मुग्लिङ बजार नजिकै सुक्खा पहिरो, सवारी आवागमन ठप्प

चितवन । मुग्लिङ-नारायणगढ सडकखण्डमा सुक्खा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ बजार नजिकै मंगलबार बिहान पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवका अनुसार अचानक सुक्खा पहिरो खसेपछि दुवैतर्फका गाडी रोकिएका छन्।

अवरुद्ध सडक सफा गरेर खुलाउन सडक विभागसँग समन्वय गरी पन्छाउने काम अघि बढाइएको प्रहरीले जनाएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन अझै कम्तीमा दुई घण्टा लाग्ने अनुमान प्रहरीले गरेको छ । सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ हिँडेका हजारौँ यात्रु र सवारीसाधन बिचबाटोमै रोकिएका छन्।

मंगलबार बिहान सुक्खा पहिरो खसेर सडक ठप्प भएपछि अहिले २ वटा जेसिबी/सवारी मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। पहिरो पन्छाउने कार्यलाई तीव्र बनाउन थप एउटा मेसिन घटनास्थलतर्फ आउँदै गरेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

पुनः थप पहिरो नझरे अबको १ देखि २ घण्टाभित्र पहिरो हटाई यातायात सुचारु गर्ने लक्ष्य राखिएको छ। सडक अवरुद्ध हुँदा रोकिएका यात्रुहरूलाई धैर्यधारण गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ।

प्रतिक्रिया