काभ्रेपलाञ्चोक । नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारीअनुसार जापान सरकारको सहयोगमा धुलिखेलमा अत्याधुनिक ट्रमा सेन्टर निर्माण हुने भएको छ । धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको उक्त ट्रमा एन्ड इमर्जेन्सी सेन्टर भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार शिलान्यास गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य पूर्वाधारमा लगानी, स्थायित्व र गुणस्तर वृद्धिमा अत्यावश्यक रहेको बताए । उनले नयाँ ट्रमा सेन्टरले नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ युगको सुरुआत गर्ने दाबी गरे । प्रमाणजन्य उपचार र आपत्कालीन स्वास्थ्य सेवामा अस्पताल र चिकित्सकको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै उनले यस्तो केन्द्रको आवश्यकता रहेकोमा जोड दिए ।
उक्त अस्पतालमा ट्रमा एन्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान)को सुधार परियोजनाका लागि जापान सरकारले थप ३ अर्ब २ करोड ९६ लाख यान अनुदान दिनेछ । यही जेठ २ गते अर्थ मन्त्रालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इकुइना अकिकोबीच उक्त अनुदान सहायता सम्झौतामा हस्ताक्षर भएको थियो । आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट ३ अर्ब २ करोड ९६ करोड यानको अनुदान सहयोगमा सन् २०२३ मा हस्ताक्षर भइसके पनि मूल्यवृद्धि र अन्य कारणले आर्थिक अभाव भएपछि अहिले थप अनुदान उपलब्ध गराइएको जनाइएको छ ।
निर्माण सम्झौतामा जापान सरकारले ६० प्रतिशत भवनमा र सबै प्रकारका मेडिकल उपकरणका लागि ४० प्रतिशत सहयोग गर्ने उल्लेख छ । सेन्टरमा पार्किङ, आइसियुु, ३ वटा अप्रेसन थिएटर, एचडियुु, ल्याब, फार्मेसी, फोहोर व्यवस्थापनलगायत आवश्यक सबै सेवाहरू उपलब्ध हुनेछन् ।
यस्तै सेन्टर सञ्चालनका लागि ३ तला बेसमेन्टसहित ५ तलाको भवन निर्माण हुने आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमा उल्लेख छ । सोही कार्यक्रममा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का नेपाल प्रमुख मासुजाकी मिजुकीलेले सन् १९७० देखि जापान–नेपालको मित्रता कायम रहेकाले नेपालमा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको बताए । जापान सरकारले बिपी राजमार्गअन्तर्गत धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक निर्माण गरेको स्मरण गर्दै उनले गतसालको बाढीपहिरोले उक्त सडकका केही खण्ड क्षतिग्रस्त बनाएकामा दुःख व्यक्त गरे । शिलान्यास कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल पनि सहभागी थिए ।
सामुदायिक अस्पताललाई सरकारसँग सहकार्य गर्न आग्रह
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामुदायिक अस्पतालले उत्कृष्टता हासिल गर्न सरकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।
मन्त्री पौडेलले सामुदायिक अस्पताललाई समेट्ने गरी सरकारले नीतिगत विषय परिमार्जन गरेकाले सहकार्य आवश्यक रहेको बताए । यो वर्षको बजेटमासमेत सामुदायिक अस्पताललगायत स्वास्थ्य संस्थालाई सहकार्य गर्नेगरी सहभागिता गराइएको बताउँदै उनले सरकारसँगको सहकार्यले स्वास्थ्य क्षेत्रमा उत्कृष्टता हासिल गर्न सक्ने विश्वास व्यक्त गरे ।
स्वास्थ्य क्षेत्रमा सुधार गर्न सरकारले थुपै्र विषय ल्याएकाले कार्यान्वयन गर्न स्रोतको खोजी भइरहेको उनको भनाइ थियो । ‘स्रोत जुटाउन सामदायिक क्षेत्र, शुभेच्छुक अन्तर्राष्ट्रिय दाता तथा निकायसँग जोड्न सक्नुपर्छ’, उनले भने । राज्यले स्वास्थ्य क्षेत्रमा आवश्यकताअनुसार लगानी गर्नसक्ने अवस्थालाई सबल बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिँदै उनले बिमा प्रणालीमार्फत विकल्प खोज्नुपर्ने बताए ।
प्रतिक्रिया