवा घर व्यवस्थापन संयोजक हर्कसिंह तामाङलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । साथै सेवा घरका अभियन्ता सुरेश र जीवनराजलाई खाद्यान्न, सरसफाइ सामग्री र फलफूल हस्तान्तरण गरिएको थियो ।
कार्यक्रम धुलिखेल–१२ का वडाध्यक्ष मोहन प्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो । मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईं (सुमी मानव) ले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
त्यसैगरी, धुलिखेल–१० वडाध्यक्ष गोबिन्द भण्डारी, बनेपा–५ वडाध्यक्ष बलराम अधिकारी, बनेपा–१० वडाध्यक्ष चन्द्रबहादुर खड्का,बनेपा–११ वडाध्यक्ष शिव थापा, एमाले अध्यक्ष दयाराम महत, समाजसेवी बोदनाथ बजगाईं, दामोदर बजगाईं, पत्रकार र समाजसेवीहरू राज तिमल्सिना, राजन अधिकारी, रुपेश काफ्ले, सुर्य श्रेष्ठ, रमा सुबेदी, सुर्य थापा, सुवास बजगाईं लगायतको उपस्थिति थियो ।
अध्यक्ष सुमी मानवका अनुसार, मानव कल्याण समाजले हाल ६ वटा शाखामार्फत ४ सयभन्दा बढी आश्रितहरूलाई संरक्षण गर्दै आएको छ । ‘खाना, नाना र छानाविहीनको उद्धार हाम्रो धर्म हो,’ भन्दै उनले सामाजिक सेवामा सबैलाई जोडिन आह्वान गरिन् ।
नव क्षितिज साप्ताहिकको रजत वर्ष पत्रकारिता र सेवा सँगसँगै २०८२ बैशाख ८ गतेबाट नव क्षितिज साप्ताहिकले २५ औँ वर्षमा प्रवेश गरेपछि रजत वर्षको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरू आयोजना हुँदै आएका छन् ।
यसै सन्दर्भमा धुलिखेलको फूलबारीस्थित दुसित थानी रिसोर्टमा आयोजित भव्य समारोहमा गणतन्त्रका प्रथम राष्ट्रपति डा. रामवरण यादवद्वारा डिजिटल ब्यानरबाट रजत वर्ष उद्घाटन गरिएको थियो ।
सो अवसरमा रजत लोगो, स्मारिका र गीतको भिडियो विमोचन, साथै स्तम्भकार प्रल्हाद दाहालको कृति ‘अनुभूतिको संगालो’ र दीपा गुरुङ ‘समभाव’ को ‘कथा काठमाडौं’ कथा संग्रह पनि सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया