काठमाडौँ । सत्तापक्षका शीर्ष नेताहरूले संसदमा उठेका प्रश्नका विषयमा गृहमन्त्रीलाई प्रस्ट पार्न दिन विपक्षी दलहरूसँग आग्रह गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि यस्तो आग्रह गर्ने निर्णय गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच केहीबेरअघि भएको छलफलमा गृहमन्त्री रमेश लेखक पनि थिए । बैठकमा संसद बैठक सञ्चालन र विपक्षीका मागका विषयमा छलफल भएको बताइएकाे छ ।
सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले भने, ‘भोलि बजेट ल्याउनुपर्नेछ। एउटा कर्मचारीको विषयलाई लिएर संसद अवरुद्ध गर्नु राम्रो होइन। प्रतिपक्षीले त्यो कुरा बुझ्नुपर्छ भन्ने हाम्रो आग्रह हो ।’ हिजो विपक्षीको मागअनुसार संसद स्थगित भएको र आज विपक्षीले सदन चलाउन सहयोग गर्नुपर्ने निष्कर्षसहित छलफल सकिएको उनले बताए ।
प्रतिक्रिया