एन्टिबायोटिकको जथाभावी प्रयोगले बढाएको चिन्ता

सुर्खेत । एन्टिबायोटिकको प्रयोग बढ्दै गएको भन्दै यसले स्वास्थ्यमा गम्भीर असर निम्त्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा सहभागी सरोकारवालाहरूले एन्टिबायोटिकको प्रयोग बढ्दै जाँदा भविष्यमा यसको गम्भीर असर पर्ने चिन्ता व्यक्त गरेका हुन् । एन्टिबायोटिकको अत्यधिक प्रयोगले प्रतिरोध क्षमतामा गिरावट आउने र त्यसले गर्दा औषधिले काम नगर्ने अवस्था सिर्जना हुनसक्ने उनीहरूको भनाइ छ ।

चिकित्सकहरूका अनुसार अहिले कर्णालीमा एन्टिबायोटिक लिने बढ्दै गएका छन् । यसले स्वास्थ्यमा नकारात्मक असर पार्नसक्ने तथ्यले देखाएको छ । विश्वस्वास्थ्य संगठनका कर्णाली प्रतिनिधि प्रदीप अधिकारीले आफ्नो प्रस्तुति राख्दै नेपाल एन्टिमाइक्रोबियल प्रतिरोधको उच्च रूपले प्रभावित रहेको बताए । सन् २०१९ मा गरिएको अध्ययन प्रस्तुत गर्दै उनले एन्टिमाइक्रोबियल औषधिको प्रयोगका कारण प्रत्यक्ष रूपमा ६ हजार ४०० र अप्रत्यक्ष रूपमा २३ हजार २०० जनाको मृत्यु भएको बताए ।

मानिस, जनावर र बोटबिरुवामा जैविक प्रतिरोधी रोगको वृद्धि हुनुका मुख्य कारण एन्टिबायोटिक्सको अत्यधिक प्रयोगले नै रहेको उनको भनाइ छ । उनले भने, ‘बहुऔषधि प्रतिरोध भएका विश्वका ३० मुलुकमध्ये नेपाल पनि एक हो, राष्ट्रिय रोगभार प्रतिवेदन २०१९ अनुसार सबैभन्दा बढी मृत्यु गराउने संक्रामक रोगमा श्वासप्रश्वास क्षयरोग, टाइफाइडजन्य संक्रमण रहेका छन् ।’

नेपालको कुल गार्हस्थ उत्पादनमा पशुपक्षीपालन क्षेत्रको करिब १३ प्रतिशत र समग्र कृषि क्षेत्रको करिब २७ प्रतिशत योगदान छ । कृषि तथा पशुपक्षीका क्षेत्रमा प्रतिजैविक प्रतिरोधको व्यापकता बढिरहेको छ । उनले गरिबी र असमानताले गर्दा कम र मध्यम आय भएका देश सबैभन्दा बढी प्रभावित हुन थालेको बताए ।

कर्णाली प्रदेश अस्पतालमा कार्यरत फिजिसिएन डा.केएन पौडेलले अहिले एन्टिबायोटिक रेसिस्टेन्स लिनेहरू बढ्दै गएको उल्लेख गर्दै सामान्य रोगका लागि पनि एन्टिबायोटिक औषधिको प्रयोग हुने गरेको बताए । ‘बिहानदेखि बेलुकीसम्म एन्टिबायोटिक्सको प्रयोग बढ्दो छ’, उनले भने, ‘यो विषय अब स्वास्थ्य क्षेत्रको मात्रै रहेन, यो व्यापक छलफल र बहसको विषय बन्नुपर्छ भन्ने मलाई लाग्छ, हामी मात्रै होइन, सबै नागरिक सचेत हुन जरुरी छ ।’

औषधि पसलमा डाक्टरको सिफारिसबिना रोगको पहिचान नै नगरी एन्टिबायोटिक बेच्ने र प्रयोग गर्ने गरिएको उनको भनाइ छ । रोगको पहिचानबिना त्यस्ता औषधि प्रयोग गर्न नहुने उनको सुझाव छ । चिकित्सकले मात्र भनेर नहुने भन्दै यो स्वास्थ्यसँग जोडिएको गम्भीर विषय भएकाले सबैको सरोकार हुनुपर्ने सुझाव उनले बताए । कर्णाली प्रदेश अस्पतालमै कार्यरत डा.सुजन सापकोटाले पनि एन्टिबायोटिक जथाभावी प्रयोग गर्नुुहुन्न भने पनि यसको प्रयोग बढ्दो भएकाले नियमन आवश्यक रहेको औँल्याए ।

प्रतिक्रिया