ट्रम्पकाे अर्को तमासा : दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि ‘नरसंहार’ को आरोप

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकी समकक्षी सिरिल रामाफोसालाई एउटा भिडियो प्ले गर्दै मौखिक दुव्र्यवहार गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग चर्काचर्की गरेको प्रकरणपछि पत्रकारहरूका सामु कुनै मुलुकको राष्ट्राध्यक्षमाथि ओभल अफिसमा दुव्र्यवहार भएको यो दोस्रो घटना हो ।

बुधबार अमेरिकी राष्ट्रपतिको कार्यालय ओभल अफिसमा भएको भेटवार्तामा केहीबेरको औपचारिक कुराकानी लगत्तै ट्रम्पले कोठाको बत्ती मधुरो पार्न लगाएर एउटा भिडियो प्ले गर्न लगाएका थिए । त्यो भिडियोमा दक्षिण अफ्रिकी श्वेत किसानहरूलाई उनीहरूको जग्गा छोड्न बाध्य पारिएको र उत्पीडित गरिएको दृश्य देखिन्थ्यो ।

पत्रकारहरूको उपस्थितिमा ट्रम्पले दक्षिण अफ्रिकाका अश्वेत राजनीतिज्ञहरूले श्वेत मानिसहरूको उत्पीडनका लागि आह्वान गरेको भन्दै कर्मचारीहरूलाई ४ मिनेटको भिडियो ठुलो स्क्रिनमा राख्न लगाएका थिए । ट्रम्पको तर्कले ओभल अफिसको सामान्यतया शान्त कूटनीतिक वातावरणलाई मञ्चमा परिणत ग¥यो ।

‘तपाईंले उनीहरूलाई जमिन लिन अनुमति दिनुहुन्छ र त्यसपछि जब उनीहरूले जमिन लिन्छन् । उनीहरूले श्वेत किसानलाई मार्छन्, तर उनीहरूलाई केही हुँदैन’, ट्रम्पले भने । लगत्तै ट्रम्पले दक्षिण अफ्रिकी राष्ट्रपतिलाई समाचार क्लिपिङहरू पनि देखाउँदै त्यसले आफ्नो दावीलाई समर्थन गरेको बताए । यद्यपि एउटामा वास्तवमा प्रजातान्त्रिक गणतन्त्र कंगोको तस्बिर थियो । ट्रम्पले ती क्लिपिङहरू देखाउँदै गर्दा ओभल अफिसका कर्मचारीले तिनको छायाचित्र ठुलो गरेर स्क्रिनमा देखाएका थिए । बीचबीचमा ट्रम्प चिच्याइरहेका थिए, ‘नरसंहार, नरसंहार, नरसंहार । भयानक नरसंहार’ ।
तर, दक्षिण अफ्रिकी राष्ट्रपतिले ट्रम्पको दाबीलाई अस्वीकार गरे । यद्यपि फेब्रुअरीमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग ट्रम्पले गरेको विवादलाई बेवास्ता गर्दै सुरुमा यो कदमबाट स्तब्ध देखापरेपछि उनी शान्त रहे । दक्षिण अफ्रिकाको रंगभेदी शासनको ऐतिहासिक असमानता निवारण गर्ने उद्देश्यले जनवरीमा हस्ताक्षर गरिएको जग्गा कब्जा कानुनअन्तर्गत आफ्नो देशले श्वेत किसानहरूबाट जग्गा जफत गरेको कुरा रामाफोसाले अस्वीकार गरे । ‘होइन, होइन, होइन’, रामाफोसाले जवाफ दिए, ‘कसैले पनि जमिन लिन सक्दैन ।’

उनले दक्षिण अफ्रिकाको कुख्यात उच्च अपराध दरका अधिकांश पीडितहरू अश्वेत भएकोमा जोड दिँदै र भिडियोमा देखिएका राजनीतिज्ञहरू विपक्षी दलका भएको बताए । भिडियो चलिरहँदा रामाफोसाले बारम्बार बोल्न खोजिरहँदा ट्रम्पले उनलाई बोल्न दिएनन् । ‘यो कहाँ छ ?’, दक्षिण अफ्रिकी राष्ट्रपतिले आफ्नो सिटमा अनौठो ढंगले फेरबदल गर्दै भने ।

भिडियोमा उग्र वामपन्थी विपक्षी सांसद जुलियस मालेमालाई ‘बोअरलाई मार, किसानलाई मार’ गाएको देखाइएको थियो । यो रंगभेदी युगको श्वेत–अल्पसंख्यक शासनविरुद्धको लडाइँको समयको कुख्यात नारा हो । भिडियो दक्षिण अफ्रिकामा भएको एक प्रदर्शनका तस्बिरहरूसँग समाप्त भयो जहाँ मारिएका किसानहरूको प्रतिनिधित्व गर्न ग्रामीण सडकको छेउमा सेता क्रसहरू राखिएका थिए, तर ट्रम्पले गलत रूपमा उनीहरूका चिहानहरू देखाएको भने ।

दक्षिण अफ्रिकी नेताको यो भ्रमणलाई ट्रम्प र दक्षिण अफ्रिकामै जन्मेका उनका अर्बपति सहयोगी एलन मस्कले गरेको निराधार नरसंहार दावीपछि सम्बन्ध सुधार गर्ने अवसरका रूपमा प्रस्तुत गरिएको थियो । त्यसैले रामाफोसा गल्फप्रिय अमेरिकी राष्ट्रपतिलाई मनाउने प्रयासमा दक्षिण अफ्रिकाका २ शीर्ष गल्फर अर्नी एल्स र रेटिफ गुसेनलाई लिएर ह्वाइट हाउस पुगेका थिए । ‘हामी मूलतः संयुक्त राज्य अमेरिका र दक्षिण अफ्रिकाबीचको सम्बन्धलाई पुनःस्थापित गर्न यहाँ आएका छौँ’, उनले भने ।

एक विन्दुमा रामाफोसाले ट्रम्प र मस्कलाई शान्तिपूर्वक कुरा गर्न आग्रह गर्दै भने, ‘हामीलाई नेल्सन मण्डेलाले सिकाउनुभएको थियो कि जहिले पनि समस्याहरू हुन्छन्, मानिसहरूले टेबुलको वरिपरि बसेर तिनीहरूबारे कुरा गर्नुपर्छ ।’ २ च्याम्पियन गल्फरहरूले पनि स्थितिलाई शान्त पार्न खोजेका थिए । ‘हामी हाम्रो देशमा सबै कुरा राम्रो भएको हेर्न चाहन्छौँ । यही मुख्य कुरा हो’, ४ पटकका प्रमुख विजेता गल्फर एल्सले भने ।

दक्षिण अफ्रिकी नेताले पछि यो ‘ठूलो सफलता’ भएको र नोभेम्बरमा जोहानेसबर्गमा हुने जी–२० शिखर सम्मेलनमा ट्रम्पले भाग लिने अपेक्षा गरेको भन्दै बैठकमा धैर्य र साहसी अनुहार देखाउने प्रयास गरे । उनले भने, ‘यी भिडियोका बाबजुद श्वेतहरू विरुद्ध नरसंहार भएको छ भन्ने कुरामा ट्रम्प पूर्ण रूपमा विश्वास गर्नुहुन्न ।’ अमेरिकी राष्ट्रपतिले आफ्नो दोस्रो कार्यकाल सुरु गरेदेखि नै ट्रम्प प्रशासनले दक्षिण अफ्रिकालाई निशाना बनाएको छ ।

ट्रम्पको प्रशासनले यस महिनाको सुरुमा ५० भन्दा बढी श्वेत अफ्रिकीलाई शरणार्थी दर्जा प्रदान गरेको छ भने विश्वका अन्य भागहरूबाट शरणार्थीहरू लिन प्रभावकारी रूपमा बन्द गरेको छ । ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय न्यायालयमा गाजामा इजरायलले नरसंहार गरेको आरोप लगाउने दक्षिण अफ्रिकाको मुद्दाको आलोचना गरेको छ । दक्षिण अफ्रिकालाई दिने सहायता कटौती गरेको छ र ३१ प्रतिशत भन्सार शुल्क घोषणा गरेको छ । ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ (एमएजिए) आन्दोलनको आलोचना गरेपछि दक्षिण अफ्रिकी राजदूतलाई निष्कासित गरेको छ ।

प्रतिक्रिया