अर्थतन्त्रमा प्रदेशहरूको योगदान : बागमती उच्च, कर्णालीको न्यून

काठमाडौँ । नेपालको अर्थतन्त्रमा बागमतीको योगदान सबैभन्दा बढी र कर्णालीको योगदान न्यून रहने प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) उपभोक्ताको मूल्यमा करिब ६१ खर्ब ७ अर्ब हुने अनुमान गरिएको छ । जसमा सबैभन्दा धेरै योगदान बागमती प्रदेशले रहने प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार बागमती प्रदेशको योगदान ३६ दशमलव ५२ प्रतिशत रहेको छ, भने सबैभन्दा कम कर्णाली प्रदेशको योगदान ४ दशमलव १९ प्रतिशत रहेको छ ।

कोसी प्रदेशको योगदान १५ दशमलव ९० प्रतिशत, लुम्बिनी प्रदेशको १४ दशमलव २३ प्रतिशत, मधेस प्रदेशको १३ दशमलव १६ प्रतिशत, गण्डकी प्रदेशको ८ दशमलव ९८ प्रतिशत, सुदूरपश्चिम प्रदेशको ७ दशमलव शून्य ३ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ को संशोधित अनुमानबमोजिम कुल गार्हस्थ्य उत्पादनमा प्रादेशिक योगदान सिमान्त रूपमा मात्र परिवर्तन भएको छ । गत आर्थिक वर्षको संशोधित अनुमानसँग तुलना गर्दा कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको योगदान केही घटेको छ भने मधेस र बागमती प्रदेशको योगदानमा वृद्धि भएको देखिन्छ ।

प्रादेशिक आर्थिक वृद्धिमा गण्डकी अगाडि

यस्तै, आर्थिक वर्ष २०८१/०८२ को प्रारम्भिक अनुमानबमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर बढी हुनेमा गण्डकी प्रदेश देखिएको छ । जहाँ उपभोक्ताको मूल्यमा आधारित जिडिपी वृद्धिदर ५ दशमलव ५१ प्रतिशत रहेको प्रारम्भिक अनुमान छ । त्यसपछि बागमती प्रदेशको वृद्धिदर ५ दशमलव १८ प्रतिशत रहेको छ । सबैभन्दा कम वृद्धिदर सुदूरपश्चिम प्रदेशमा देखिएको छ र जसको वृद्धिदर ३ दशमलव ३२ प्रतिशत मात्र रहेको छ ।


राष्ट्रव्यापी औसत वृद्धिदर ४ दशमलव ६१ प्रतिशत रहेको सन्दर्भमा गण्डकी, बागमती, कर्णाली र लुम्बिनी प्रदेशको वृद्धिदर औसतभन्दा माथि देखिएको छ भने बाँकी प्रदेशहरूको वृद्धिदर औसतभन्दा तल रहेको देखिन्छ । आर्थिक वर्ष २०७९/०८० देखि आर्थिक वर्ष २०८१/०८२ सम्मको अवधिमा सबै प्रदेशको आर्थिक वृद्धिदर क्रमशः वृद्धि हुँदै गएको देखिन्छ । यद्यपि, आर्थिक वर्ष २०८०/०८१ बाट आर्थिक वर्ष २०८१/०८२ मा कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर नगण्य रूपमा मात्र बढेको देखिन्छ ।

विगत ३ वर्षको तथ्यांक हेर्दा अधिकांश प्रदेशमा वृद्धिदर विस्तारै बढेको देखिए तापनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा आर्थिक सुधारको गति कमजोर देखिन्छ । यसले प्रदेशबीचको आर्थिक असमानता र नीति निर्माणमा क्षेत्रीय सन्तुलन कायम गर्नुपर्ने आवश्यकता रहेको तथ्यांक कार्यालयले औँल्याएको छ ।

प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन

आर्थिक वर्ष २०८१/०८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेस प्रदेशको हुने प्रारम्भिक अनुमान रहेको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा पनि प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेस प्रदेशको रहने संशोधित अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा बागमती प्रदेशको २ हजार ६०२, गण्डकी प्रदेशको १ हजार ६१९, कोसी प्रदेशको १ हजार ४०१, लुम्बिनी प्रदेशको १ हजार २०१, सुदूरपश्चिम प्रदेशको १ हजार १५३, कर्णाली प्रदेशको १ हजार ८९ र मधेस प्रदेशको ९३२ हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा १९६ हुने प्रारम्भिक अनुमान गरिएको छ । यस हिसाबले बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औषतभन्दा कम रहेको देखिन्छ ।

प्रतिक्रिया