रुसी सेनामा रहेका नेपालीको जीवन रक्षाको माग गर्दै प्रधानमन्त्री ओलीलाई खुल्ला पत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई रुसी सेनामा भर्ती भई रुस र युक्रेन युद्धमा फसेका नेपालीहरूको उद्धार तथा मानव अधिकारको रक्षाको माग गर्दै ‘रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियान’ले १२ बुँदे खुल्ला पत्र बुझाइएको छ ।

अभियानकी अध्यक्ष मेनुका भण्डारी (कृतृ) ले हस्ताक्षर गरेको पत्रमा युद्धमा फसेका नेपालीहरुको पछिल्लो अवस्थाबारे सरकारले तत्काल जानकारी गराउनुपर्ने र उनीहरूको उद्धार तथा राहतका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइएको छ ।

पत्रमा रुसी सेनामा भर्ती भएका, मृतक, बेपत्ता, युद्धबन्दी, घाइतेलगायतका नेपालीहरूको हालसम्मको यकिन तथ्यांक सार्वजनिक गर्न माग गरिएको छ । सरकारले सुरुमा नेपालीहरू रुसी सेनामा भर्ती नभएको भन्दै गलत सूचना दिएको र पछि मात्र सत्य स्वीकार गर्न बाध्य भएकोमा पनि पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी शव फिर्ता र परिवारलाई हस्तान्तरणस् युद्धमा ज्यान गुमाएका नेपालीहरूको शव नेपाल झिकाएर परिवारलाई बुझाउनु राज्यको दायित्व भएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै पत्रमा बेपत्ताको अवस्था सार्वजनिक गर्न माग गर्दै करिब ३०० जना नेपाली युवाहरू परिवारको सम्पर्कमा नआएको र उनीहरूको वास्तविक अवस्थाबारे सरकारले परिवारलाई जानकारी गराउनुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया