अमेरिकाद्वारा विश्वभर विद्यार्थी भिसाका अन्तर्वार्ता स्थगन

आवेदकको सामाजिक सञ्जाल पनि निगरानी गरिने

काठमाडौँ । अमेरिकाले नेपाललगायत विश्वभरबाट अमेरिकामा अध्ययन गर्न चाहने विद्यार्थीहरूको भिसा आवेदनपछिको अन्तर्वार्ता स्थगन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशस्थित उसका राजदूतावासहरूलाई विद्यार्थी भिसाका लागि अन्तर्वार्ताका निम्ति समय दिने कार्य रोक्न आदेश दिएको हो । अमेरिकी कूटनीतिक निकायहरूलाई मंगलबार जारी गरिएको निर्देशनमा विदेशमन्त्री मार्को रुबियोले ‘थप निर्देशन नआएसम्मका लागि’ त्यस्ता अन्तर्वार्ता स्थगन हुने जनाएका छन् । उनको सन्देशमा विद्यार्थी तथा अन्तर्राष्ट्रिय भ्रमण आदानप्रदान अन्तर्गतका भिसा आवेदकहरूको सामाजिक सञ्जालको निगरानी र परीक्षण गरिने पनि बताइएको छ । अमेरिकामा पढ्न चाहने विदेशी विद्यार्थीहरूले भिसा स्वीकृतिका लागि आफ्नो मुलुकमा रहेको अमेरिकी दूतावासमा अन्तर्वार्ता दिनुपर्छ ।

विदेश मन्त्रालयले मंगलबार जारी गरेको ‘मेमो’मा अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसाका निम्ति आवेदकको अन्तर्वार्ता अब तय नगर्न भनिएको बिबिसीले जनाएको छ । तर तय भइसकेका अन्तर्वार्ताको हकमाचाहिँ त्यसलाई कायम राख्न सकिने भनिएको छ । यद्यपि सबै विद्यार्थी भिसा आवेदनका निम्ति लागू हुने गरी आवेदकको सामाजिक सञ्जालको निगरानी तथा परीक्षण हुने बताइएको छ ।

विद्यार्थी भिसाको नियममा परिवर्तनबारे मंगलबार सोधिएको एक प्रश्नको जबाफ दिँदै विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले भने, ‘हामी देशभित्र कस्ता मानिस आइरहेका छन् भनेर निक्र्योल गर्ने परीक्षणको प्रक्रियालाई निकै गम्भीरतापूर्वक लिन्छौँ र लिइरहने छौँ ।’

ट्रम्प प्रशासनको हार्वडलगायत प्रतिष्ठित विश्वविद्यालयहरूसँगको तनावका माझ पछिल्लो निर्णय आएको हो । कतिपय त्यस्ता विश्वविद्यालयले यहुदी विरोधी भावनालाई प्रश्रय दिएको अनि कतिपयले ‘भेदभावपूर्ण भर्ना नीति’ अँगालेको आरोप ट्रम्पले लगाउँदै आएका छन् । केही अमेरिकी विश्वविद्यालयले तिनका क्याम्पसमा यहुदी विरोध र प्यालेस्टिनी समर्थन गर्न छुट दिएको ह्वाइट हाउसले आरोप लगाएको छ । ती विश्वविद्यालयहरूले भने ट्रम्प प्रशासनले वाक् स्वतन्त्रता कुल्चन खोजेको आरोप लगाएका छन् ।

आफूसँग असहमत त्यस्ता शैक्षिक प्रतिष्ठानमाथि ट्रम्पले आर्थिक प्रतिबन्धदेखि विदेशी विद्यार्थी भर्नामा रोक लगाउनेसम्मका आदेश जारी गरेका छन् । कतिपय विद्यार्थीलाई अमेरिकाबाट निकाला गरिएको छ भने अन्य सयौं विद्यार्थीको भिसा रद्द गरिएको छ । अधिकांश अमेरिकी शैक्षिक संस्थाहरू तिनको आम्दानीको उल्लेखनीय हिस्साका निम्ति विदेशी विद्यार्थीमा निर्भर हुन्छन् किनकी तिनले प्रायः बढ्ता शुल्क तिर्छन् ।

कति जान्छन् नेपाली विद्यार्थी ?

शिक्षा मन्त्रालयको पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा अमेरिकाका लागि एनओसी लिनेहरूको संख्या घटबढ भइरहेको देखिन्छ । कोभिड महामारीका बर्षहरू बाहेक मन्त्रालयबाट विदेश अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर–एनओसी) लिने विद्याथीहरू सरदर बार्षिक ६ हजारदेखि १६ हजारसम्म छ । जसअनुसार २०७७ सालमा १ हजार ५४२ जना, २०७८ सालमा ८ हजार ५८ जना, २०७९ सालमा ६ हजार ५४२ जना, २०८० सालमा १६ हजार १६६ जना र २०८१ सालको फागुन मसान्तसम्म ८ हजार ३८ जनाले एनओसी लिएका छन् ।

प्रतिक्रिया