काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझसम्म ३ हजारभन्दा बढी सक्रिय संक्रमित फेला परेका छन् । खुला सीमा र अव्यवस्थित आवतजावतका कारण नेपालमा पनि कोभिड संक्रमण भित्रिने उच्च जोखिम रहेको भन्दै विमानस्थलदेखि सीमा नाकामा ‘हाई अलर्ट’ गरिएको छ ।
भारतका २६ राज्यमा विभिन्न भेरियन्टको कोरोना भाइरस फैलिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो ६ दिनयता मात्र देशभरि ३ हजार ५७८ जना संक्रिय संक्रमितको उपचार भइरहेको छ भने १ हजार ८१८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । आइतबार केरलाका १ र कर्णाटकका १ सहित हालसम्म कुल २८ जना संक्रमितको मृत्यु भएको छ । यद्यपि कतिपय मृतक अन्य रोगबाट पनि ग्रसित थिए ।
भारतीय स्वास्थ्य मन्त्रालयले १२ जेठमा १५ राज्यमा कुल १ हजार ९ जना सक्रिय कोरोना संक्रमित रहेको तथ्यांक सार्वजनिक गरेको थियो । पछिल्लो ६ दिनमा सक्रिय संक्रमितको संख्या ३ गुणा बढेको हो । पछिल्लो तथ्यांकअनुसार केरलामा ६४ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै केरलामा सक्रिय संक्रमितको संख्या १ हजार ४०० पुगेको छ ।
यसैगरी, महाराष्ट्रमा ४८५, दिल्लीमा ४३६, गुजरातमा ३२०, पश्चिम बंगालमा २८७, कर्नाटकमा २३८, तमिलनाडुमा १९९ र उत्तर प्रदेशमा १४९ जना संक्रमितको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । धेरैजसो संक्रमित होम आइसोलेसनमै कोरोनामुक्त भएका छन् ।
भारतका धेरै राज्यमा फैलिएको कोरोना संक्रमणमा ४ वटा नयाँ भेरियन्ट फेला परेका छन् । दक्षिण र पश्चिम भारतबाट क्रमबद्ध गरिएका भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ शृंखलाका छन् । नयाँ भेरियन्ट पत्ता लगाउन अन्य ठाउँहरूबाट नमुना परीक्षण जारी छ ।
भारतीय चिकित्सकहरूले संक्रमितको अवस्था धेरै गम्भीर नरहेकाले चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए पनि सतर्क भने रहनुपर्ने बताएका छन् । विश्व स्वास्थ्य संगठनले पनि यसलाई चिन्ताको विषय मानेको छैन । यद्यपि, यसलाई निगरानीमा रहेको भेरियन्टका रूपमा वर्गीकृत गरिएको छ । चीनलगायत अन्य एसियाली देशहरूमा कोभिडको बढ्दो केसहरूमा पनि यी भेरियन्ट देखिँदै छ । यद्यपि चिकित्सकहरूले हाल देखापरेका भेरियन्ट अत्यन्त संक्रामक रहे पनि कम जोखिमपूर्ण रहेको बताएका छन् ।
नेपालमा ‘हाई अलर्ट’
खुला सिमाना जोडिएको भारतमा कोराना संक्रमण तीव्र बने पनि नेपालमा भने भारतमा देखिएको भेरियन्ट अहिलेसम्म देखा नपरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । सौर्य दैनिकसँग कुरा गर्दै उनले भने, ‘भारतमा जुन गतिका साथ कोरोना देखिएको छ, नेपालमा भने त्यसको असर परेको छैन । तर, सचेत हुन आवश्यक छ ।’ भारतमा संक्रमण बढ्दै गएपछि नेपालमा पनि त्यसको जोखिम हुन सक्ने भएकाले सबैले सचेत हुनपर्नेमा जोड दिँदै उनले लापरबाही गरियो भने अवस्था जोखिमपूर्ण हुन सक्ने बताए ।
भारतमा संक्रमण फैलिएपछि सीमा नाकामा रहेका अस्पतालहरूलाई पनि तयारी अवस्थामा रहन निर्देशन गरेको उनले बताए । उनका अनुसार मन्त्रालयले हरेक प्रयोगशालामा हुने परीक्षणको समेत निगरानी जारी राखेको छ । ‘परीक्षण र उपचारका लागि सरकारले सबै प्रकारको तयारी गरेको छ । यद्यपि कोही कसैले लापरबाही गरी मन्त्रालयको आग्रह नसुनेमा भने अवस्था भयावह हुन सक्छ,’ उनले भने ।
उनका अनुसार सरकारले भारतसँग सिमाना जोडिएका १७ नाका र ३ वटा हवाई नाकामा रहेका हेल्थ डेस्कलाई तयारी अवस्थामा राखेको छ । यसैगरी प्रभावित क्षेत्रबाट नेपाल आएका शंकास्पद देखिएका व्यक्तिको स्वास्थ्य परीक्षण गर्न आवश्यक सामग्री पठाइसकेको उनले बताए । भारतमा देखिएका विभिन्न भेरियन्ट र नेपालमा त्यसको अवस्थाबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले भने, ‘नेपालमा अहिले कोरोनाको समस्या छैन । भारतमा देखिएका कुनै नयाँ भेरियन्ट यहाँ देखापरेको छैन ।’
भारतमा फैलिएको कोरोना हेरेर नेपाल सचेत हुनुपर्ने वा डराउनुपर्ने अवस्था नरहेको उनले बताए । उनका अनुसार खुला सिमाना भएका कारण नेपालले सावधानी अपनाउन भने जरुरी छ । तर, अहिले नै आत्तिनुपर्ने अवस्था भने छैन ।
प्रतिक्रिया