भन्सार बढाउने सूचना ‘लिक’ भएपछि बढाइयो इभी आयात

इभीले भरिएको काठमाडौँको चोभारस्थित सुख्खा बन्दरगाह । तस्बिर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमार्फत् विद्युतीय सवारीसाधन (इभी)मा भन्सार दर बढाउन लागेको संकेत पाएपछि व्यवसायीले इभीको आयात एक्कासि बढाएका छन् । व्यवसायीले बजेटमार्फत् इभीमा १० प्रतिशत कर बढाउने सूचना पाएसँगै इभीको आयात उल्लेख्य रूपमा बढेको हो ।

भन्सार नाकादेखि काठमाडौँको गोदामघरमा समेत व्यापारीले ठुलो संख्यामा आयात गरेको इभी थुप्रिन थालेको छ । त्यस्तै, व्यवसायीले धमाधम इभीको प्रतितपत्र (एलसी) खोलिरहेका छन् । कर बढ्ने डरले व्यवसायीहरू बजेटअघि नै गाडी आयात गर्न थालेका हुन् । काठमाडौँको चोभारस्थित सुख्खा बन्दरगाहमा सयौँको संख्यामा इभी भन्सार जाँचपासका लागि आइपुगेका छन् । विभिन्न नाका हुँदै ल्याइएका यी गाडी बजेटको पूर्वसन्ध्यामा यहाँ आइपुगेका हुन् । यी गाडी खास गरी तातोपानी र रसुवागढी नाकाबाट भित्र्याइएका हुन् ।

बजेटमार्फत् अन्तःशुल्क तथा भन्सार महसुल बढ्न सक्ने भएकाले वैशाखमा मात्र करिब १ हजार ९०० युनिट इभी आयात भएको बताइएको छ । अहिले बढी मात्रामा ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् । हाल उत्तरी नाका हुँदै जिप, भ्यान, कार, ३ पांग्रे सवारीसाधन, माइक्रो बस तथा मिनी ट्रकसम्मका इभी भित्रिने गरेका छन् । जसमा सबैभन्दा बढी कार र माइक्रो बस रहेको भन्सारको तथ्यांकले देखाएको छ ।

अन्तःशुल्क तथा भन्सार महसुल बढ्ने विषयले व्यवसायीले धमाधम आयात गरिरहेको विषयमा अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले भने यत्तिकै हल्ला फिजाँइएको र जसबाट व्यवसायी दबाबमा परेको हुन सक्ने बताए । कर बढ्ने/नबढ्ने कुरा जेठ १५ पछि मात्रै थाहा हुने उनको भनाइ छ । भन्सार कार्यालयहरूको तथ्यांक हेर्ने हो भने भारततर्फको भन्दा पनि उत्तरी स्थल नाकाबाट उल्लेख्य संख्यामा इभी भित्रिइरहेका छन् । रसुवा भन्सार कार्यालयबाट मात्रै जेठ लागेसँगै दैनिक १०० भन्दा बढी इभी आइरहेका छन् ।

रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्रप्रसाद प्याकुरेलका अनुसार चालु आवको १० महिना (वैशाखसम्म) मा रसुवा भन्सारबाट मात्रै १३ अर्ब ७७ करोड रुपैयाँ बराबरका ५ हजार ७०१ युनिट इभी भित्रिएका छन् । ती इभीबाट ८ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन भएको प्याकुरेलले बताए । रसुवागढी भन्सार परिसरमा ५०० भन्दा बढी इभी छन् ।

त्यस्तै, धेरै इभी भित्रिने अर्को नाका तातोपानी भन्सारबाट जेठको पहिलो हप्ता मात्रै ३०० भन्दा बढी गाडी आयात भइसेकका छन् । तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेका अनुसार वैशाखयता यो नाकाबाट १ हजार २१८ युनिट इभी भन्सार पास भइसकेका छन् भने १ हजार १ थान जाँचपासको प्रक्रियामा छन् । यस वर्षको १० महिनामा तातोपानी नाकाबाट मात्र १० अर्बभन्दा बढी मूल्यका यातायातका साधन तथा पार्टपुर्जा भित्रिएका छन् ।

नेपाली बजारमा चिनियाँ इभीको माग उच्च भएका कारण उत्तरी नाकाबाट धेरै आयात भइरहेको हो । चिनियाँ गाडी तुलनात्मक रूपमा सस्तो मूल्य र आकर्षक डिजाइनसँगै सुविधा सम्पन्न मोडलका भएकाले नेपाली बजारमा लोकप्रिय बन्दै गएको बताइएको छ ।

सरकारले विलासी वस्तुका रूपमा लिइने सवारीसाधन (इभीसमेत)को आयात निरूत्साहित गर्न नीतिगत निर्णय लिन थालेसँगै आयातको दर पनि ह्वात्तै बढेको हो । इभीमा खरिद मूल्यको ९० प्रतिशत कर्जा उपभोग गर्न पाउने प्रावधानलाई ५० प्रतिशतमा सीमित गरेको छ । हायर पर्चेज कम्पनीले ६० प्रतिशत लगानी गर्दै आएकामा नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै यस्तो सीमा ५० प्रतिशत तोकिदिएको छ ।

भन्सार विभागका अनुसार चालु आव २०८१/०८२ को ९ महिनामा ७ हजार ९५८ युनिट इभी आयात भएको छ । गत आव २०८०/८१ मा कुल ११ हजार ७०१ युनिट इभी आयात भएकामा चीनबाट मात्रै ८ हजार ९३८ युनिट आएका थिए ।

प्रतिक्रिया