कृषिका ३५४ परियोजनामा अनुसन्धान हुँदै छ : कृषिमन्त्री

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत यसवर्ष ३५४ वटा परियोजनामा अनुसन्धानका काम भइरहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद प्रेम सुवालले सोधेको लिखित प्रश्नको जवाफ दिँदै उनले बालीनालीतर्फ १०६, पशुपालनतर्फ ७७, बागवानीतर्फ ७०, बहु–क्षेत्रतर्फ ४१ र मत्स्यपालनतर्फ ३५ वटा परियोजनामा अनुसन्धान भइरहेको जानकारी गराएका हुन् ।

यी अनुसन्धान परियोजनाबाट वैज्ञानिकले बालीनालीको जात तथा पशुवस्तुको नश्ल विकास, कृषि प्रविधि विकास, स्रोतसामग्री उत्पादन, स्रोत संरक्षण, प्रविधि हस्तान्तरण तथा सेवा प्रदान र सामाजिक–आर्थिक विश्लेषण तथा कृषि नीतिसम्बन्धी सुझाव प्रदान गर्नेजस्ता काम गर्दछन् । चालु आर्थिक वर्षको अनुसन्धान बजेटको क्षेत्रगत प्राथमिकता बालीनाली ३०, पशुपालन २२, बहुक्षेत्र १७, बागवानी १५, मत्स्यपालन ८ र अन्यतर्फ ७ प्रतिशत छ ।

चालु आवमा सञ्चालित अनुसन्धान परियोजनाअन्तर्गत हालसम्ममा धानको १, स्याउको ३, जुनारको ४, ओखरको २, कागतीको १, मेकाडेमियानटको १, सुन्तलाको २, एभोकाडोको ३ गरी जम्मा १७ जातको पञ्जीकरण प्रस्ताव पेस गरिएकोमा राष्ट्रिय बिउवीजन समितिले स्याउको ३, सुन्तला जातको २ र एभोकाडोको ३ गरी जम्मा ८ वटा नयाँ जातको पञ्जीकरण गरिसकेको छ । चालु आवको अन्त्यसम्ममा थप ८ जातको पञ्जीकरणका लागि प्रस्ताव पेस गर्ने लक्ष्य रहेको पनि मन्त्री अधिकारीले बताए ।

त्यसैगरी, चालु आवको अन्त्यसम्ममा अन्नबालीसम्बन्धी २२, बागवानीसम्बन्धी २३, पशुपालनसम्बन्धी १५, मत्स्यपालनसम्बन्धी १०, खाद्यसम्बन्धी २, कृषि यन्त्रीकरणसम्बन्धी ३ गरी जम्मा ७५ वटा कृषि प्रविधि सिफारिस गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । चालु आवको अन्त्यसम्ममा विभिन्न बालीनालीको ९०० टन स्रोत बिउ (प्रजनन र मूल) उत्पादन गर्ने लक्ष्य रहेकोमा चैत मसान्तसम्ममा ३८० टन उत्पादन भइसकेको पनि उनले संसद्मा जानकारी गराए ।
नार्कलाई अनुसन्धानका लागि करिब ९७ प्रतिशत नेपाल सरकारबाट र बाँकी ३ प्रतिशत दातृनिकाय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट वार्षिक रूपमा प्राप्त हुने गरेको छ ।

नार्कअन्तर्गतका बागवानी सम्बन्धित अनुसन्धान केन्द्रले बिरुवा उत्पादन गरी सिधै किसानलाई उपलब्ध गराउने गरेको नभई सिफारिस गरिएका उन्नत जातका तरकारी तथा फलफूलका स्रोत बिउ तथा बेर्ना उत्पादन गरी नर्सरी तथा स्रोत केन्द्रहरूलाई उपलब्ध गराउने गरिएको मन्त्री अधिकारीले जानकारी दिए । ती नर्सरी तथा स्रोत केन्द्रले वीज वृद्धि गरी किसानलाई उपलब्ध गराउँछन् ।

चालु आवको अन्त्यसम्ममा तरकारी तथा फलफूलका ५ लाख स्रोत बेर्ना÷बिरुवा नर्सरी तथा स्रोत केन्द्रलाई उपलब्ध गराउने लक्ष्य रहेकोमा चैत मसान्तसम्ममा १५ हजार ६९२ बेर्ना÷बिरुवा बिक्री÷वितरण गरिसकिएको पनि मन्त्री अधिकारीले बताए । फलफूलको आयातका सम्बन्धमा मन्त्रालयले वार्षिक र भन्सार विभागबाट नियमित रूपमा तथ्यांक राख्ने गरेको उनले संसद्मा जानकारी गराए । कृषि अनुसन्धान परिषद्मा रहेका केही वैज्ञानिक अध्ययनका लागि बाहिर गएका छन् । करिब १०÷१२ जना लामो समयदेखि नफर्किएको पनि मन्त्री अधिकारीले संसद्मा जानकारी गराए ।

४७ अर्बको खाद्यान्न आयात हुँदा ६ करोडको निर्यात

चालु आर्थिक वर्ष २०८१/०८२ को चैत मसान्तसम्म ४७ दशमलव ८ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । कृषि, सहकारी तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले चालु आवको चैत महिनासम्म खाद्यान्नको आयात ४७ दशमलव ८ अर्ब रहेको र निर्यात ६ दशमलव २ करोड रहेको जानकारी दिए । खाद्यान्न बालीमा व्यापार घाटा ४७ दशमलव ७ अर्ब, तरकारी बालीको आयात ३१ दशमलव ५२ अर्ब र निर्याततर्फ ४० दशमलव ८२ करोड देखिएको मन्त्री अधिकारीले बताए ।

नार्कको सुधारका लागि सुझाव समिति

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को सुधारका लागि सुझाव समिति बनाइएको छ । प्राध्यापक डा.गोविन्दराज पोखरेलको संयोजकत्वमा प्राडा ईश्वरी कडरिया र डा. यज्ञगजाधर खड्का सदस्य रहेको ३ सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन गरिएको हो । सोमबार कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले समितिका पदाधिकारीलाई यससम्बन्धी पत्र हस्तान्तरण गरे । समितिले नार्कलाई समयसापेक्ष हुने गरी सुधारका लागि आवश्यक सुझाव बुझाउन ९० दिनको समय पाएको छ । मन्त्रिपरिषद्ले कृषि मन्त्रालयलाई स्वीकृति दिएसँगै समिति बनेको हो ।

प्रतिक्रिया