विश्व बैंकको सहयोगमा पोखरामा ३ सडक

कास्की । नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा ३ वटा सडक निर्माणाधीन अवस्थामा छन् । विश्व बैंकको आर्थिक सहयोगमा तालचोक–बेगनास सडक, शिशुवा–सिसाघाट सडक र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक स्तरोन्नतिको काम भइरहेको हो । पोखरा महानगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागबीच सन् २०२१ मार्चमा परियोजना सम्झौता भई सडक निर्माण अगाडि बढेको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए । परियोजनाको सम्झौता ५ वर्ष रहेकामा हाल १ वर्ष थप भएको उनको भनाइ छ ।

३ सडकमध्ये शिशुवा–सिसाघाट सडकको भौतिक प्रगति ६५ पुगेको छ भने अन्य २ सडकको प्रगति न्यून देखिएको छ । पोखरा–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने ४ लेन सडकको भौतिक प्रगति ५५ प्रतिशत र दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडकको ४० प्रतिशत पुगेको इन्जिनियर गौतमले बताए ।
२०७९ चैतदेखि निर्माण थालिएको तालचोक–बेगनास सडक कम्पनीको ढिलासुस्तीका कारण समयमै निर्माण हुन नसकेको उनको भनाइ छ । जग्गा विवादका कारण पनि उक्त सडक निर्माणमा ढिलाइ भएको महानगरपालिकाले जनाएको छ ।

कुल ३ दशमलव २८ किमिको तालचोक–बेगनास सडकलाई ४ लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले निर्माण जिम्मा पाएको थियो । ठेक्का सम्झौता भएको १ वर्षपछि बल्ल सडक निर्माण सुरु भएको थियो । १ अर्ब ४९ करोड रुपैयाँको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटसहित ७५ करोड ४८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताए । फुट ट्रयाक, साइकल लेन, सडक बत्ती र पार्किङसहितको नमुना सडक बन्ने उनको भनाइ छ ।

सडक छेउछाउमा बगैँचा, यात्रु प्रतीक्षालयसहित आकर्षक पूर्वाधार बनाइने महानगरपालिकाले जनाएको छ । सडकमा ३ वटा पुल पनि बन्नेछन् । अहिले सडक विस्तार, कल्भर्ट, नाला र पर्खाल निर्माणको काम भइरहेको इन्जिनियर गौतमले बताए । पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ ।

महानगरकै गौरवको आयोजनाका रूपमा तालचोक–बेगनास सडक स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो । पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले ४ लेनको सडक बनेमा ७ तालको बाटिका भनेर चिनिने सिंगो लेखनाथ क्षेत्रको विकासले कोल्टे फेर्ने बताए । तालचोक–बेगनास सडक पृथ्वी राजमार्गसँग पनि जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने उनको भनाइ छ ।

पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक पनि अहिले ४ लेनमा स्तरोन्नति भइरहेको छ । पोखरादेखि शिशुवादेखि लमजुङको सिसाघाट जोड्ने सडकअन्तर्गत खुदी खोला पुलसम्मको खण्ड अहिले निर्माणाधीन अवस्थामा रहेको छ । कुल ४ दशमलव १४ किमि दुरीको उक्त सडकमा पनि साइकल ट्रेक, फुटपाथ र सडकबत्ती रहने इन्जिनियर गौतमले बताए ।

त्यस खण्डमा ४ वटा कल्र्भट पनि निर्माणका क्रममा छन् । आशिष निर्माण सेवाले ३४ करोड ११ लाख रुपैयाँमा उक्त सडकको निर्माण जिम्मा पाएको थियो । सन् २०२४ अप्रिल १४ बाट निर्माण सुरु भएकामा उक्त सडकको भौतिक प्रगति ६५ प्रतिशत पुगेको हो । गण्डकी प्रदेश राजधानी पोखरा भित्रने वैकल्पिक सडकका रूपमा हेरिएको दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडकको भौतिक प्रगति जम्मा ४० प्रतिशत पुगेको छ ।

कुल १२ दशमलव ४४ किमि दुरीको उक्त सडकको काम गत वर्ष असारदेखि सुरु गरिएको थियो । आशीष निर्माण सेवाले ७७ करोड ६८ लाख रुपैयाँमा ठेक्का पाएको थियो । सम्झौता अवधिमा काम नसकिएपछि एक वर्षलाई ठेक्का म्याद थप भएको महानगरपालिकाले जनाएको छ । यो सडकमा पनि दायाँबायाँ साइकल ट्रेक, फुटपाथ, सडकबत्ती रहने इन्जिनियर गौतमले बताए । पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले सडकको दायाँबायाँ ३ मिटरमा फलफूलका बिरुवा रोप्न सुरु गरिएको बताए ।

विश्व बैंकले जलविद्युत्मा गरेको लगानीबारे छलफल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एसियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटमा विश्व बैंकले नेपालका जलविद्युत् क्षेत्रमा गरेको लगानीका विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले नेपालका जलविद्युत् आयोजनामा विश्व बैंकले हालसम्म गरेको लगानीप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे ।
उनले अपर अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको कार्यलाई चाँडो टुंगोमा पु¥याउनसमेत विश्व बैंकसँग आग्रह गरेका थिए । यस्तै, विद्युत्को आपूर्ति सुदृढीकरण गर्ने विषयमासमेत बैठकमा छलफल भएको थियो ।

भेटमा विश्व बैंकका क्षेत्रीय निर्देशक गुप्ताले विश्व बैँकले अपर अरुण जलविद्युत् आयोजनालाई विश्व बैँकले प्राथमिकतामा राखेको बताएका थिए । भेटमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिवद्वय चिरञ्जीवी चटौत, सागरराज गौतम, विश्व बैंक नेपालका देशीय निर्देशक डेभिड सिस्लेनलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया